Logo

दुई महिनाअघि घटेको खानेतेलको मूल्य बजारमा अझै पुरानै : उद्योगीको अनियमितता, व्यापारीलाई दोष, उपभोक्तामाथि लुट

दुई महिनाअघि घटेको खानेतेलको मूल्य बजारमा अझै पुरानै : उद्योगीको अनियमितता, व्यापारीलाई दोष, उपभोक्तामाथि लुट



काठमाडौं । गत बर्ष भदौदेखि लगातार उकालो लागेर २ सय ७० रुपैयाँ प्रतिलिटर पुगेको खानेतेलको मूल्य बजारमा अझै घटेको छैन । अन्तरराष्ट्रिय बजारमा भटमास, सुर्यमुखीको बियाँलगायतको मूल्य बढेको भन्दै नेपालमा एकाएक मूल्य बढाएका उद्योगीले आफ्नो तर्फबाट मूल्य घटाएको दाबी गर्छन । तर उपभोक्ताले भने बढेकै मूल्यमा तेल खरिद गरेर उपयोग गर्नुपरिरहेको अवस्था छ ।

लगातार बढेर २ सय ७० रुपैयाँ प्रतिलिटर पुगेको सुर्यमुखीको तेल र २ सय ६५ रुपैयाँ पुगेको भटमासको तेलको मूल्य हाल उद्योगीहरुले साना व्यवसायीलाई प्रतिलिटर १५ देखि ३५ रुपैयाँसम्म घटाएर बेच्नेगरी पठाएका छन् । उद्योगीहरुले वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पनि करिव डेढ महिना अघि नै मूल्य घटाएर बजारमा तेल पठाईसकेको जानकारी गराएका थिए । तर, साना व्यवसायीहरु भने यसरी मूल्य घटाएर पठाएको जम्मा १ देखि २ हप्तामात्रै भएको बताउँछन् ।

अन्तरराष्ट्रिय बजारमा गत भदौदेखि कच्चा तेलको मूल्य बढ्दा नेपालका उद्योगीहरुले पनि तत्कालै प्रशोधित तेलको मूल्य बढाएका थिए । उद्योगीले तत्कालीन समयमा मूल्य बढेको कच्चा पदार्थ नभई स्टकमै रहेको पुरानो मूल्यको कच्चा पदार्थ प्रशोधन गरी उत्पादन गरिएको तेलको नै मूल्य बढाएर बजारमा पठाएका थिए । सोहीअनुसार साना व्यापारी, डिलरलगायतले बजारका साना खुद्रा पसलमा तेलको मूल्य बढेको खवर गरेपछि लगत्तै तेलको मूल्य बढ्यो ।

नेपालमा ७ महिनामा प्रतिलिटर १ सय रुपैयाँ बढीले बढेको तेलको मूल्य हाल ओरालो लाग्ने क्रममा छ र पनि उपभोक्ताहरु पुरानै बढेको मूल्य तिरेर उपभोग गर्न बाध्य छन् । जसका प्रमुख कारण नै उद्योगी रहेको नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् । उनका अनुसार उद्योगीहरुले भर्खरमात्रै बजारमा पठाएको तेल खुद्रा व्यापारीले बेच्नै पाएका छैनन् । अर्थात मूल्य बढेर आएको तेल अझै स्टकमा रहेकाले र त्यो पहिले सकाउनु पर्ने हुनाले कतिपय स्थानमा पुरानै मूल्यमा तेल विक्री भइरहेको हो । तर, उद्योगीहरुले भने अन्तररािष्ट्रय मूल्य बढेकै दिनदेखि बजारमा तेलको मुल्य बढाएर पठाएपछि दोष साना व्यापारीलाई हुने गरेको उनको भनाई छ ।

‘अमेरिका, अर्जेन्टिना, ब्राजिललगायतका देशबाट तेलको कच्चा पदार्थ भटमास र सुर्यमुखी आउनै २ देखि ३ महिना लाग्छ, तर मूल्य बढेको कच्चा पदार्थ नआउँदै नेपालका उद्योगीले प्रशोधित तेलको मूल्य बढाएका थिए,’ उनले भने, ‘सोहीअनुसार साना व्यापारीले मूल्य बढाउनुपर्यो जसको दोष सीधै हामीलाई आयो ।’

उनले उद्योगीहरुले नै बजारमा नयाँ मूल्यको कच्चा पदार्थ नआउँदै मूल्य बढाईदिँदा त्यसको मर्का हाल उपभोक्तामा परेको बताए । हाल संघले भटमासको तेल प्रतिलिटर २ सय २० रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर २ सय ३० रुपैयाँ, तोरीको तेल भुटेको ३ सय २० र नभुटेको प्रतिलिटर २ सय ४० रुपैयाँ तोकेको छ । तर, बजारमा सो मूल्यमा विक्रिवितरण नगर्ने व्यवसायीहरु पलायन हुने अवस्थासमेत आइसकेको उनले जानकारी दिए । उनका अनुसार ठूला होलसेल, डिपार्टमेन्टल स्टोरलगायतमा नयाँ मूल्यमा सामान पाईने र साना थोक विक्रेताकहाँ पुरानै मूल्यमा पाईने भएपछि ग्राहकहरु ठुला पसलमै गएर किन्ने गरेको उनले बताए । तर साना थोक विक्रेतालाई पनि एक किसिमको मर्का परेको उनको भनाई छ ।

यता वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने करिव डेढ महिना अघि नै उद्योगीहरुले नयाँ मूल्य निर्धारण गरेर बजारमा तेल पठाएको जानकारी गराएको बताएको छ । विभागका प्रवक्ता शिवराज सेँढाईका अनुसार उद्योगीहरुले डेढ महिनाअघि नै तेलको मूल्य घटाईसक्यौं भनेका थिए । तर, बजारमा सुक्ष्म अनुगमन नगरेकाले कतिपयले पुरानै मूल्यमा तेल बेचिरहेको आफुलाई जानकारी नभएको उनको भनाई छ । तर, बढी मूल्यमा तेल बेचेको उजुरी आएमा त्यस्ता व्यापारीलाई कानुनसम्मत कारबाही गरिने उनले जानकारी दिए । यता अन्तरराष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा २० देखि ३० प्रतिशतको गिरावट आजभन्दा ३ महिनाअघि नै आईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL