Logo

आन्तरिक उडानमा फुल अकुपेन्सी, पासको समस्या र बाढीपहिरोले जहाजमा बढ्यो यात्रुको चाप

आन्तरिक उडानमा फुल अकुपेन्सी, पासको समस्या र बाढीपहिरोले जहाजमा बढ्यो यात्रुको चाप



काठमाडौं । पछिल्लो समय लगातारको वर्षाका कारण बाढीपहिरोले देशका मुख्य सडकहरु अवरुद्ध भएका छन् । पहिरोकै कारण नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्तायता खुल्ने–बन्द हुने क्रम चलिरहेको छ । काठमाडौं भित्रिने प्रमुख सडकको रुपमा रहेको यो सडकमार्फत आवतजावत गर्ने यात्रुहरु ३ देखि ४ दिनसम्म सडकमै बस्नुपरेको अवस्था छ । दैनिक १० हजार बढी सवारीसाधनहरु काठमाडौं उपत्यका भित्रिने यो सडक लगायत अन्य सडक अवरुद्ध हुँदा आन्तरिकतर्फको हवाई उडानमा चाप परेको छ ।

laxmi

कोरोना महामारीपश्चात बन्द भएको हवाई उडान गत हप्तादेखि खुलेसँगै पहिरोका कारण लामो जाममा परेर काठमाडौंबाट बाहिरिने र भित्रिने धेरै यात्रुहरुलाई राहत पनि भएको छ । सडकहरु अवरुद्ध भएसँगै स्थलमार्गबाट भन्दा मानिसहरु केही बढि खर्च गरेर हवाईमार्गबाटै काठमाडौं आवतजावत गर्ने गरेका छन् ।

आन्तरिक हवाई उडान आधामात्रै संचालन गर्ने अनुमति पाएका वायुसेवा संचालक कम्पनीहरु लामो दूरीको सडक यातायात औपचारिक रुपमा नखुल्दा र सडकमा अवरोधका कारण अहिले फुल अकुपेन्सीमा जहाज उडाइरहेका छन् । बुद्ध एयरका प्रवक्ता रुपेश जोशीका अनुसार हवाई उडान खुलेको पहिलो दिनको तुलनामा यात्रुहरु बढ्दै गएका छन् । हाल उडान भरेका सबै जहाजहरुमा अकुपेन्सी दर ९५ प्रतिशतभन्दा माथि नै छ । ‘हाल चलेका सबै प्लेनहरु ९० देखि ९५ प्रतिशत अकुपेन्सीमा चलिरहेका छन्,’ उनले भने, ‘पुनः सबै जहाजहरु चल्न पाउने निर्णय भएको छ । यसपछि पनि यही अवस्था रहने अनुमान गर्न सकिन्छ ।’

उनका अनुसार पछिल्लो समय लगातार परेको बर्षा र यसले निम्त्याएको प्राकृतिक प्रकोपका कारण स्थलमार्गभन्दा हवाईमार्ग छनोट गर्नेको संख्या बढेको हो । बाटोमा आएको पहिरोका कारण चितवनबाट हाल काठमाडौं पुग्नमात्रै ३ दिनसम्म पनि लाग्ने गरेको छ । तर, प्लेनमा आए आधा घण्टामै पुगिने भएपछि यात्रुहरु एकाएक बढेका उनको भनाई छ ।

लामो दुरीका सार्वजनिक सवारीसाधन छिटफुट चलेपनि विभिन्न स्थानमा सम्बन्धित जिल्लाको पास चाहिने भएपछि प्राय मानिसहरु हवाई उडान रोज्ने गरेको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर बताउँछन् । उनका अनुसार धेरै स्थानमा अझै पनि कोरोना महामारीको कहर छ । यसका कारण स्थलमार्गबाट काठमाडौं भित्रिनलाई पास आवश्यक हुने भएपछि हवाईयात्रु बढेका हुन् । हाल श्री एयरलाईन्सले पनि काठमाडौंबाट विभिन्न ५ जहाजमार्फत यात्रु ओसारपसार गरिरहेको छ । यता त्रिभुवन विमानस्थलमा पनि काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढेको देख्न सकिन्छ ।

विमानस्थलका अनुसार मंगलबार मात्रै विमानमार्फत ७ हजार ३ सय ८० जना काठमाडौं आवतजावत गरेका छ । जसमा ३ हजार ८ सय २६ जना काठमाडौं भित्रिँदा ३ हजार ५ सय ५४ जना बाहिरिएका छन् ।

यस्तै त्यसको अघिल्लो दिन अर्थात सोमबार विमानस्थलमार्फत ७ हजार ३ सय २५ जनाले आवतजावत गरेका थिए । जसमा ३ हजार ७ सय ९४ जना भित्रिँदा ३ हजार ५ सय ं११ जना बाहिरिएका थिए । यसरी हेर्दा हवाईमार्गमार्फत काठमाडौंबाट बाहिरिनेभन्दा भित्रिनेको संख्यामा १ सय देखि २ सयसम्मले बढि देखिन्छ । विभिन्न स्थानमा विग्रेको बाटोका कारण विमानस्थलको आन्तरिक टर्मिनलतर्फ यात्रुहरुको भीड बढेको टीआईएका प्रवक्ता देव चन्द्रलाल कर्ण बताउँछन् । उनका अनुसार हाल आन्तरिकतर्फ चल्ने सबै हवाईजहाजहरु पनि फुल्ली अकुपेन्सीमा चलिरहेका छन् ।

यात्रुहरु बढ्दै जाँदा वायुसेवा संचालकहरुले सरकारसमक्ष उडान संख्या बढाउनुपर्ने माग गर्दै आएका थिए । यसअघि कोरोनाका कारण जारी निषेधाज्ञाका कारण आफ्नो कुल क्षमताको ५० प्रतिशत मात्रै उडान गरिरहेका हवाई कम्पनीहरुले यस्तो माग राखेका थिए । सोही मागअनुसार सोमबार मन्त्रिपरिषद बैठकले अब सबै हवाई उडान खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय अब केही दिनमै लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL