Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, मोडालिटी र समयावधिबारे आज निर्णय

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने निश्चित, मोडालिटी र समयावधिबारे आज निर्णय



काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा थपिने निश्चित भएको छ । निषेधाज्ञा थपसम्बन्धी निर्णय गर्नका लागि आज उपत्यकाका ३ जिल्ला भक्तपुर, ललितपुर र काठमांडौका प्रमुख जिल्ला अधिकारी (सिडिओहरु)को बैठक बस्दै छ ।

दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ । उपत्यकामा जारी निषेधाज्ञा भोलि जेठ ३१ गतेबाट सकिदैछ ।

बैठकले मोडालिटी र समयावधिबारे निर्णय गर्ने बताइएको छ । निषेधाज्ञा थप गर्ने निश्चित भएपनि मोडालिटी परिपवर्तन गर्ने र एक हप्ता वा १५ दिन कति समयावधिका लागि निषेधाज्ञा लम्ब्याउने भन्नेबारे बैठकले निर्णय लिनेछ । सरकारले भने यसअघि नै अब लुजडाउन गरिने बताइसकेको छ ।

उपत्यकामा जारी निषेधाज्ञा जेठ २१ बाट केहि परिमार्जन गरि थप १० दिनको लागि लम्ब्याइएको थियो । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याएर जेठ ३१ सम्म थप गरिएको हो ।

जेठ १४ बाट थप कडा पारिएको निषेधाज्ञा जेठ २१ बाट भने केहि खुकुलो बनाइएको थियो । अहिले जारी निषेधाज्ञामा किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइएको छ । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने व्यवस्था गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । त्यस्तै अहिले वर्कसप पनि खुला गरिएको छ ।

यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ । नयाँ शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएपछि यसपालि पुस्तक पसल खुलाउने तयारी गरिएको हो ।

यस्तै, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ । यसका लागि निश्चित समय तोकिने छ । ढुवानी र जनशक्तिको व्यवस्थापन कुन समयमा कसरी मिलाउने भन्नेबारे आज निर्णय हुने बताइएको छ। उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको भन्दै थप एक हप्ता निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL