Logo

घट्दो बजारमा लगानीकर्ता माथि मार्जिन कलको प्रेसर : बैंकले कर्जा दिन छाडे, ब्रोकरले शुन्यमा झारे लिमिट

घट्दो बजारमा लगानीकर्ता माथि मार्जिन कलको प्रेसर : बैंकले कर्जा दिन छाडे, ब्रोकरले शुन्यमा झारे लिमिट



काठमाडौं । पछिल्लो समय लगातार गिरावट आएको सेयर बजारमा लगानीकर्ता माथि मार्जिन कलको दबाब आउन थालेको छ । कुनै पनि कम्पनीको सेयर मुल्यमा २० प्रतिशतभन्दा बढीले गिरावट आउँदा मार्जिन कल गर्न पाउने व्यवस्था हुँदा हाल समग्र नेप्से परिसुचकनै २५ प्रतिशतभन्दा बढीले घटिसकेको अवस्थामा मार्जिन कलको प्रेसर आउन थालेको समग्र लगानीकर्ताहरु बताउँछन् ।

हाल कतिपय कम्पनीको बोनस सेयर पश्चात मुल्य समायोजना हुँदा मुल्य घट्न पुगेको र धेरैजसो कम्पनीको सेयर मुल्यनै ३० प्रतिशतभन्दा बढीले गिरावट आएका कारण बैंकहरुले लगानीकर्ताहरु माथि मार्जिन कलको दबाब दिन थालेका हुन् । ‘पछिल्लो समय दैनिकजसो पोर्टफोलियो घटिरहेका छन् यहि बेलामा बैंकले पनि मार्जिन कलको लागि फोन गरेर दैनिक जसो दबाब दिन थालेका छन्,’ एक लगानीकर्ताले भने, ‘अहिलको अबस्थामा तरलता अभावका कारण बैंकले कर्जा दिएका छैनन् भने सेयर मुल्यमा धेरैनै गिरावट आएका कारण बिक्री गरेर बजारबाट निष्कन पनि निकै कठिन भैरहेको छ ।’ बजार उच्च बढेको समयमा ३२२७ पुगेको नेप्से परिसुचक हाल घटेर २४४८ मा झरिसकेको छ ।

तरलता अभावका कारण लगानीकर्ताले आफुसँग भएको सेयर समेत धितो राखेर कर्जा लिन नपाएका कारण अहिले बजार थप पेनिक बन्दै गएको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले बैंकले पहिला मार्जिन लेण्डिङ गरेको सेयरको दैनिकजसो फोन गरेर मार्जिन कल गरिरहेका छन् तर आफुसँग भएको थप सेयर राखेर अरु पैसा देउ भन्दा पैसा नभएको भन्दै दिन मान्दैनन्,’ एक ठूला लगानीकर्ताले भने, ‘पछिल्लो समय आफुसँग भएको सेयर सस्तो मुल्यमै भएपनि बिक्री गर्न खोज्दा खरिद गर्ने लगानीकर्ता समेत भेटिन छाडेका छन् ।’

बैंकले कर्जा दिन छाडे, ब्रोकरले शुन्यमा झारे लिमिट

पछिल्लो समय बैंकले चरम तरलता अभाव भएको भन्दै सेयर धितो कर्जा प्रबाह ठप्पनै पारेका छन् । हाल बैंकहरुले राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा समेत कर्जा प्रबाह गर्न नसकेको भन्दै केही महिना यता सबै बैंकले मार्जिन कर्जा रोकेका छन् । साथै पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा तथा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेनै उत्पादनमुलक क्षेत्रमा मात्रै कर्जा प्रबाह गर्नुपर्ने बताईरहँदा बैंकहरुले सेयर धितो कर्जालाई रोकेका छन् ।

यस अघि बैंकहरुले जथाभावी कर्जा प्रबाह गरेको भन्दै राष्ट्र बैंकले समेत अबका दिनमा कर्जा प्रबाह गरेको छ । हाल लगानीकर्ताको पोर्टफोलियोमा ४० प्रतिशतसम्म गिरावट आएको र आफुसँग भएको सम्पती धितोमा राखेर थप कर्जा समेत लिन नपाएका कारण लगानीकर्ताहरु तनावमा देखिएका छन् ।

साथै पछिल्लो समय ब्रोकरले समेत सेयर किन्नका लागि दिँदै आएका लिमिट सुविधा रोकिदिएका कारण लगानीकर्ताहरु थप सेयर किन्न नसक्ने अवस्थामा पुगेका छन् । बजार बढिरहेको अवस्थामा ब्रोकरले आफ्नै पैसाबाट लिमिट राखिदिएर सेयर खरिदका लागि सुविधा दिँदै आएका थिए । तर पछिल्लो समयको घट्दो बजारमा लगानीकर्ताले रेगुलर रुपमा सेयर किन्न छाडेको र यस अघि सेयर किनेको उधारो समेत नतिरेका कारण लिमिट दिन छाडिएको नेपाल सेयर ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले बताए । ‘जो लगानीकर्ताले रेगुलर सेयर खरिदबिक्री गर्दै आएका छन् र उधारो राखेका छैनन् भने हामीले लिमिट दिईरहेका छौं,’ उनले भने, ‘अन्यथा हामीले लिमिट दिन छाडेका छौं ।’ पछिल्लो समयको घट्दो बजारमा लगानीकर्ताले उधारो नतिरेकै कारण ब्रोकरहरु लिमिट सुविधा हटाउन बाध्य भएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL