Logo

महासंघमा विधान संसोधनको बेमौसमी बाजा, किन मिल्यो पूर्व अध्यक्ष जोशी र मुरारकाको स्वार्थ ?

महासंघमा विधान संसोधनको बेमौसमी बाजा, किन मिल्यो पूर्व अध्यक्ष जोशी र मुरारकाको स्वार्थ ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा हरेक पटक निर्वाचन भएपछि उठ्ने मुख्य एजेन्डा हो विधान संशोधन । महासंघमा निर्वाचित भएर आउने कार्यसमितिले विधानलाई आफू अनुकुल बनाउन सुरुमै विधान संशोधनको एजेन्डालाई अघि सार्ने गरेका छन् । सोही अनुरूप महासंघको अध्यक्षमा शेखर गोल्छा आएसँगै अहिले पनि विधान संशोधन प्रक्रियालाई अघि बढाएका छन् । उनी अध्यक्ष भएसँगै पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा गठित विधान संशोधन समितिले अध्यक्षको प्रत्यक्ष निर्वाचन गराउने वा अहिलेकै मौजुदा व्यवस्थालाई निरन्तरता दिने भन्ने विषयमा महासंघ अन्तरगतका सदस्यहरूलाई  प्रश्नावली नै पठाएर विधान संशोधन प्रक्रिया अघि बढाएका छन् । विशेष उनीहरूले वरिष्ठ अध्यक्ष स्वत अध्यक्ष हुने मौजुदा व्यवस्थालाई हटाउँदै अध्यक्षमा प्रत्यक्ष निर्वाचित  हुनुपर्ने एजेन्डा अघि सार्दै विधान संसोधन प्रक्रिया अघि बढाएका छन् । 

विशेषगरी पूर्व अध्यक्ष एवं विधान संसोधन समितिका संयोजक जोशी, महसंघका पूर्व अध्यक्ष पद्य ज्योति तथा पूर्व अध्यक्ष पशुपति मुरारकाको जोडबलमा महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थालाई खारेज गरी अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने व्यवस्था ल्याउन लागि परेका महासंघ स्रोतले बताएको छ । महासंघको गतवर्ष सम्पन्न निर्वाचनमा पूर्व अध्यक्ष कुशकुमार जोशी र अध्यक्ष शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान जिताउन लागेका थिए भने पूर्व अध्यक्ष ज्योति र मुरारका एसोसिएट्स उपाध्यक्षमा शौरभ ज्योतिलाई जिताउन लागेका थिए । तर निर्वाचनको मत परिणाम अनुसार दुबै असफल भए । शौरभ ज्योतिलाई एसोसिएट्स उपाध्यक्षमा जसरी पनि जिताउने त्यसपछि आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनाउने रणनीतिका साथ अघि बढेका मुरारकालाई ज्योतिकै हारसँगै ठूलो धक्का लाग्यो । त्यसलगत्तै मुरारकाले ज्योतिको हार हुनुमा आफ्नै टिमका बस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठ मुख्य दोषी रहेका बताएका थिए । जसका कारण मुरारकालाई आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई अघि सारेर हिड्‌न पनि ज्योतिलाई दिएको धोकाका कारण नैतिक संकट परेको र विधान संसोधन समितिका सभापति जोशीलाई पनि वरिष्ठ उपाध्यक्षमै दुई पटक हार बेहोरेका प्रधानलाई पुनः उठान समस्या पर्ने भएकाले जोशी र मुरारकाकै रणनीति अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने मौजुदा व्यवस्था खारेज गर्दै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था लागू गर्न लागि परेका छन् । 

गत निर्वाचनमा वरिष्ठ स्वतः अध्यक्ष हुने प्रावधानलाई नै निरन्तरता दिन मुरारका र गोल्छा लागि परेका थिए । तत्कालीन समयमा महासंघका विधान संसोधन समितिका अध्यक्ष चण्डीराज ढकाल लगायतले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाएर प्रत्यक्ष निर्वाचन हुने प्रणाली लागू गर्न खोज्दा मुरारकाले ठूलो विरोध गरेका थिए भने सोही विषयलाई लिएर महासंघमा मतभेद समेत भएको थियो । तर अहिले उनै मुरारका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई हटाएर प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा विधान संसोधनका लाग्दा त्यसले स्पष्ट रुपमा स्वार्थ बाझिएको समेत महासंघका अग्रजहरु बताउँछन् ।

महासंघको विधान अनुसार आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुँदैछन् । यदि त्यसपश्चात वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने प्रावधान हटाउन सकेको खण्डमा कार्यसमितिबाट ज्योति र प्रधानमध्ये एक जनालाई वरिष्ठ उपाध्यक्षमा ल्याने खेलमा मुरारका र जोशी लागेको महासंघ सम्बद्ध स्रोतले बताएको छ । अहिलेको व्यवस्था अनुसार अध्यक्ष हुनको लागि वरिष्ठ उपाध्यक्ष हुनै पर्ने व्यवस्था छ । उक्त व्यवस्थाले महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ भैसकेका व्यक्ति पुनः अध्यक्ष पदमा दोहोरिन सक्ने सम्भावना हटेको छ । यदि विधान संसोधन भएमा ज्योतिलाई पनि वरिष्ठ उपाध्यक्ष बनाउन सकिने र पूर्व अध्यक्षहरुले समेत अध्यक्ष पदनमा चुनावमा भाग लिन सक्ने बाटो खुल्ने छ । जसका कारण अहिले पूर्व अध्यक्षहरु वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष हुने व्यवस्था हटाएर प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने व्यवस्था ल्याउन लागि परेका छन् । 

अहिले महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल पक्षमा सदस्य तथा तत्कालीन समयमा शेखर गोल्छा टीमबाट उपाध्यक्ष उठेका अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ पनि अहिलेकै व्यवस्थालाई कायम राख्नुपर्ने पक्षमा देखिएका छन् । निजी क्षेत्रहरुको छाता संगठनहरु मध्ये नेपाल उद्योग परिसंघमा सुरुवाती चरणदेखि नै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुँदै आएका छन् । यसैगरी नेपाल चेम्बर अफ कमर्सले पनि वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था लागू गरेको छ । वरिष्ठ स्वत अध्यक्ष हुँदा संस्था संचालनमा राम्रो ज्ञान हुने र निर्वाचनको धङधगीले गुट उपगुट पैदा भएर अध्यक्षलाई संस्था संचालनमा समस्या नहुने उनीहरुको भनाई छ । तर जोशी र मुरारकाले भन्दा महासंघमा विधी र पद्दती भन्दापनि आफ्नो मान्छेलाई जसरी पनि अध्यक्ष बनाउनुपर्ने ध्येयका साथ वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष हुने व्यवस्था खारेजी गर्नुपर्ने अडान लिएर अघि बढेको सम्बद्ध स्रोतको भनाई छ । 

यसैगरी महासंघका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थानै उत्तम रहेको बताउँछन् । ‘अहिले जिल्ला नगदेखि धेरै व्यवसायीहरुले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्थालाई निरन्तरता दिन सुझाव दिएका छन्,’ उनले भने, ‘हामीले महासंघमा कसरी काम गर्न सहज हुन्छ भनेर हेर्ने हो, वरिष्ठलाई स्वतः अध्यक्ष बनाएर जाँदा अध्यक्ष शेखर गोल्छा र आगामी कार्यकालका लागि अध्यक्ष हुने हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राम्रै काम गरिरहनु भएको छ ।’ यो परिपाटीले अध्यक्ष हुने व्यक्तिलाई काम गर्न सजिलो हुनुका साथै संस्था संचालनमा समेत सहज हुने उनको तर्क थियो । तर विधानमा जिल्ला नगरको हकअधिकारको विषयमा भने संसोधन हुनु जरुरी रहेको उनको भनाई थियो । महासंघमा जिल्ला नगरेको मतभार ५० प्रतिशत रहेपनि उनीहरुको हकअधिकार तथा उनीहरूले पाउने अवसर भने ज्यादै न्यून रहेको भन्दै यस विषयमा जिल्ला नगरलाई सशक्त बनाउने गरी विधान संसोधन गरिनुपर्ने उनले बताए ।

यसैगरी हरेक पटक अध्यक्ष चयनको विषयमा विधान संशोधन जरुरी नभएको महासंघको केन्द्रिय सदस्य स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकाल बताउँछन् । ‘कुनै पनि व्यवस्था कार्यान्वयनमा ल्याएपछि कम्तीमा ५/७ कार्यकाल लागू गरिनुपर्छ त्यसपछि भएन भनेमात्रै परिमार्जन गर्ने हो,’ ढकालले भने, ‘तर यहाँ लागू गर्न नपाई पुनः संशोधन गर्न सुरु गरियो जुन दुर्भाग्यपूर्ण छ ।’ साथै विधान संशोधन गरेर जिल्ला नगरबाट २ जना उपाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने ढकालको भनाई छ । अहिले महासंघका जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको र सोही अनुरुप दायरा पनि फराकिलो रहेको भन्दै सोही अनुरुप अधिकार पनि बढि हुनुपर्ने बताउँछन् । यसैगरी उनले महासंघमा बस्तुगततर्फको मतभार बढाएर एसोसिएट्सतर्फको मतभार घटाउनुपर्ने बताए । ‘अहिले महासंघ एसोसिएट्सको ३० र बस्तुगतको २० प्रतिशत मतभार छ,’ उनले भने, ‘तर यसलाई परिमार्जन गरेर कम्तीमा २५/२५ प्रतिशत मतभार बनाइनुपर्छ ।’

देश संघीय संरचनामा गएसँगै महासंघ पनि संघीय संरचनामा गएको छ । जस अनुसार महासंघले पनि प्रादेशिक संरचना गठन गरेको छ । झट्ट हेर्दा प्रदेशस्तरीय महासंघ भएपनि त्यसको हैतियत भने जिल्ला संघहरुको बराबर मात्रै छन् । पछिल्लो समय महासंघलाई संघीय संरचनाहरु अनुरुप प्रदेशलाई पनि अघिकार सम्पन्न बलियो बनाएर लैजानुपर्ने माग भइरहेको अवस्थामा विधान संसोधन समितिले भने आफुअनुलको व्यवस्था निर्माण गर्न अध्यक्षको प्रत्यक्ष निर्वाचन प्रणालीलाई अघि सारेर अन्य मुद्दालाई ओझेलमा पर्ने काम गरेको महासंघ सम्बद्ध जिल्ला नगर अध्यक्षहरु बताउँछन् । विधान संसोधन समितिले साउन २२ गतेसम्मको समयसिमा दिएर विधान संशोधनका लागि ९ बुँदै प्रश्नावली तयार गरेर सुझाव माग गरेको थियो । उक्त सुझावमा धेरैले वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अध्यक्ष हुने व्यवस्था राख्न सुझाव दिएपनि विधान संसोधन समितिले भने आफ्नो स्वार्थ अनुकुल बनाउन प्रत्यक्ष निर्वाचित अध्यक्ष ल्याउने गरी विधान संशोधन प्रस्ताव गर्ने तयारी गरिरहेको बुझिएको छ ।

यदि विधान संसोधन नभई वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था रहेमा ज्योति र प्रधान रेसबाट आउट हुनेछ । सोही अनुरूप आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष अञ्जन श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । अहिले उनीहरुनै आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको चुनाव उठ्न तीव्र लविङमा लागिरहेको महासंघ सम्बद्ध स्रोतले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL