Logo

४ अर्ब ७० करोडले घट्यो सेयर कर्जा, विपन्न वर्ग कर्जा प्रवाह भने १० अर्बले बढ्यो

४ अर्ब ७० करोडले घट्यो सेयर कर्जा, विपन्न वर्ग कर्जा प्रवाह भने १० अर्बले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिनामै सेयर धितो कर्जामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा साउन मसान्तसम्म यस्तो कर्जा ४ अर्ब ७० करोड बढीले घटेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट यस्ता कर्ता गत आवको असार मसान्तसम्म ८० अर्ब ५० करोड बढी रुपैयाँ बराबरको प्रवाह भएको थियो । तर, चालु आवको सुरुवात अर्थात साउन मसान्तसम्म आइपुग्दा यस्तो कर्जा जम्मा ७६ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्रै प्रवाह भएको छ ।

अझ यस्तो कर्जा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष झन धेरै ओरालो लागेका राष्ट्र बैंकको तथ्यांकमा देख्न सकिन्छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष सेयर कर्जा २४.२५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्म १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ पुगेको यस्तो कर्जा गत आर्थिक बर्षको असार मसान्तसम्म घटेर ८० अर्ब ५० करोड रुपैयाँमा सीमित भएको हो ।

नेपाल राष्ट्र बैंकले कोरोनापश्चात गत आर्थिक बर्ष सेयर धितोमा पाइने मार्जिन कर्जामा कडाई गरेको थियो । जसको असर यस्तो प्रवाहमा देखिएको एक लगानीकर्ताले बताए । उनका अनुसार नेपाल राष्ट्र बैंकको कुनै एक बैंकबाट ४ करोडसम्म र समग्र बैंकिङ प्रणालीबाट १२ करोडसम्मको सेयर धितो कर्जा पाइने नीति ल्याएका कारण यसको असर कर्जा प्रवाहमा परेको हो ।

तर, चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गत आवको नीतिलाई सच्याएर एक वा सबै बैंकिङ प्रणालीबाटै १२ करोड रुपैयाँसम्मको कर्जा लिन पाईने सुविधा ल्याएपछि सेयर बजार लगानीकर्ता केहि उत्साहित त भए तर भनेबमोजिम त्यसको असर सेयर बजारमा परेन । गत आर्थिक बर्ष बढेर ३२ सय को विन्दुसम्म पुगेको सेयर बजार हाल ओर्लिएर १८ सयको आसपासमा छ । यसो हुँदा लगानीकर्ताहरु प्यानिक भई सेयर बजारमा कर्जा लिएर लगानी गर्ने मुडमा नरहेको एक लगानीकर्ताले बताए । जसका कारण १ बर्षमै सेयर धितो कर्जा प्रवाह २४ प्रतिशतले र एक महिनामै ४ अर्ब ७० करोडले घटेको छ ।

पछिल्लो समय मार्जिक प्रकृतिको कर्जामा गिरावट आएपनि विपन्न वर्ग कर्जामा भने उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार यस्तो कर्जा साउन महिनामा मात्रै ९ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बढीको प्रवाह भएको छ । गत असार मसान्तसम्म ३ खर्ब ३५ अर्ब ६२ कोड रुपैयाँ बराबर प्रवाह भएको यस्तो कर्जा चालु आवको साउन महिनाको मसान्तसम्म ३ खर्ब ४५ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । यस्तो कर्जा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष १४ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एक बर्षको तुलना हेर्ने हो भने अघिल्लो आवको तुलनामा गत आवमा आवधिक कर्जा २८ प्रतिशतले ओभरड्राफ्ट १३ प्रतिशतले रियल स्टेट कर्जा २४ प्रतिशतले र अतिरिक्त उत्पादन कर्जा १७ प्रतिशतले घटेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाई गरेपनि यस्तो कर्जा भने साउन महिनामा मात्रै ११ अर्ब रुपैयाँले बढेको छ । साउन महिनासम्मको तथ्यांक हेर्दा सबै प्रकारका धितोमा ४७ खर्ब ७ अर्ब ५९ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । जसमध्ये सबैभन्दा बढी थोक र खुद्रा विक्रेताहरुले लिएका छन् । साउन महिनासम्म ९ खर्ब ४७ अर्ब रुपैयाँ बढीको थोक तथा खुद्रा विक्रेताले यस्तो कर्जा लिएका हुन् । यस्तै उपभोगतर्फ ८ खर्ब ७२ अर्ब, कृषि वनजंगल तथा पेय उत्पादनतर्फ ७ खर्ब ४९ अर्ब र अतिरिक्त कर्जा ३ खर्ब ८७ अर्ब बरारबर प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL