Logo

आइएमईको २२ बर्षे यात्रा : एउटा कोठाबाट सुरु भएको कम्पनी ४० हजारलाई रोजगारी दिने स्थितिमा

आइएमईको २२ बर्षे यात्रा : एउटा कोठाबाट सुरु भएको कम्पनी ४० हजारलाई रोजगारी दिने स्थितिमा



काठमाडौं । आइएमई ग्रुपले आईतबार आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सव मनायो । काठमाडौंमा आयोजना गरिएको वर्षिकोत्सव समारोहमा रेमिट्यान्स विज्ञदेखि अर्थमन्त्रीसम्मको उपस्थिति थियो ।

laxmi

कार्यक्रममा सबैले पछिल्लो समय बढिरहेको रेमिट्यान्सलाई उत्पादकत्वतिर लगाउन सुझाव दिए । कार्यक्रममा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले लामो समयदेखिको चुनौतीका बावजुद पनि आइएमई लिमिटेडलाई यो अवस्थासम्म पुर्याएको बताए । ढकालले एउटा कोठाबाट शुरु भएको आइएमई ग्रुपले ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने स्थितिमा आइपुगेको जानकारी दिएका थिए । उनले बजेटमा आएका बिषयहरु कार्यान्वयनमा जाने हो भने देशको आर्थिक गतिविधि बढ्ने सुझाव दिए ।

उनले अबका दिनमा विदेशबाट नेपाली श्रमिकहरुले पठाएको पैसा उत्पादकत्वतिर लगाउने वातावरण बनाउने गरी काम गर्नै बताए । ‘हामीले धेरै चुनौती पार गर्दै यो अवस्थासम्म आईपुगेका छौं,’ उनले भने, ‘अब विदेशबाट नेपाली दाजुभाईहरुले पठाएको पैसा राष्ट्र हितका लागि लगानी गर्ने गरी काम गर्नेछौं ।’

यस्तै कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पनि अब विप्रेषणलाई वैधानिक च्यानलबाट ल्याउने प्रक्रियासँगै उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै उनले विदेशमा गएका नेपाली श्रमिकहरुलाई वैधानिक च्यानलबाट नेपालमा पैसा भित्र्याउन उत्साहित गर्नेरी बजेटले नै धेरै व्यवस्थाहरु गरिदिएको बताए ।

उनका अनुसार रेमिट्यान्समा अन्यको तुलनामा १ प्रतिशत बढी व्याज प्रदान गर्ने, रेमिट्यान्समा सहुलियत दिनेलगायतका व्यवस्था बजेटमार्फत नै गरिएको छ । जसका कारण हुण्डीमार्फत हुने कारोबार निरुत्साहित हुने र वैधानिक च्यानलबाट रेमिट्यान्स भित्रिने उनको भनाई छ । तर, यसरी आएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाई रोजगारीको वृद्धि गर्नुपर्नेमा उनका पनि जोड थियो ।

यस्तै अर्थसचिव मुधुकुमार मरासिनीले पनि रेमिट्यान्सकै कारण नेपाली अर्थतन्त्र सबल बनाउनुपर्नेमा जोड दिनुपर्ने बताए । उनका अनुसार विदेशबाट आएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी नेपालमा रहेका अन्य युवाहरुलाई नेपालमै रोजगारीको सिर्जना गर्नुपर्नेमा उनको जोड थियो ।

उनले अब विदेशमा बस्ने नेपालीलाई दिएको डलरखाता खोल्न पाईने सुविधाको प्रचार गर्नुपर्ने, रेमिट्यान्स वैधानिक च्यानलबाट प्राप्त गर्नका लागि जारी गरिएको बचतपत्रको सदुपयोग गर्नुपर्नेलगायतका बिषयको प्रचार गर्नुपर्ने उनले बताए । यस्तै उनले विदेशबाट आएको पैसा नेपालमै रोक्नका लागि निजी क्षेत्र र सरकारको सहकार्यमा उत्पादनमुलक क्षेत्रका उद्योगहरुको क्षमता वृद्धि वा नयाँ उद्योग स्थापनामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा श्रम सचिव एकनारायण् अर्यालले धेरै देशहरुसँग नेपाल पठाउने रेमिट्यान्स फर्मल च्यानलबाट मात्रै पठाउने व्यवस्था गरिदिन सम्झौता गर्न लागेको बताए । यस्तो हुँदा विदेशबाट आउन सबै रेमिट्यानस वैधानीक च्यानलबाट मात्रै आउने उनको विश्वास छ । यस्तै उनले विदेशका कुनै पनि ५ हजार बढी नेपाली कामदार भएको क्षेत्रमा आइएमईको युनिट स्थापना गर्न आग्रहसमेत गरेका छन् ।

यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नेपाली अर्थतन्त्रको मेरुदण्ड नै रेमिट्यान्स भएकाले यसलाई उचित सदुपयोग गर्नुपर्नेमा जोड दिए । उनले आइएमईलाई वैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन सहयोग गरेकोमा धन्यवाद दिँदै अब यसको सदुपयोगमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा गैर आवासीय नेपाल संघ ९एनआरएनए०का अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगार कल्याणकारी कोषमा राज्यले पनि केहि सहयोग गर्नुपर्ने बताए । उनले रेमिट्यान्स भित्र्याउन सहयोग पुग्ने र राज्यलाई पनि सजिलो हुने भन्दै यस्तो बेलामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले डलर खाता खोल्नका लागि विदेशका बैंकहरुमा नेपालको अप्सन नहुने हुनाले यसको व्यवस्था गरिदिन पहल गर्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष डा राजेशकाजी श्रेष्ठले रेमिट्यान्स पठाउनेलाई अनुदान दिनुपर्ने, हुण्डी कारोबारीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेका थिए । उनले रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै वैधानिक च्यानलबाट मात्रै ल्याउने गरी काम गरी उत्पादकत्वमा ध्यान दिनुपर्ने बताए । उनका अनुसार पछिल्लो समय गाउँका कुना कुनामा हुण्डी कारोबारीहरु पसेजस्तै आइएमई पनि गाउँका कुना कुनामा पुग्नुपर्ने छ ।

यस्तै आइएमई लिमिटेडका निर्देशक सुमन पोख्रेलले आगामी १० बर्षसम्म पनि रेमिट्यान्सको आप्रवाह यहि रुपमा हुने भएकाले अब रेमिट्यान्सलाई उचित क्षेत्रमा लगानी गर्नतर्फ जोड दिनुपर्ने बताए । यहि योजना अनुरुप आइएमई ग्रुपले महिला उद्यमशिलता, बीमासँग जोड्नेलगायतका कामहरु अघि बढिसकेको बताए ।

हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । आफ्नो स्थापनादेखि नै रेमिटान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL