Logo

बाढी र पहिराले सडक अवरुद्ध भए तुरुन्त खुलाइने, सडक विभागले थाल्यो सडक चाँडो खुलाउन तयारी

बाढी र पहिराले सडक अवरुद्ध भए तुरुन्त खुलाइने, सडक विभागले थाल्यो सडक चाँडो खुलाउन तयारी



काठमाडौं । वर्षाका कारण बाढी र पहिराले अवरोध पुर्याउँदा सडक तुरुन्त खुलाउन सडक विभागले तयारी शुरु गरेको छ । कोभिड–१९ विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागले जनाएको छ । यस वर्ष विगत वर्षभन्दा भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । त्यस कारण सडकमा बढी क्षति पुग्नसक्ने विभागको सम्भार महाशाखाका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।

सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको हो । जोखिम भएका कुनकुन ठाउँमा कति उपकरण आवश्यक छन् त्यहीअनुसार हेभी इक्युपमेन्ट कार्यालयहरुमा पत्राचार भइसकेको छ । विभागअन्तर्गत सात हेभी इक्युपमेन्ट डिभिजन छन् । उनले भने, ‘डिभिजन वा हेभी इक्युपमेन्ट कार्यालयको समन्वयमा आवश्यक तयारी गरिरहेका छन् ।’

अहिले कुनै पनि सडक पहिरो वा बाढीकै कारण अवरुद्ध नरहेको विभागले जनाएको छ । केही दिनपहिले बुटवल–पाल्पा सडक पहिराका कारण अवरुद्ध बनेको थियो । अहिले डिभिजन सडक कार्यालय पाल्पाले खुलाइसकेको छ । उनले भने, “सबै ठाउँमा उपकरण तयारी अवस्थामा नै हुन्छ वर्षा कम हुनासाथ सडक खुलाइन्छ ।”

देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको हो । गत आवमा वर्षाको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक अधिकारीले बताए । सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल हटाउन गाह्रो हुन्छ । राजमार्गमा बाह्रबिसे माथितिर अप्ठेरो ‘एलाइनमेन्ट’ रहेको छ ।

उक्त सडकबाट मेडिकल सामान ल्याउनुपर्ने हुँदा पहिराले लामो समय नरोकियोस् भन्नेमा ध्यान दिइएको अधिकारीले बताए । विभागले पहिरो हटाउन आवश्यक उपकरण तयारीमा राखिसकेको छ । बढी बिग्रने सडक खण्डमा मर्मत भइरहेको उनले बताए । उनले भने, “अहिले निषेधाज्ञाले मजदूर नपाएर काम गर्न गाह्रो भएको छ ।”

विभागले सामान्य पहिरो भएमा तुरुन्त खुलाउन सकिने भए पनि पूरै हटाउन नसक्ने अवस्थामा एकतर्फको पहिरो हटाएर पनि सडक पुनः सञ्चालन गर्दै आएको छ । सडकको एक छेउबाट सवारीसाधन आवतजावत गर्नसक्ने गरी खुलाइने गरिएको छ । सडक पूरै भासिएर एकतर्फसमेत खुलाउन नसकिने भएमा अर्को कुनै वैकल्पिक सडकको खोजी गरिन्छ । विभिन्न विकल्पमध्ये सडकको अवस्था हेरेर उपयुक्त विकल्प खोजिने उनले बताए ।

डिभिजन सडक कार्यालय दमौलीका प्रमुख अमितकुमार श्रेष्ठले यही जेठ १५ गतेदेखि नै सम्भावित ठाउँमा आवश्यक उपकरण राखिएको बताए । उनका अनुसार पहिराको जोखिम भएका ठाउँमा स्काभेटर राखिएको छ । डिभिजनले अहिले भएका उपकरण पर्याप्त नभएको भन्दै विभागसँग थप चार उपकरण माग गरेको छ । केही दिनपहिले बुटवाल–पाल्पा सडक पहिराका कारण दुई दिनसम्म अवरुद्ध बनेको थियो । उनले भने, “सडक खुलाउनका लागि हामीलाई थप उपकरण र प्राविधिक जनशक्ति आवश्यक छ ।”

गत वर्ष पनि वर्षाका कारण धेरै सडक क्षतिग्रस्त बनेका थिए । निर्माण सम्पन्न भइसकेकाभन्दा निर्माणाधीन सडकमा बाढी र पहिराको बढी समस्या आउने गरेको छ । अरनिको राजमार्ग, कर्णाली राजमार्ग, विपी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्गलगायत सडक अवरुद्ध बनेका थिए । अरनिको राजमार्गमा लामोसाँघु बाह्रबिसे सडकमा करीब १०० मिटर सडक पूरै सुनकोशी खोलाले बगाएको थियो ।

त्यस्तै खग्दोलस्थित १८० मिटर सडक भोटेकोशी खोलाले बगाएको थियो । बेनी जोमसोम कोरोला सडकका विभिन्न खण्ड पहिराले पुरिएकन थिए भने सो सडकमा माथिबाट आएको पहिराले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको थियो । साँफेबगर–मार्तडी सडक पनि लामो समयसम्म अवरुद्ध थियो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL