Logo

धेरै नेपाली कामदार भएका मुलुकमा हवाई उडान खुल्ने, वैदेशिक रोजगारीमा जानेलाई १० दिनसम्मको क्वारेन्टाइन खर्च सरकारले दिने

धेरै नेपाली कामदार भएका मुलुकमा हवाई उडान खुल्ने, वैदेशिक रोजगारीमा जानेलाई १० दिनसम्मको क्वारेन्टाइन खर्च सरकारले दिने



काठमाडौं । सरकारले धेरै नेपाली कामदार भएका मुलुकमा हवाई उडान खोल्ने तयारी गरेको छ । बुधबार साँझ बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सिसिएमसी) को दोस्रो बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

यसैगरी, गैर आवासीय नेपालीहरुबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरुप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सङ्क्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए । कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको जानकारी दिँदै आगामी साउनदेखि सो खोप लगाउन थालिने बताए ।

त्यसबाहेक अन्य देशसँग पनि प्रयत्न भइरहेकाले खोपको अभाव क्रमशः समाधान हुँदै जाने उनले बताए । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL