Logo

सेल मेलाले छाला जुत्ता उत्पादक संघमा भाँडभैलो, गुटबन्दीले समस्यामा जुत्ता चप्पल उद्योगी

सेल मेलाले छाला जुत्ता उत्पादक संघमा भाँडभैलो, गुटबन्दीले समस्यामा जुत्ता चप्पल उद्योगी



काठमाडौं । भृकुटीमण्डपमा बाह्रै मासजस्तो लाग्ने जुत्ता तथा चप्पलको सेल मेलाले गर्दा फुटवेयर म्यानुफ्क्चरर्स एशोसिएशन अफ नेपाल (एफम्यान) मा विवाद बढेको छ । पेशागत हकहितका लागि स्थापित भएको एफम्यानका केही पदाधिकारीले राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल मेलामा आफ्नै सदस्यहरुलाई काखा र पाखा गर्न थालेपछि संघभित्रको विवाद बाहिर आएको हो ।

मेलाकै कारणलाई लिएर संघकै पदाधिकारीहरुले विधान उल्लंघन गरेको भन्दै केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् । मेलाका नाममा संघका पदाधिकारीले आफूहरु मात्र सहभागी हुने गरी सिन्डिकेट लगाउन थालेको असन्तुष्ट व्यवसायीहरुको आरोप छ ।

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला सदावहार रुपमा हुन थालेपछि त्यसलाई रोक्न संघको विधानमै बर्षमा दुई पटक मात्र संघ आफैंले मेला गर्ने प्रावधान राखिएको थियो । तर संघ आफैले बैशाखयता ६ पटक मेला आयोजना गरिसकेको सम्बद्ध व्यवसायीहरु बताउँछन । संघमा गुट बनेपछि एउटा समुहले भृकुटीमण्डपको सानो चौरमा र संघको नाममा ठूलो चौरमा मेला गर्दै आएका छन् । संघले यही बर्ष ६ पटक मेला गरिसकेको छ । यही पुस २१ गतेदेखि फेरि मेला गर्ने भनेर भृकुटीमण्डपको चौर बुक गरिसकेको छ ।

तर धेरै पटक मेला गरेको भनेर संघले सानो चौरको मेलामा सहभागी हुने जुत्ताचप्पल उत्पादकलाई कारबाही गरेको थियो । उनीहरुलाई विधान नमानेको संघको आरोप छ । जव कि संघका पदाधिकारी आफैंले भने यही बर्ष ६ पटक मेलामा सहभागिता जनाइसकेका एक जुत्ता उत्पादकले जानकारी दिए । तर संघको विधानले बर्षको दुई पटक मात्र मेला गर्ने भने पनि कार्यसमितिले मंसिर मसान्तसम्म मेला गर्न दिने निर्णय गरेको ती व्यवसायीको भनाई थियो । यता सानो चौरमा मेला गर्ने जुत्ताचप्पल उत्पादकहरुले आफूहरु माथिको कारबाही फुकुवा गर्नु पर्ने सर्त राखेका थिए । त्यसपछि संघले यही पुस ५ गतेसम्म कारबाही फुकुवा गरिएको र सोका लागि मेला छाड्नु पर्ने र यदि मेला नछाडेको खण्डमा कारबाही यथावत रहने निर्णय गरेको थियो ।

एक उद्योगीका अनुसार संघकै नाममा भएको मेलामा सहभागी केही उद्योगीले संघको निर्णय अनुसार पुस ५ सम्म मेला छाडेनन् । तर उनीहरुले यही पुस २१ देखिको मेलामा भने सहभागिता जनाउन पाउने भएका छन् । उता सानो चौरमा भएको मेलामा सहभागिता जनाउनेहरुलाई चाहिँ पाखा लगाउने नियत संघको रहेको सम्बद्ध व्यवसायीहरुनै बताउँछन् । संघको बिधान मस्यौदा उपसमिति सदस्य अर्जुनकुमार शर्मा बिधानमा बार्षिक रूपमा दुइ पटक सेल मेला र एक पटक बार्षिक मेला गर्ने गरि मध्यमार्गी बाटो बनाएको अनुभूति गरेकोमा अहिले आएर संघको नामबाट हर बखत ब्यानर मेला लगाइ मेला लगाइको बताउँछन् । उनले भने, बैशाख, जेठ, भदौ, असोज, कार्तिक, मंसिर र पुषको आजसम्म संघले गरेको मेला बिधान सम्मत छ ? उनी प्रश्न गर्छन् ।

हिजो भृकुटीमण्डपको सानो चौरमा मेला लगाएको भनेर सो मेला बिधानबिपरित भयो भनेर संघका सदस्यहरुलाइ कार्वाही गरिएको भनेर प्रचार गरिएको थियो, उनले भने, आजसम्म सघको नाममा लगाएको मेला के बिधान सम्मत छ ? यसरी असन्तुष्टी ब्यक्त गर्न शर्मामात्र हैन, धेरै सदस्य छन् । महासंघले एउटा गुटलाई मात्र प्रश्रय दिएको उनीहरुको आरोप छ । त्यसैले पुस २१ गतेदेखि संघका नाममा हुने मेलामा शिखर, क्यालिबर, मकालु, हाइलाइफ, उत्सव, बेम्बो, बोस, फुटस्टेप, ह्याप्पी, टाकुरालगायतका कम्पनीले अहिलेसम्म बुकिङ गरेका छैनन् । ती ब्राण्डको सहभागिता नहुने सम्भावना बढेको छ ।

मेला गर्ने वा नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग मिलेर मेलामा सहभागिता जनाउन थाले । मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो । ‘केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । ठूलो चौरमा मेला गर्नेहरु संघको संस्थापन पक्षका जुत्ताचप्पल उत्पादक चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन्,’ ती उत्पादकले भने, ‘तर सानो चौरमा मेला गर्नेहरुलाई चाहिँ उनीहरु विक्रिति भित्र्याएको आरोप लगाउँछन् ।’

संघका उपाध्यक्ष तथा मेलाका संयोजक सुरज बन्जाडेले भने मेलामा सहभागी हुन कसैलाई रोकतोक नरहेको बताए । हामीले यो आर्थिक बर्षको दोस्रो मेला गर्दैछौं, उनले भने, हामी विधान अनुसार नै गएका छौं । अबको साधारणसभाबाट बर्षको दुई पटक मेला गर्ने प्रावधान हटाउने प्रस्ताव लैजाँदैछौं । त्यसपछि चाहनेले बर्षैभरि मेला गर्न सक्ने उनले बताए ।

उक्त स्रोतका अनुसार यसअघि संघले लगाउने मेलामा सबै जुत्ताचप्पल उत्पादकलाई समेट्नु पर्ने भएकाले टाइटल स्पोन्सर कसैलाई नदिने निर्णय कार्यसमितिले पारित गरेको थियो । ‘जुत्ताचप्पल मेला गर्नुअघि सदस्यहरुको भेला आयोजना गरेर टाइटल स्पोन्सर कसैलाई दिने नदिने निर्णय गरिन्थ्यो,’ संघका एक सदस्यले भने, ‘अहिले आएर त्यसलाई मिच्दै केही पदाधिकारीले अबैध निर्णय गरेर २१ गतेदेखि हुने मेलाको टाइटल स्पोन्सर किरण सुज मेनुफेक्चररको गोल्डस्टार सुजलाई दिइएको छ ।’ आफ्नै निर्णय मिच्ने संघको यो कदमको पनि सबैतिर विरोध भइरहेको छ । तर सुरुआतदेखि नै मेलामा सहभागिता जनाउँदै आएका चर्चित जुत्ताचप्पल ब्राण्डका उत्पादकहरुले टाइटल स्पोन्सर माग्दा भने संघले सबैलाई समेटेर जाने भन्दै टाइटल स्पोन्सर दिन इन्कार गर्दै आएको थियो ।

जुत्ता मेलामा प्रतिस्पर्धा गर्न एफम्यान स्वयम लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा नीति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ, एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने, उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । ‘यसमा एफम्यान आफैले लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन्,’ ती उत्पादनकले भने, ‘ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु ? आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि ।’

तर एफम्यानका अध्यक्ष नानीराज घिमिरे भने अहिले केही स्वार्थ समुहले संघको विषयमा अनावश्यक हल्ला फैल्याउने काम भैरहेको बताउँछन् । ‘हामीले सबै साथीहरुलाई समेटेर लैजान धेरै पहल गर्यौ तर केही साथीहरुको व्यक्तिगत स्वार्थका कारण सम्भव भैरहेको छैन,’ उनले भने, ‘मेलामा स्पोन्सर बस्नका लागि पनि शिखर सु लगायतलाई आग्रह गरेका थियो तर उहाँले नै अहिलेको अवस्थामा सक्दिन भनेर भन्नु भयो ।’ तसर्थ अहिले संघ वा मेलाको विषयमा जुन खालको अफवाह फैल्याउने काम भएको छ त्यसो सरासर गलत भएको अध्यक्ष घिमिरेको भनाई रहेको छ ।

यसैगरी संघले भृकुटीमण्डपको चउरमा वर्षको दुई पटक मात्रै मेला लगाउने भनेपनि विधानमा वा कुनै लिखित सहमति नगरको उनको भनाई छ । ‘हामीले मौखिक रुपमा चाहि अहिले देखिएको बिकृति रोक्न वर्षमा दुई पटक मात्रै सेल मेला लगाउन भनेर छलफल गरेका थियौं,’ उनले भने, ‘तर केही विरोध गर्ने साथीहरुकै कारण त्यसलाई कार्यान्वनयमा ल्याउन सकिएन ।’

प्रतिक्रिया दिनुहोस्
MBL