Logo

लगानीकर्ता फसाउने नेप्सेको रणनीति, ‘वाईको’लाई भुक्तानी गर्न विना तयारी अनलाईन कारोबार संचालनमा

लगानीकर्ता फसाउने नेप्सेको रणनीति, ‘वाईको’लाई भुक्तानी गर्न विना तयारी अनलाईन कारोबार संचालनमा



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले विना तयारी अनलाईन कारोबार संचालनमा ल्याउँदा लगानीकर्ताहरु समस्यामा परेका छन् । नेप्सेको अनलाईन निर्माता कम्पनी वाईकोलाई भुक्तानी गर्न नेप्सेले विना तयारी अनलाईन प्रणाली संचालनमा ल्याएर लगानीकर्ता फसाउने काम गरेको सम्बद्ध सरोकारवालाहरुको आरोप छ ।

नेप्सेले अनलाईन प्रणालीको विकास गर्न वाईकोसँग सम्झौता गरेको थियो । उक्त अनलाईनको सफ्टवेयर र हार्डवेयर निर्माणका लागि नेप्सेले वाईकोलाई मूल्य अभिवृद्धि कर (भ्याट) सहित १८ करोड रुपैयाँमा ठेक्का दिएको थियो । तर, अहिले वाईकोलाई सोही रकम भुक्तानी गर्न नेप्सेले अनलाईन प्रणालीको पूर्ण तयारी नभईकनै संचालनमा ल्याएको लगानीकर्ताहरुको दावी छ ।

नेप्सेको अनलाईन कारोबार प्रणालीमा धेरै त्रुटि भएको र सोबाट लगानीकर्ता मर्कामा परेको भन्दै नेपाल इन्भेष्टर्स फोरमले विज्ञप्ती निकालेर विरोध गरेको छ । नेप्सेको अनलाईन कारोबार प्रणाली संचालनमा आएको दिनदेखि नै समस्यामा आएको र ५ दिनसम्म पनि सम्बोधन गर्न नसेपछि त्यसको विरोधमा जानु परेको इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘आजदिनभर नेप्सेले अनलाईन प्रणालीमा देखिएको समस्यामा कसरी समाधान गर्छ हेर्नेछौं,’ उनले भने, ‘आजपनि सोही समस्या दोहोरियो भने वेलुकाबाट नेप्से घेराउ गर्नेछौं ।’

नेप्सेका प्रमुख कार्यकारी अधिकृति चन्दसिंह साउद भने बाहिर हल्ला भएजस्तो अनलाईन प्रणालीमा समस्या नभएको बताउँछन् । ‘पहिला नेप्सेले अनलाईन प्रणाली संचालनमा ल्याउन ढिलाई गरेर लगानीकर्ताको मनोभावनामा खेलबाड गरे भने,’ उनले भने, ‘अहिले संचालनमा ल्यायौं अनेकथरी आरोप लगाउन थालेका छन् ।’

नेप्सेको अनलाईन कारोबार राम्रोसँग नचल्नुमा लगानीकर्ताहरु पनि उत्तिकै जिम्मेवार रहेको साउदको आरोप थियो । ‘हामीले ‘मक ट्रेडिङ’ संचालन गर्दा लगानीकर्ताले कुनै वास्ता गरेनन्,’ उनले भने, ‘अहिले बजारमा मै हँु भनेर बोल्दै हिड्न लगानीकर्ताले भने अनलाईन कारोबार गर्न जानिरहेका छैनन् ।’ अनलाईन कारोबारका लागि लगानीकर्ताले आफ्नो विस्तृत विवरण राख्न नजान्दा पनि समस्या आएको उनको आरोप थियो ।

यसैगरी साउदले अनलाईन प्रणालीमा देखिएको त्रुटि समाधान गर्न टीम नै परिचालन गरिएको जानकारी दिएका छन् । ‘हामीले ल्याएको अनलाईन प्रणाली पनि शतप्रतिशत ठिक छ भन्ने होईन,’ उनले भने, ‘त्यो भन्दा ठूलो समस्या लगानीकर्तामा देखियो ।’

साउदका अनुसार अनलाईन निर्माता कम्पनी वाईकोले पहिलो किस्ता वापतको भुक्तानी मात्र पाएको छ । तर, निर्माता कम्पनीलाई भुक्तानी गर्नकै लागी विना तयारी अनलाईन कारोबार संचालनमा ल्याइएको भने नभएको उनको भनाई थियो । साथै आईतबारको दिन पनि ८ हजार जना लगानीकर्ताको अर्डरबाट करिब १० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL