Logo

आइसक्रिमको विकल्प बन्दै फ्रोयो, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने

आइसक्रिमको विकल्प बन्दै फ्रोयो, नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने



काठमाडौं । फ्रोयो (फ्रोजन योगहर्ट) नेपालले नयाँ स्वादसहित मुलुकभर सेवा विस्तार गर्ने भएको छ । ललितपुरको झम्सिखेलबाट सेवा दिइरहेको फ्रोयोले काठमाडौं उपत्यकाका बालुवाटार, ठमेल लगायतका क्षेत्रमा शाखा खोल्ने तथा मुलुकका सबैजसो मुख्य सहरहरुमा सेवा विस्तार गर्ने जनाएको छ ।

उपत्यकामा फ्रोयो नेपालले आफैं शाखा खोल्ने तथा उपत्यकाबाहिर भने फ्रेञ्चाइजमार्फत सेवा विस्तार गर्ने योजना रहेको फ्रोयोका सञ्चालक जोशिला भण्डारीले जानकारी दिइन् । फ्रोयोले हाल १५ प्रकारका स्वादमा सेवा दिइरहेको उल्लेख गर्दै भण्डारीले यसमा चिनी र फ्याट मिसावट नगरिएका कारण सबैखाले उपभोक्तालाई उपयुक्त हुने बताइन् । ‘स्वास्थ्यप्रति सजग व्यक्तिहरुका लागि फ्रोयो निकै लाभदायी छ, यो जुनसुकै उमेरका व्यक्तिहरुले खान सक्नुहुन्छ,’ उनले भनिन् ।

विकसित मुलुकहरुमा फ्रोयोलाई आइसक्रिमको विकल्पका रुपमा पनि लिइन्छ । आइसक्रिममा चिनीको मात्रा बढी हुने भए पनि फ्रोयोमा चिनी मिसावट गरिँदैन । भण्डारीका अनुसार फ्रोयो विशिष्ट प्रकारले तयार गरिएको फ्रोजन दही हो । ‘यसको विशेषता भनेकै ‘लो फ्याट, लो सुगर’ हो र यो पूर्णतः भेज पनि हो,’ उनले भनिन्, ‘फ्रोयो मूलतः स्वास्थ्यप्रति सजग व्यक्तिहरुले नै खाने हो, यसको कुनै साइड इफेक्ट हुँदैन बरु यसले पाचन शक्ति सबल बनाउँछ ।

नेपालमा फ्रोयो एक दशकअघि नै भित्रिसके पनि कोभिड महामारीका बेला उपत्यकाका दुईसहित पोखरालगायतका क्षेत्रका आउटलेट बन्द भएका थिए । कोभिड असर कम हुँदै गएको र पर्यटकीय चहलपहल बढ्दै गएका कारण कम्पनीले यसको सेवामा आक्रामक ढंगले विस्तार गर्ने योजना अघि सारेको छ ।

फ्रोयोले दूध र दही नेपाली नै प्रयोग हुने जनाएको छ । फ्रोयोमा १८० रुपैयाँदेखि ९ सय रुपैयाँका फेमिली प्याक फ्लफी बबल वाफल उपलब्ध रहेका छन् । हाल यी परिकारहरु आँप, लिची, स्ट्रबेरीलगायत विभिन्न १५ फ्लेबरमा उपलब्ध रहेको जनाइएको छ । यसमा विभिन्न फलफूलसहित सर्भ गरिने भएकाले स्वादिलो तथा स्वस्थकर रहेको सञ्चालक भण्डारी बताउँँछिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL