Logo

पृथ्वी राजमार्ग खुल्यो, भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

पृथ्वी राजमार्ग खुल्यो, भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध



काठमाडौं । अविरल वर्षाका कारण पहिरो झरेपछि अवरुद्ध तनहुँको थर्पूस्थित पृथ्वी राजमार्गको यातायात सञ्चालनमा आएको छ । आज बिहान ६ बजे गाउँपालिकाको भवन बनाउन लागिएको स्थानमा पहिरो गएर थर्पू प्रहरी चौकी नजिकै लेदो झरेका कारण दुवैतर्फ यातायात अवरुद्ध बनेको थियो । पछि डोजर प्रयोग गरी लेदो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

laxmi

बिहान आठ बजेबाट यातायात आगमन नियमित बनेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।
आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लगातार वर्षा भइरहेका कारण तत्कालै पहिरो हटाउन समस्या उत्पन्न भएकोले मौसममा सुधार आउने वित्तिकै सडक खुलाएर यातायात सञ्चालन गर्नका लागि प्राविधिकलाई खटाइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।

उनका अनुसार हेटौँडा भीमफेदी सडकखण्डको पान्द्राङमा आज बिहान गएको पहिरोलाई हटाएर हेटौँडातर्फको यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ । त्रिभुवन राजपथ र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा रहेको प्रवक्ता रिमालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL