Logo

आगलागीपछि त्रासमा टाटा नेक्सनका ग्राहक, सरकारले दियो छानविनको आदेश

आगलागीपछि त्रासमा टाटा नेक्सनका ग्राहक, सरकारले दियो छानविनको आदेश



काठमाडौं । टाटा नेक्सन इभीमा आगलागी भएको घटना सार्वजनिक भएसँगै ग्राहकमा त्रास बढेको छ । जुन २२ मा मुम्बईको उपनगर वसईमा टाटा नेक्सनको विद्युतीय कारमा आगो लागेको थियो । सो घटनाको भिडियो इन्टरनेटमा तीब्र रुपमा शेयर भइरहेको छ । यससँगै टाटा नेक्सन इभी चढिरहेका ग्राहकहरुमा त्रास बढेको छ ।

नेपालमा पनि टाटा नेक्सनका इभी लोकप्रिय रहेका छन् । भारतको यो घटना सार्वजनिक भएसँगै नेक्सन इभी चढिरहेका नेपाली ग्राहकहरुमा पनि त्रास बढेको छ ।

आगलागीको वास्तविक कारण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । तर, सार्वजनिक भएको भिडियोमा सडकको छेउमा पार्क गरिएको नेक्सन इभी कारको मुनिबाट धुवाँको मुस्लो निस्किरहेको छ । बिस्तारै, गाडी पुरै आगोले जलेको देखिन्छ भने बेलाबेलामा ब्याट्री विस्फोट भएको आवाज पनि आएको सुनिन्छ । रिपोर्टका अनुसार कारका मालिकले आफ्नो कार्यालयमा जडान गरिएको स्लो चार्जरबाट आफ्नो नेक्सन इभीलाई चार्ज गरे ।

त्यहाँबाट आफ्नो घरतर्फ करिब ५ किलोमिटरको दूरी तय गरेपछि उनले कारबाट केही अनौठो आवाज आएको सुने र ड्यासबोर्डमा चेतावनीका चिन्हहरू देखे, जहाँ उनलाई गाडी रोक्न र कारबाट बाहिर निस्कन चेतावनी थियो । त्यसलगत्तै उनी गाडी सडकको छेउमा पार्क गरेर कारबाट बाहिर निस्किएका थिए । त्यसपछि कारमा आगो लागेको थियो । पछि आगो निभाउन दमकल बोलाइएको थियो ।

सरकार एक्सनमा

भारतको सडक यातायात र राजमार्ग मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले मुम्बईमा नेक्सन इलेक्ट्रिक गाडीमा भएको आगलागीको घटनाको छानबिन गर्न आदेश दिएको छ । ती अफिसरले भने–‘हामीले नेक्सन इभी आगलागी घटनाको छानबिन गर्न स्वतन्त्र छानबिनको आदेश दिएका छौं ।’ भारतीय सरकारले सेन्टर फर फायर एक्सप्लोसिभ्स एन्ड इन्भाइरोन्मेन्टल सेफ्टी (CFEES), इन्डियन इन्स्टिच्युट अफ साइन्स (IISc), नौसेना विज्ञान र प्रविधि प्रयोगशाला (NSTL), विशाखापट्टनमलाई घटनाको कारण तथा परिस्थितिको छानबिन गर्न र समस्याको समाधान उपाय पहिल्याउन आग्रह गरिएको बताएको छ ।

टाटाले पनि अनुसन्धान गर्दै

टाटा मोटर्सले एक विज्ञप्तिमा हालै भएको गाडीमा भएको आगलागीसँग सम्बन्धित घटनाको तथ्य पत्ता लगाउन गहन अनुसन्धान गरिरहेका बताएको छ । ‘हाम्रो कारबाही सकिएपछि मात्र यस सम्बन्धमा विस्तृत जानकारी दिनेछौं’, कम्पनीको विज्ञपितमा छ । आफ्ना सवारी साधन र ग्राहकको सुरक्षाका लागि प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । करिब चार वर्षमा यो पहिलो घटना भएको अटो निर्माताले बताएको छ ।

यस अवधिमा ३०,००० भन्दा बढी विद्युतीय सवारी साधनले देशभर १० लाख किलोमिटरभन्दा बढी यात्रा गरेको पनि कम्पनीले जनाएको छ । विद्युतीय गाडीमा भएको आगलागीको घटना सामाजिक सञ्जालमा व्यापक रुपमा शेयर भइरहेका बेला कम्पनीले यो विज्ञप्ति जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL