Logo

नेप्से ओरालो लाग्ने क्रम जारी, अझै घट्न सक्ने प्रवल संभावना

नेप्से ओरालो लाग्ने क्रम जारी, अझै घट्न सक्ने प्रवल संभावना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राजनीतिक ध्रुविकरणबाट नयाँ सरकार गठनसँगै घट्न थालेको सेयर बजारमा ठूलो त्रास उत्पन्न भएको छ र बजार दुई दिन निरन्तर ओरालो लागेको छ । यो क्रमले निरन्तरता पाउने त्रासमा लगानीकर्ताहरु विक्री बढाउनतिर लागेका छन । यसले गर्दा विक्रीमा तीब्र चापको स्थिति देखिएको एक ब्रोकरले जानकारी दिएका छन ।

मंगलबार करिव ३० अंकले घटेको नेप्से बुधबार करिव साढे ७ अंकले घटेको छ । तर, दिउसो बिक्रीमा एक्कासी बढी चाप पर्दा झण्डै ३१ अंकले नेप्सेमा गिरावट आएको थियो । दिउसो २ बजेपछि बजारमा केही सुधार भएर ७ अंकले मात्र घटेको हो । तर अझै पनि बजार घट्ने क्रम जारी रहने ब्रोकरहरुले अनुमान गरेका छन ।

बजारमा दिनभर ८५ कम्पनीको सेयर कारोवार भएको थियो । ती कम्पनीको २५ करोड ८४ लाख रुपैयाँ बरावरको ४ लाख २० हजार कित्ता सेयर कारोवार भएको थियो । जसमा बीमा, होटल, बैंकलगायत समुहको सेयर मुल्यमा बढी गिरावट आएको छ । बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् ।

बैंकहरुले अघिल्लो बर्षको नाफाबाट दिने प्रतिवद्धता गरेको प्रतिफलमा खासै परिवर्तन हुने स्थिति देखिएको छैन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आगामी दुई बर्षमा चुक्ता पुँजीमा ४ गुण वृद्धि गर्न निर्देशन जारी गर्नासाथ बढ्न शुरु भएको नेप्सेले २०६५ भदौमा कायम गरेको उच्चतम अंक ११७५ को रेकर्ड तोड्ने मात्र होइन, गत भदौं २९ गते अहिलेसम्मकै उच्च अंक १२०६ कायम गरेको थियो ।

बोनस सेयर र हकप्रद सेयर जारी गर्ने अनुमानमा लगानीकर्ताहरुले पैसा खन्याउन थालेपछि बजारले अहिलेसम्मकै नयाँ उचाई कायम गरेको थियो । बजारको नियमित चक्र अनुसार पनि बजार बढ्ने क्रममा थियो । भूकम्पपछि विदेशी सहयोगको प्रतिवद्धतासँगै बजार माथितिर जान थालेको थियो । बजेट प्रस्तुत भैसकेपछि नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी वृद्धिको निर्देशनपछि बजार ह्वात्तै बढेको थियो ।

संविधान जारी र नयाँ सरकार गठनसँगै यो वृद्धि टिकाउ रहेन र बजारमा निरन्तर गिरावट आउन थालेको छ । संविधान जारीसँग शुरु तराई मधेश आन्दोलन उत्कर्षमा पुगेर छिमेकी देश भारतसँगको नाका बन्द हुन थालेपछि नेपालको अर्थतन्त्रमा समेत प्रतिकूल असर पर्ने संभावना देखिएको छ । नयाँ सरकार गठन भएपनि अर्थमन्त्रीको नियुक्तिमा किचलो शुरु भएपछि लगानीकर्ताहरुको मनोवल गिर्न थालेको ब्रोकरहरुको ठम्याई रहेको छ । छठपछि नाका केन्द्रित आन्दोलन अझ घनिभूत हुने चेतावनीले लगानीकर्ताहरु त्रसित बन्न पुगेका छन । मुख्यकुरा लगानीकर्ताहरुको मनोविज्ञान हो, ती ब्रोकरको भनाई थियो, उनीहरुको मनोविज्ञान कमजोर बन्न थालेको छ । त्यसैले केही समय अझै बजार बढ्ने भन्दा घट्ने संभावना प्रवल देखिन्छ । लगानीकर्ताहरुको पनि यस्तो विश्लेषण रहेको देखिन्छ । कतिपय लगानीकर्ताहरुले त अनुकूल वातावरण भएको भए यो उचाई १५ सय अंक नाघेर मात्र बिश्राम लिन सक्थ्यो तर राजनीतिक परिवर्तन छिटो भएकोले छिटो आरालोतिर लाग्न थालेको टिप्पणी गर्ने गरेका छन ।

एक लगानीकर्ताले यतिसम्म भनेका छन कि नयाँ सरकारले चुक्ता पुँजी वृद्धिको केन्द्रीय बैंकको निर्देशनलाई परिवर्तन गरिदिन सक्छ । चुक्ता पुँजी वृद्धिको निर्णय उल्टाउने मात्र होइन, लम्ब्याउने निर्णय गरिदिए मात्र पनि बैंक तथा वित्तीय संस्थाहरुले कम बोनस सेयर दिने र नगद लाभांशमा जोड दिने भएकोले मूल्य घट्नलाई थप दबाब दिन सक्ने संभावना रहेको छ ।

सबैभन्दा खतरनाक पक्ष त के रहेको छ भने संस्थापक सेयरलाई साधारण सेयर सरहको मान्यता दिने नयाँ बाफिया विधेयक संसदमा पुगेको छ । उक्त विधेयकमा १० बर्ष पुराना बैंक तथा वित्तीय संस्थाहरुका संस्थापक सेयरलाई साधारण सेयरसरह मान्यता दिने व्यवस्था रहेको छ । यसले एकैपटक संस्थापक सेयर ह्वात्तै बजारमा आपूर्ति हुने प्रवल संभावनालाई देखाउँछ । बजारमा खरिदकर्ताहरुको प्रवेशविना नै यसरी सेयर आपूर्ति बढ्ने स्थिति आएमा क्र्यासको संभावना पनि त्यत्तिकै रहेको छ । यस्तो अवस्थामा धेरैजसो चलाख लगानीकर्ताहरु बजारबाट बाहिर निस्कने छन र कतिपय पहिला नै निस्किसकेका पनि छन । विस्तारै यो कुरा बुझ्न थालेका सर्वसाधारण लगानीकर्ताहरु पनि अहिले सेयर विक्री गर्न थालेका छन ।

यसरी राजनीतिक अस्थिरता बढ्ने, भारतबाट भैरहेको पेट्रोलियमलाई चीनको आपूर्तिले धान्न नसक्ने र यसको समग्र असर अर्थतन्त्रमा प्रतिकूलरुपमा पर्न सक्ने, बजारमा सेयरको आपूर्ति बढ्न सक्ने, संस्थागत लगानीकर्ताहरुको प्रवेशमा ढिलाई, बाम बर्चश्वको सरकार, राजनीतिक ध्रुविकरण, चुक्ता पुँजी वृद्धिको समय लम्ब्याउने बैंक तथा वित्तीय संस्थाहरुको लविङ जस्ता कारणहरुले सेयरको मूल्यह्रासको खतरा प्रवल देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL