Logo

नेपालको कृषिको अवस्थालाई उदांगो पार्दै चामल आयात, १० महिनामा चामल किन्न नेपालको ४४ अर्ब ४६ करोड बिदेशियो

नेपालको कृषिको अवस्थालाई उदांगो पार्दै चामल आयात, १० महिनामा चामल किन्न नेपालको ४४ अर्ब ४६ करोड बिदेशियो



काठमाडौं । सरकारले कृषिमा आत्मनिर्भरताको नारा लगाइरहँदा देशको प्रमुख खाद्यान्न बालीका रुपमा रहेको चामल आयातको तथ्यांकले भने देशको कृषि उत्पादनको अवस्था छर्लङ पारेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको १० महिना अर्थात गत साउनदेखि बैशाख मसान्तसम्म ४४ अर्ब ४६ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । कृषिप्रधान देश मानिएको नेपालमा चामल मात्रै यो परिमाणमा भित्रिएपछि कृषि उपजको उत्पादनमा नै प्रश्नवाचक चिन्ह पैदा भएको छ ।

गत आर्थिक बर्षको यहि अवधिमा नेपालले २६ अर्ब ६१ करोड रुपैयाँ बराबरको चामल आयात गरेको थियो । गत आवको तुलनामा यो बर्ष पछिल्लो १० महिनामा नेपालमा चामल आयात ६७ प्रतिशतले बढेको छ ।

जुन नेपालले गर्ने कुल आयात व्यापारको ३ दशमलव ५ प्रतिशत हिस्सा हो । चालु आर्थिक बर्षको १० महिनामा नेपालले गर्ने आयातित वस्तुको उच्च पाँचौ स्थानमा परेको छ ।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र ९टिईपीसी०को पछिल्लो ५ बर्षको तथ्यांक हेर्दा प्रत्येक बर्ष चामलको आयात उकालो लाग्ने क्रममा रहेको देखिन्छ । आर्थिक बर्ष २०७२ ७३ मा १८ अर्ब ७८ करोड बराबरको चामल आयात गरेको नेपालले त्यसको पछिल्लो बर्ष अर्थात आर्थिक बर्ष २०७३ ७४ मा भने १८ अर्ब ७४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको देखिन्छ ।

यस्तै आर्थिक बर्ष २०७४ ७५ मा भने नेपालले अघिल्लो बर्षको तुलनामा आयात बढाउँदै २२ अर्ब ७८ करोड रुपैयाँ बराबरको चामल आयात गरेको हो । यस्तै आर्थिक बर्ष २०७५ ७६ मा भने नेपालले २४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चामल आयात गरेको देखिन्छ भने गत आथिक बर्ष अर्थात २०७६ ७७ मा १८ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो भने, चालु आवको १० महिनामै ४४ अर्ब बढिको चामल आयात भएको छ ।

नेपालले भारत, जापान, अमेरिका, चीन, थाईल्याण्डलगायत देशहरुबाट चामल आयात गर्ने गरेको छ । धान, धानको विउ, चिउरालगायत क्याटागोरीमा नेपालमा आयात हुने गरेको छ । यस्तै ५ उच्च आयातित वस्तुको अन्य सूचीमा पहिलोमा पेट्रोलियम उत्पादन, दोस्रोमा यातायातका साधन तथा पार्टपूर्जा, तेस्रोमा मेसिनरी उपकरण तथा चौथोमा एमएस विलेट छन् ।

चालु आवको १० महिनाको तथ्यांक हेर्दा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ३९ अर्ब ७१ करोड रुपैयाँ बराबरको आयात भएको छ । आयातित वस्तुको उच्च स्थानमा भएपनि चालु आवको १० महिनामा गत आवको सोही अवधिको तुलनामा यसको आयात ३ दशमलव ३ प्रतिशतले घटेको छ ।

यस्तै धेरै आयात हुने वस्तुको दोस्रो स्थानमा परेको यातायातका साधन र पार्टपूर्जाको आयात भने ३९ दशमलव ८ प्रतिशतले बढेको छ । यसरी बढ्दा चालु आवको १० महिनामा मात्रै १ खर्ब ६ अर्ब ४२ करोड रुपैयाँ बराबरका यातायातका साधन र पार्टपुर्जा आयात भएका हुन् ।

यस्तै यस अवधिमा एमएस विलेटमात्रै ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको आयात भएको छ । यस्तै नेपालले निर्यात गर्ने प्रमुख वस्तु सोयाविन तेलको कच्चा पदार्थको आयात भने छैठौं स्थानमा परेको छ । छैठौं स्थानमा परेको कच्चा सोयाविन तेल चालु आवको १० महिनामा ३९ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ । जुन गत बर्षको सोही अवधिको तुलनामा १८१ प्रतिशतले बढी हो ।

यता नेपालले गर्ने निर्यातको व्यापारको पहिलो स्थानमा भने सोयाविन तेल परेको छ । चालु आवको १० महिनामा नेपालले ३५ अर्ब ७५ करोड रुपैयाँ बराबरको रिफाइन्ड सोयाविन तेल निर्यात गरेको छ । जुन गत बर्षको सोहि अवधिको तुलनामा ३२७ प्रतिशतले बढि हो । यस्तै नेपालले निर्यात गर्ने प्रमुख ५ बस्तुमा भने सोयाविन तेल, उनीको गलैँचा, अलैँची, पोलिस्टर धागो र जुटका सामान परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL