Logo

अर्थमन्त्रीमा पौडेलको इन्ट्रीसँगै लगानीकर्ताको मनोविज्ञानमा सुधार : नेप्से ६० अंकले बढ्दा पौने ४ अर्बको कारोबार

अर्थमन्त्रीमा पौडेलको इन्ट्रीसँगै लगानीकर्ताको मनोविज्ञानमा सुधार : नेप्से ६० अंकले बढ्दा पौने ४ अर्बको कारोबार



काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै सेयर बजारका लगानीकर्ताको मनोविज्ञानमा उच्च सुधार आएको छ । लामो समयदेखि निरास बनेर बसेका लगानीकर्ताहरु अर्थ मन्त्रीमा पौडेलको पदबहालीसँगै बजारमा प्रवेश गर्न भिड नै लागेको छ ।

लामो समयदेखि गिरावट आएको बजारमा सोमबारबाटै नेप्से परिसुचक र कारोबार रकम दुबैमा सुधार आएको थियो । मंगलबार पनि बजार खुलेसँगै बढ्न सुरु गरेको नेप्से अन्तमा ५९.८७ अंकले बढेर बन्द भएको छ । ‘उच्च रुपमा घटेको बजारमा लगानीकर्ताको मनोविज्ञान विग्रीएको थियो भने जिम्मेवार पदमा बस्ने व्यक्तिले सेयर बजारको विषयमा अनावश्यक टिक्का टिप्पणी गरिदिँदा त्यसले बजारमा प्रवेश गर्ने वातावरणनै बनेको थिएन,’ एक लगानीकर्ताले भने, ‘तर अहिले सेयर बजारमैत्री अर्थ मन्त्री आएकाले हुनसक्छ कुनै सुधारका कामै नभईकन पदबहाली हुँदा मात्रै पनि बजारले गति लिने आशामा लगानीकर्ताहरु बजार प्रवेश गर्न हतारिएका छन् भने सोही अनुरुप बजार पनि बढेको छ ।’

नेप्सेको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेखनीय सुधार आएको छ । लामो समयदेखि १ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भैरहेको बजारमा मंगलबार ३ अर्ब ८८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । लामो समयदेखि आर्थिक मन्दीका कारण लगानीयोग्य रकम नहुँदा बजार सुस्ताएको भनिएपनि वास्तविकतामा लगानीकर्ताको मनोविज्ञानमा असर पर्दा बजारमा उच्च गिराट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘महिनौसम्म १ अर्ब रुपैयाँभन्दा कमको सेयरको कारोबार भैरहेकोमा सोमबार र मंगलबार आश्चर्यजनक रुपमा कारोबार रकम बढेको छ,’ उनले भने, ‘यसलाई आधार मान्ने हो लगानीकर्तासँग पैसा नभएर होइन मनोविज्ञानमा असर परेका कारण बजारबाट बाहिरिएर पर्ख र हेरको अवस्थामा बसेका रहेछन् भन्ने बुझिन्छ ।’

अहिलेको माओवादी नेतृत्वको गठबन्धन सरकारमा एमालेको तर्फबाट अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि एमाले सरकारको समयमा नियुक्त भएकाले अबका दिनमा दुई पक्षबीच काम गर्ने शैली मिल्ने र जसका कारण नीतिगत रुपमा उल्लेखनीय सुधार हुने सम्बद्ध लगानीकर्ताहरुको अपेक्षा रहेको छ । यसैगरी राष्ट्र बैंककै तथ्यांकलाई आधार मान्दा पनि पछिल्लो समय लगानीयोग्य रकम पनि बढ्दै गएको छ । अर्थतन्त्रमा देखिन थालेको सुधार र पूँजी बजारमैत्री अर्थमन्त्रीका कारण लगानीकर्तामा थप ऊर्जा पैदा भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

मंगलबार बजारमा कारोबार भएकामध्ये २०२ कम्पनीको सेयरमुल्य बढ्न पुगेको छ । जसमध्ये ५ कम्पनीको सेयर मूल्यले सर्किट हान्न पुगेको छ । तर उच्च अंकले बढेको बजारमा पनि ८ कम्पनीका लगानीकर्ताले भने गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL