Logo

गेटवे पेमेन्ट सर्भिस र भारतको एनपीसीआईबीच सम्झौता, अब भारतीय भुक्तानी एपबाट नेपालमा पैसा पठाउन सकिने

गेटवे पेमेन्ट सर्भिस र भारतको एनपीसीआईबीच सम्झौता, अब भारतीय भुक्तानी एपबाट नेपालमा पैसा पठाउन सकिने



काठमाडौं । नेपालमा पेटीएम र गुगल पे जस्ता डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने गरी एक सम्झौता भएको छ । नेपाल स्थित गेटवे पेमेन्ट सर्भिस प्रालि र भारतको एनपीसीआई इन्टरनेशनल तथा मनम इन्फोटेकबीच सम्झौता भएको हो । यसपश्चात युनिफाइड पेमेन्ट इन्टरफेस नेपालमार्फत यस्तो सेवा सञ्चालनमा आउने भएको हो ।

उक्त सम्झौतासँगै अब दुई देशका विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायकबीच विद्युतीय भुक्तानी सेवाप्रदायकबीच अन्तरआवद्ध भुक्तानी सञ्जाल सञ्चालनमा आउने बाटो खुलेको हो ।
सम्झौतामा कम्पनीका अध्यक्ष कमलनाथ प्रधान, भारत स्थित युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) तथा भारतीय रिजर्व बैंकले प्रवर्द्धन गरेको एनपीसीआई इन्टरनेसनलका सीईओ रितेश शुक्ला, र भारतीय फिनटेक कम्पनी इन्फोटेकका निर्देशक नागाबाबु रामिनेनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यससँगै भारतमा प्रचलनमा रहेका पेटीएम, गुगल पे, फोनपे, भारत पे लगायतका डिजिटल वालेटबाट नेपाल स्थिति कुनै पनि बैंक खाता तथा डिजिटल वालेटको खातामा तुरुन्तै रकमान्तर गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यो सेवा सञ्चालनमा आएपश्चात भारतीय नागरिक तथा भारतमा रहेका नेपाली नागरिक नेपाल आउँदा गुगल पे, पेटीएम, फोन पे, भारत पे जस्ता वालेटबाट नेपाल स्थित फोन पे तथा अन्य क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै नेपाली नागरिकहरू भारत यात्रामा जाँदा नेपाल स्थित ई–सेवा, खल्ती, आईएमई पे जस्ता वालेट र मोबाइल बैंकिङमार्फ त्यहाँका क्यूआर कोडमा स्क्यान गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तर्राष्ट्रिय (क्रश–बोर्डर’ कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत लिइसकेको कम्पनीले जानकारी दिएको छ ।
हाल नेपाल एसबीआई र एभरेस्ट बैंकका ग्राहकले आफ्नो एटीएम कार्ड नेपाल भारत दुवै मुलुकमा प्रयोग गरी रकम झिक्न सक्ने सुविधा रहेको छ । तर अनलाइन भुक्तानी तथा डिजिटल वालेटमा यो नै पहिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL