Logo

सेयर बजारप्रति प्रचण्डको निष्कर्ष, ‘यो पूँजीपतिहरुले अरुको सम्पत्ति हडपेर अकुत पैसा कमाउने क्षेत्र हो’

सेयर बजारप्रति प्रचण्डको निष्कर्ष, ‘यो पूँजीपतिहरुले अरुको सम्पत्ति हडपेर अकुत पैसा कमाउने क्षेत्र हो’



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई पूँजीपतिहरुले अरुको सम्पति हड्प्ने क्षेत्रको रुपमा व्याख्या गरेका छन् । उनले माओवादीको ८ औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै पूँजीपतिहरुले छोटो समयमा अकुत पैसा कमाउनको लागि सेयर बजार र घरजग्गामा लगानी गर्ने प्रवृति बढेको उल्लेख गरेका छन् ।

‘वित्त क्षेत्रमा पूँजी पलायन हुनुको मुख्य कारण पूँजीपतिहरुको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो,’ उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै मेहनत पनि धेरै गर्नुपर्ने, मजदूर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पूँजीपतिहरुले अरुको सम्पत्ति हडपेर छोटो समयमा अकूत सम्पत्ति आर्जन गर्न नै पूँजीलाई शेयर बजार , मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका हुन् ।’

साथै मुठ्ठीभर पूँजीवादी घरानाहरुका हातमा पूँजीको अत्यधिक संकेन्द्रण, वित्तीय एकाधिकार पूँजीमार्फत नवऔपनिवेशिक शोषण, विश्व वित्तिय संस्थाहरु र बहुराष्ट्रिय निगमहरुमार्फत् विश्व अर्थव्यवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास नवउदारवादी विचारधारा व्यक्तिवाद र उपभोक्तावादलाई प्रश्रय एवम् विश्वलाई पूँजीवादी माल र मनोरञ्जनको बजार बनाउनु यसका विशेषताका रुपमा रहेको उनको निष्कर्ष छ । हाल अन्तरराष्ट्रिय वित्तीय संस्थाहरु मार्फत विश्वव्यापी रुपमै निजीकरण, उदारीकरण र भूमण्डलीकरणको वर्चश्व कायम गर्ने प्रयास भइरहेको समेत उनले बताएका छन ।

‘औद्योगिक तयारी वस्तुहरुको निर्यातभन्दा पनि वित्तीय पूँजीको निर्यातमा जोड दिँदै बहुराष्ट्रिय निगमहरु मार्फत विश्वव्यापी वित्तिय एकाधिकार कायम गर्ने प्रयास भइरहेको छ । साथै अर्थतन्त्रको निर्धारक तत्व खुला बजारलाई बनाउँदै राज्यलाई नियमनकारी संस्थाको रुपमा सीमित गर्न खोजिएको छ । सुरक्षित श्रमको सट्टा करार, ज्यालादारी र आउट सोर्सिङ्गमार्फत श्रमजीवि वर्गलाई विभाजित, असुरक्षित र पराषित बनाइएको छ भने विज्ञान र प्रविधिमार्फत विश्वले आर्जन गरेको प्रगतिबाट लाभान्वित हुन बहुसंख्यक जनता बञ्चित छन्,’ उनको प्रतिवदेनमा उल्लेख छ, ‘आजको विश्व वित्तीय पूँजीवादले विभिन्न अन्तरराष्ट्रिय संस्थाहरुका माध्यमबाट वित्तिय एकाधिकारका दलालहरुको सन्जाल तयार गरी नयाँ प्रकारको नवऔपनिवेशिक प्रणाली थोपर्ने प्रयास गरिरहेको छ ।’

केही समयअघि पनि प्रचण्डले पुँजी बजारलाई पूँजीपतिहरुको अरुको सम्पति हडप्ने संजालको सज्ञा दिएका थिए भने त्यसबाट मुक्त हुनुपर्ने बताएका थिए । तर, सामाजिक संजालमा विरोध आएसँगै उनले आफुले पुँजी बजारलाई धरासायी बनाउने खालको अभिव्यक्ति नदिएको स्पष्ट पारेका थिए । तर उनले पार्टीको ८ औं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रतिवेदनमा पुनः पूँजी बजारलाई पुँजीपतिहरुको अरुको सम्पती हडपेर आफु छोटो समयमा धनी बन्ने अवसरवादीको संज्ञा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL