Logo

सेयर बजार क्लब हाउसमा ‘बेरोजगार’ आतंक : टाउकोमा रोग खुट्टाको उपचार, यसरी गर्छन बजारलाई म्यानुपुलेसन !

सेयर बजार क्लब हाउसमा ‘बेरोजगार’ आतंक : टाउकोमा रोग खुट्टाको उपचार, यसरी गर्छन बजारलाई म्यानुपुलेसन !



काठमाडौं । नेपालमा क्लब हाउस संचालनमा आएसँगै बढि चर्चामा आएको दुई ओटा ग्रूप हुन लोक दोहोरी र सेयर बजार सम्बन्धी छलफल । तीमध्येमा पनि क्लब हाउसभित्र समुह अनुसार फरक फरक ग्रूप (घर) छ । जसमा एउटाले मनोरञ्जन दिएर हसाउने काम गर्दै आएको छ भने अर्कोले आफू अनुकुलका सूचना प्रवाह गरेर लगानीकर्तालाई फसाउने काम गरिरहेको छ ।  

क्लब हाउसमा केही समुहले आफुहरु सेयर बजारको अभियन्ता रहेको र बजारको वृद्धि विकास तथा लगानीकर्ताको हितका आफूहरूले उक्त कार्यक्रम संचालन गर्दै आएको बताउँदै आएका छन् । तर पछिल्लो समय उनीहरूको क्रियाकलाप तथा हर्कत हेर्दा बेरोजगार भएका कारण क्लबहाउसमा सीमित स्वार्थ लगानीकर्ताको हितमा सूचना प्रवाह गरेर केही कमाउ धन्दामा लागेको सम्बद्ध लगानीकर्ताहरूको टिप्पणी रहेको छ । ‘अहिले सेयर बजार सम्बन्धी क्लव हाउसमा ग्रुप संचालन गर्ने स्वघोषित अभियन्ताहरूले आफूहरू ठूलो लगानीकर्ता भएको र आफूसँग भएको ज्ञान बाढ्दै बजारको हितका लागि उक्त कार्यक्रम संचालन गर्दै आएको बताएका छन्,’ एक लगानीकर्ताले भने, ‘त्यो उनीहरूले सोझा लगानीकर्तामाथि फालेको सूचनाको पासो मात्रै हो, यदि उनीहरूले बेरोजगार छैनन् र बजारमा कारोबार गर्छन भने कसरी २४ सै घण्टा क्लवहाउसमा छलफलमा आउन सक्छन् ।’

पछिल्लो समय आफूलाई अभियन्ता ठान्ने बेरोजगारहरुको समुहले बजारमा आफु अनुकुलका तथा सीमित स्वार्थ समुहको प्रभावमा सूचना प्रवाह गरेर बजारमा म्यानुपुलेसन गर्दै आएको समेत लगानीकर्ताहरूले आरोप लगाउन थालेका छन् । ‘अहिले सेयर बजार सम्बन्धी ग्रूप चलाउने वा एडमीन भएर बस्ने साथीहरू आफूहरूले सेयर बजारलाई बुझेको र आफूले भने अनुसार बजार अघि बढेको भन्दै आफू अनुकुलका व्यक्तिलाई स्पिकर प्यानलमा राखेर सेयर बजार सम्बन्धी प्रवचन दिन थालेका छन्,’ एक लगानीकर्ताले भने, ‘जहाँसम्म लाग्छ उनीहरूले न त नेपालको सेयर बजार बुझेका छन् न त सेयर बजारलाई आफूले भने अनुसार चलाउन सक्ने हैसियतका लगानीकर्ता नै हुन् ।’ अहिले बजारमा आफूलाई विश्लेषकको रुपमा उभ्याउन र बेरोजगारीका कारण समय बिताउनैका लागि कतिपय व्यक्तिहरू सेयर बजारसम्बन्धी ग्रुप चलाएर लगानीकर्तामाझ सूचनाको पासो थापिरहेको समेत सम्बद्ध लगानीकर्ताहरूको आरोप छ ।

अहिले बजार कतिपय चार्टड एकाउण्टेन्ट, बैंकर तथा नेपालभन्दा बाहिरी देशको बजारको बारेमा जानकार भएका व्यक्तिले बढि विश्लेषण गर्दै आएका छन् । उनीहरुले आफु मात्रै सेयर बजारको बारेमा जानकार रहेको र नेपाली बजारमा कार्यान्वयनमा नआएको टुल्सका विषयमा बढि प्रवचन दिँदै आएको छन् । जुन नेपाली सेयर लगानीकर्तालाई आवश्यक नै छैन । सेयर बजारमा मुख्य खेलाडी आफ्नो अनुभव सेयर गर्न तथा बजारको बारेमा बताउँन क्लब हाउसमै नजाने तर बारको बारेमा व्यवहारिक ज्ञान नै नभएको व्यक्तिले बजारको विश्लेषण र भविष्यको बारेमा बताइरहँदा लगानीकर्ताहरू थप अन्योलता सिर्जना भएको छ ।

नेपाली सेयर बजार फन्डामेन्टल्ली चलेको अवस्थामा मात्रै प्राविधिक विश्लेषकहरूले भनेको कुरा लागू हुन्छ । तर बजारको गति एकातिर विश्लेषकहरूको विश्लेषण अर्कोतर्फ हुँदा लगानीकर्ताहरू थप अन्योलमा परेका छन् । ‘अहिले ग्रूपहरुमा कुनै एउटा व्यक्तिलाई अघि सार्ने र उसलाई समर्थन गर्ने व्यक्तिलाई मात्रै स्पिकरमा राखेर गुनगान गाउने काम भैरहेको छ,’ एक लगानीकर्ताले भने, ‘यतिसम्म कि त्यस्तो व्यक्तिले क्लब हाउसमा यो कम्पनीको सेयर किन, त्यो कम्पनीको सेयर बिक्री गर भनेर भन्ने अनि स्पिकरमा रहेका अन्य व्यक्तिले त्यसैलाई समर्थन गर्दै उनले भनेको सेयर किन्दा म राम्रो नाफामा गए पहिला घाटामा थिए भन्दै सोझा र नवप्रवेसी लगानीकर्तालाई ब्लयाकमेलिङ गर्दै आएका छन् ।’ साथै पछिल्लो समय कतिपयले बजारमा अफबाह फैल्याउन फेक आईडी बनाएर समेत आफु समर्थित स्पिकर खडा गर्न थालेका छन् ।

साथै कतिपय व्यक्तिहरुले सामाजिक संजालमार्फत आफूहरूले आफ्नो लिमिटमा भएसम्मको सेयर खरिद गरेको र अरुलाई पनि सोही अनुरुप सेयर खरिद गर्न उक्साउँदै आएको सम्बद्ध लगानीकर्ताहरूको बताउँछन् । ‘यदि त्यस्ता व्यक्ति साच्चिकै सेयर बजारको राम्रो लगानीकर्ता हो भने उसलाई ब्रोकरले जतिपनि लिमिट दिन्छ सामाजिक संजालमा मेरो टीएमएसको लिमिट सकियो भनेर रोइलो गर्नै पर्दैन,’ एक लगानीकर्ताले भने, ‘त्यो भनेको बजारलाई म्यानुपुलेसन गर्ने एउटा अस्त्र मात्रै हो ।’ साथै कतिपय सेयर ग्रूप संचालन गर्नेले अडियन्सलाई कुन विषयमा प्रभाव पार्ने सो विषयमा स्पिकर प्यानलमा बस्नेहरुबीच छलफल गरेर समेत कार्यक्रम संचालन गर्न थालेको समेत सम्बद्ध सरोकारवालाहरुको आरोप छ ।  

बजारको सामान्य सिद्धान्तलाई पछ््याउने हो भने बजारको घटबढनै उसको सुन्दरता हो । विश्वका कुनै पनि सेयर बजार न त बढिरहेका छन् न त घटिमात्रै रहेका छन् । विशेषगरी सेयर बजारमा एक कदम ब्याक र दुई कदम अघिको सिद्धान्त लागू हुँदै माथिल्लो रेखा पार गरिरहेको हुन्छ । तर पछिल्लो समय क्लब हाउसका सेयर बजार सम्बन्धी स्वघोषित अभियन्ताले बजार कहिलै घट्नु हूँदैन, आफूसँग भएको सेयर बिक्री गर्न हुन्न होल्ड गर्नुपर्छ भन्ने जस्ता हल्ला फैल्याएर कमाउ धन्दा चलाउँदै आएका छन् । धितोपत्र ऐन अनुसार पनि बजार कति बढ्छ वा घट्छ, कुन कम्पनीको सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने कुरा सार्वजनिक रुपमा बोल्न पाईदैन । यदि त्यस्ता कार्य गरेमा ऐन अनुसार त्यस्ता कार्य गर्नेलाई ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्ष कैद वा दुबै सजाय हुने छ । साथै त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्छ ।

पछिल्लो समय क्लब हाउसमार्फत कानुनले नै बन्देज लगाएको विषयमा खुलेआम गैर कानूनी क्रियाकलाप भैरहेको र धितोपत्र बोर्डले यसलाई तुरुन्तै नरोक्ने हो भने लाखौ लगानीकर्ताहरू फस्ने सम्भावना उच्च रहेको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । सेयर बजारमा भैरहेको गैर कानूनी क्रियाकलाप रोक्न अधिकार धितोपत्र बोर्डसँग भएपनि बोर्डले सो विषयमा चासो नदिँदा समस्या उत्पन्न भएको लगानीकर्ताहरूको गुनासो छ । ‘केही समय अघि बोर्डले सामाजिक संजालमार्फत सेयर बजारलाई प्रभाव पार्ने सूचना तथा कुनै अफवाह फैल्याएमा कारबाही गर्ने भन्दै सूचना निकाल्यो भने विभिन्न ५१ ओटा कम्पनीमा इन्साईडर ट्रेडिङ तथा कर्नरिङ भएको भन्दै सूची नै प्रकाशित गर्यो, बजारमा भइरहेको गलत क्रियाकलाप रोक्न जुन कार्य एकदमै ठिक थियो,’ ती लगानीकर्ताले भने, ‘बोर्डले एक पटक सूचना निकाल्यो तर त्यसलाई कार्यान्वयनमा ल्याउन चासो नै दिएन ।’ नियामक निकायले आफ्नो अधिकार प्रयोग गर्दै बजारमा भइरहेका गलत क्रियाकलाप रोक्नलाई चासो नदिँदा बजारमा बिकृति मौलाएको समेत सम्बद्ध लगानीकर्ताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL