Logo

अन्तरराष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढेपछि नेपालमा दबाब, यस्तो छ नेपालमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको यथार्थ

अन्तरराष्ट्रिय बजारमै कच्चा तेलको मूल्य बढेपछि नेपालमा दबाब, यस्तो छ नेपालमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको यथार्थ



काठमाडौं । काठमाडौं उपत्यकामा विस २०७६ साल चैत महिनामा प्रतिलिटर ९६ रुपैयाँ रहेको पेट्रोलको मूल्य हाल बढेर प्रतिलिटर १ सय २७ रुपैयाँ पुगेको छ । नेपालमा सामान्यतया घटबढ भइरहने पेट्रोलियम पदार्थको मूल्य गत बर्षको मंसिर महिनादेखि प्रत्येक १५ दिनको फरकमा बढेकोबढ्यै छ । अघिल्लो बर्षको चैतमा प्रतिलिटर ९६ रुपैयाँ रहेको पेट्रोलको मूल्य गत बर्षको मंसिरसम्म आइपूग्दा सामान्य घटबढका वावजुद प्रतिलिटर १ सय ८ रुपैयाँ पुगेको थियो । त्यसपछि प्रत्येक १५ दिनको फरकमा १ देखि २ रुपैयाँले बढेको पेट्रोलको मूल्य हाल १ सय २७ रुपैयाँ प्रतिलिटर पुगेको हो ।

नेपालमा भारतबाट आयात हुने पेट्रोलियमको मूल्य भारतले पठाउने मूल्यमै आधारित हुन्छ । भारतले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यअनुसार आफ्नो प्रसोधन खर्च र नाफा जोडेर नेपाललाई पेट्रोलियम पदार्थ पठाउने गर्छ । अन्तर्राष्ट्रिय बजारमा थपघट हुने इन्धनको मूल्यको आधारमा भारतीय आयल निगमले प्रत्येक १५–१५ दिन (हरेक महिनाको १ र १६ तारिख) मा नेपाल आयल निगमलाई इन्धनको मूल्य सूची उपलब्ध गराउँदै आएको छ । सोही मूल्य सूचीका आधारमा निगमले १५ दिनमा २ प्रतिशतले घटबढ नहुने गरी मूल्य समायोजन गर्दै आएको छ ।
यसरी अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण भारतीय आयल निगम (आईओसी)ले पनि निगमलाई सोही अनुसार मूल्य बढाएर पठाउँछ । तर निगमले पछिल्लो ६ महिनादेखि प्रत्येक महिना २ चोटी मूल्य बढाउँदा उपभोक्ता आक्रोशितजस्तै भएका छन् । यता राजनीतिक खिचातानीले चुनावको माहोल आकर्षण गरिरहँदा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि हुनाले नागरिकहरुले यसलाई चुनावी खर्च जोहोको संज्ञा दिँदै आएका छन् । निगमले भने प्रत्येकपटक अन्तरराष्ट्रिय स्तरमै मूल्य बढेर आएका कारण निगमले पनि मूल्य बढाएको दाबी गर्छ । जसलाई भारतीय मूल्यसाग दाँजेर हेर्यो भनेपनि यथार्थ मान्न सकिन्छ ।

अन्तरराष्ट्रिय बजारमा के छ मूल्य ?
निगमले मूल्यवृद्धिको बारेमा स्पष्ट पारिरहेपनि नागरिकले आलोचना गरिरहने क्रम जारी छ । तर, वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई)को तथ्यांकलाई आधार मान्दा अन्तरराष्ट्रिय बजारमा १ बर्षमा कच्चा तेलको मूल्य प्रतिब्यारल ३२ डलरले बढेको देखिन्छ । अर्थात गत बर्ष असार १० गते प्रतिब्यारल ४१ दशमलव २९ डलर रहेको कच्चा तेलको मूल्य बढेर बिहीबार प्रतिव्यारेल ७३ डलर बढि पुगेको छ । यस्तै यता ब्रेन्ट कच्चा तेलको मूल्य भने साढे ७५ डलरको आसपास पुगिसकेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य पछिल्लो एक बर्षमा मात्रै ४२ डलर प्रति व्यारलले बढेको देखिन्छ । तेलको मूल्य निर्धारण गरिँदा प्राय देशहरुमा ब्रेन्ट कच्चा तेलको मूल्यलाई आधार मानिन्छ भने अमेरिकी देशहरुमा डब्लुटिआईलाई आधार मानिन्छ ।

किन बढ्यो मूल्य ?
विश्वका तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक)ले सन २०२० मा कोरोनाबाट प्रभावित विश्व अर्थतन्त्रलाई सन्तुलित गर्न भन्दै तेलको निर्यातमा कटौटी गरेको थियो । विश्वव्यापी रुपमा लकडाउनका कारण खपत नै कम भएको भन्दै ओपेकले यसको निर्यातमा कटौति गरेपछि अमेरिकालगायत देशहरुमा तेल भण्डारण क्षमता नै नपुगेको अवस्था थियो । त्यसबेला ति देशहरुमा तेलको मूल्य ऋणात्मकको बाटोमा पनि गएको थियो । त्यतिबेला विश्व बजारमा कच्चा तेलको मूल्य मूल्य प्रतिव्यारेल १९ डलरसम्म झरेको थियो ।
पछिल्लो समय तेलको उत्पादनलाई विस्तारै पुरानै अवस्थामा फर्काइरहेका तेल उत्पादक राष्ट्रहरुले मूल्यमा पनि केही घटबढ गरिरहकै छन् । सोहीअनुसार कोरोना प्रभावपछि अर्थतन्त्र चलायमान हुँदा र आर्थिक क्षेत्रहरु खुलेपछि पेट्रोलियमको माग पनि बढेको छ । यसरी कटौती गरिएको तेलको उत्पादन विस्तारै बढाएयता माग र खपत बढी भएपछि अन्तरराष्ट्रिय बजारमै तेलको मूल्य बढिरहेको छ । तर आगामी दिनमा तेल उत्पादनमा गरिएको कटौती पूर्ण रुपमा अन्त्य भएर उत्पादन महामारी पहिलेकै अवस्था फर्किएसँगै तेलको मूल्यमा गिरावट आउनसक्ने विज्ञहरु बताउँछन् ।

अब घट्छ कि बढ्छ ?
विश्वभरी कोरोना महामारी अन्त्यको बाटोतिर लागेको भन्दै विश्वविज्ञहरुले पेट्रोलियमको उत्पादन बढ्ने र सोहीअनुसार मूल्यमा गिरावट आउनसक्ने अनुमान गरेका छन् । तर युरोप, चीनलगायतका देशहरुमा कोरोना महामारीको तेस्रो लहर सुरु भएकाले अझै यसको उत्पादमा वृद्धि हुने आधार भने देखिँदैन । कोरोना महामारी र डलरको मूल्य बढेसँगै बढेको पेट्रोलियमको मूल्य अब उत्पादन बढाएर मात्रै घटाउन सकिने नेपाल पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् । उनका अनुसार विज्ञहरुले तेलको मूल्य घट्ने बताएपनि अझै तेलको मूल्य बढ्ने तरखरमा छ । विश्व राजनीति र यसैबीच फैलिएको कोरोना महामारीका कारण यसको मूल्यमा भारी वृद्धि भईरहेको छ । जुन हालै रोकिने अवस्थामा छैन ।

‘बल्ल कोरोना महामारी शान्त भएजस्तो पनि देखिएको छ जसका कारण आर्थिक क्षेत्र चलायमान हुँदा पेट्रोेलियमको माग अझै बढ्दैछ,’ उनले भने, ‘विश्वबजारमा माग बढेअनुसार उत्पादन नबढ्दासम्म यसको मूल्य उकालो लागिरहनेछ ।’ तसर्थ नेपालमा पनि आगामी केही महिनामै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३५ सम्म पुग्ने उनको अनुमान छ । ‘विश्वबजारमा तेल उत्पादनमा कटौति र डलरको बढ्दो मूल्यका कारण अझै तेलको मूल्य बढ्ने निश्चित छ,’ उनले भने, ‘यस्तो बेलामा नेपाल आयल निगमले पनि अझै तेल घाटामा बेचिरहेको बताउँदा नेपालमा यसको मूल्य स्वतः बढ्ने देखिन्छ ।’

तर अन्तराष्ट्रिय बजारमा तेलको मूल्य सानो सानो अंकमा घटबढ हुँदा पनि नेपाली बजारमा बढाउनुको पछाडी कर नै मूख्य रहेको उनको भनाई छ । सरकारले विभिन्न शिर्षकमा एक लिटर पेट्रोलमा ५३ देखि ५४ रुपैयाँ कर जोड्ने गरेको छ । तर सरकारले विशेष निर्णय गरेर करलाई मूल्य बढेको बेला कर घटाउने र मूल्य घटेको बेला करको दरलाई पुरानै अवस्थामा फर्काउन सके नेपालमा भने तेलको मूल्य स्थिर राख्ने सकिने अध्यक्ष प्रधान बताउँछ्न ।

प्रतिक्रिया दिनुहोस्
MBL