Logo

निषेधाज्ञा खुलेलगत्तै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्दै सरकार : मोटरसाइकल स्कुटरले २५ सय तिनुपर्ने

निषेधाज्ञा खुलेलगत्तै इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्दै सरकार : मोटरसाइकल स्कुटरले २५ सय तिनुपर्ने



काठमाडौं । सरकारले जारी निषेधाज्ञा खुलेलगत्तै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने भएको छ । गत चैत महिनामै अनिवार्य गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडानको काम निषेधाज्ञालगायतका कारणले पछि धकेलिएको थियो ।

सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट लगभग जडान गरिसकिएपनि अन्य (निजी तथा सार्वजनिक) सवारीसाधनमा भने अझै जडान गर्न बाँकी छ । अब सबै प्रकारका सवारीलाई अनिवार्य गरेर सवै सवारीसाधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए ।

विभागले चैत एक गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भनेर घोषणा गरेपनि विभागका तत्कालिन महानिर्देशक गोगनबहादुर हमालको सरुवा भएपछि नम्बर प्लेट जडान मिति अन्योल भएको थियो । हाल अधिकांश सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान धमाधम भईसकेको र सोहीअनुसार निजी सवारीसाधनमा पनि अनिवार्य गर्न लागिएको निर्देशक पौडेलले बिजखबरलाई जानकारी दिए । हालसम्म ६ हजार बढी सरकारी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका छन भने ४ हजारले जडान गर्नका लागि बुक गरिसकेका छन ।

सरकारी सवारीमा नम्बर प्लेट जडानको काम तीव्र भएको समयमा निषेधाज्ञा लागु भएपछि सरकारी सवारीसाधनमा जडान गर्ने कार्य पनि स्थगित भएको छ । सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य बनाएसँगै प्रत्येक सवारीधनीले आफ्नो सवारी अनुकुल प्रति सवारी साधन २ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँ तिरेर जडान गर्नुपर्नेछ ।

सरकारले विस २०७३ सालमै ५ बर्षभित्र २५ लाख सवारीसाधनमा अत्याधुनिक इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि डेकाटुर टाईगर इनकर्पाेरेटसँग सम्झौता गरेको थियो । तर, बीचमा इम्बोस्ड नम्बर प्लेटमा देवनागरिक अक्षर हुनुपर्ने भन्दै रिट परेपछि सर्वाेच्चले तत्कालका लागि यो कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गत बर्षको असारमा सर्वाेच्चले यसको जडानको बाटो खुलाईदिएपछि सम्झौता भएको कम्पनीको म्याद जम्मा ११ महिनामात्रै बाँकी थियो ।

यसरी कम म्यादमा धेरै काम गर्न असम्भव भएपछि यातायात व्यवस्था विभागले कम्पनीको म्याद थप्ने निर्णय गरेको छ । म्याद थप्नेगरी विभागबाट निर्णय भएको र अब हस्ताक्षर गर्न मात्रै बाँकी रहेको विभागका निर्देशक पौडेलले जानकारी दिए । कम्पनीको म्याद गत जेठ १७ सम्म मात्रै थियो ।

यातायात व्यवस्था विभागका अनुसार सरकारले जडान गरिदिन लागेको इम्बोस्ड नम्बर प्लेटको मूल्य हाल ठूला सवारी साधनमा जडान गरेको ३ हजार ६ सय रुपैयाँ, मझौला तथा साना चारपांग्रे सवारीसाधनमा जडान गरेको ३ हजार २ सय रुपैयाँ, ३ पांग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ र साना २ पांग्रे सवारीसाधनहरुका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

सवारीसाधनमा अगाडि र पछाडि दुबैतिर इन्बोस्ड नम्बर प्लेट जडान गरिन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रयाकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न सकिन्छ ।

यसका लागि विभिन्न स्थानमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसनका डिभाइस भएको गेटको आवश्यकता पर्दछ । यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ,कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ । यस्तै सवारीसाधनले कर तिरे नतिरेको समेत यसै आईडेन्टीफिकेसनमार्फत थाहा पाउन सकिन्छ ।


तर, विभागले यस्तो गेटको निर्माण कार्य भने सुरु गरिसकेको छैन । गेट निर्माणका लागि सबै प्रक्रिया पुरा भएपनि सडक विभागको निर्देशन पर्खिरहेको निर्देशक पौडेलले बताए । उनका अनुसारसडक विभागको अनुमति आएपछि नेपालभरका मुख्य राजमार्गहरुमा यस्तो गेट निर्माण गरिने छ । पहिलो चरणमा भने विभागले काठमाडौं भित्रिने र बाहिरिने प्रमुख नाकाहरुमा यो गेट राख्ने योजना बनाएको छ ।

सवारी साधन इम्बोस्ड शुल्क

मोटरसाइकल,स्कुटर २५००
टेम्पु, अटो, तीनपाग्रे २९००
जिप, कार, भ्यान ३२००
बस, ट्रक, ट्रयाक्टर ३६००

प्रतिक्रिया दिनुहोस्
MBL