Logo

सेयर बजार सुधारमा अध्ययन समितिको ३ फर्मुला, मार्जिन लेण्डिङ ७० प्रतिशत र रिस्क वेट १०० मा झर्ने

सेयर बजार सुधारमा अध्ययन समितिको ३ फर्मुला, मार्जिन लेण्डिङ ७० प्रतिशत र रिस्क वेट १०० मा झर्ने



काठमाडौं । सेयर बजार सुधारका लागि गठन गरिएको उच्चस्तरीय अध्ययन समितिले तीन नयाँ फर्मुला पेश गर्ने भएको छ । पछिल्लो समय दैनिक जसो ओरालो लागेको सेयर बजारमा भएको समस्या समाधान गरी त्यसलाई उकास्नका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन समितिले आगामी दिनमा बजार सुधारका लागि मार्जिन लेण्डिङमा वृद्धि, वेट रिक्स घटाउने तथा बैंकमार्फत दिईने सेयर धितोको कर्जालाई मार्जिन लेण्डिङको सूचीबाट हटाउन सुझाव दिने भएको छ ।

उच्च ब्याजदर तथा पूँजीबजार सुधारका लागि अर्थमन्त्री डा. युवराज खतिवडाबाट गठिन उक्त समितिले सकभर सोमबार नै उक्त अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ । सो समितिले हाल दिँदै आएको मार्जिन लेण्डिङको ५० प्रतिशतको सीमालाई बढाएर ७० प्रतिशत पुर्याउन सुझाव दिने भएको छ । पछिल्लो समय सेयर ११ सय विन्दुमा झरेर न्युनतम मूल्यमा आएको हुँदा मार्जिन लेण्डिङको सुविधा बढाउँदै ७० प्रतिशत बनाउन पर्ने गरी प्रतिवेदन तयार पारिएको अध्ययन समितिका एक सदस्यले जानकारी दिए ।

यसैगरी समितिले सेयर कर्जाको वेट रिक्स पनि घटाउन सुझाव दिने भएको छ । हाल सेयर कर्जाको वेट रिक्स १५० प्रतिशत रहेकोमा त्यसलाई घटाउँदै १०० प्रतिशतमा झार्न सुझाव सहित प्रतिवेदन तयार पारेको छ । सेयर कर्जाको वेट रिक्स बढी राख्दा बढी समस्या परेको भन्दै लगानीकर्ताले त्यसलाई घटाउन माग गर्दै आएका थिए ।

समितिले बैंक वित्तीय संस्थाले सेयरको धितोमा प्रदान गर्ने कर्जालाई मार्जिन लेण्डिङमा गणना नगर्न पनि सुझाव दिने भएको छ । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्राथमिक पूँजीको ४० प्रतिशतमात्र मार्जिक लेण्डिङ गर्न पाउने व्यवस्था गरेको थियो । तर, अबका दिनमा उक्त व्यवस्था खारेज गर्दै बैंक वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितोको कर्जालाई मार्जिन लेण्डिङमा गणना गर्ने व्यवस्था गर्न सुझाव दिने भएको छ । उक्त समितिले ब्रोकरमार्फत प्रदान गरिने कर्जालाई मात्र मार्जिन लेण्डिङमा गणना गर्ने सुझाव दिने तयारी गरेको समेत समितिका एक सदस्यले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्
MBL