Logo

निषेधाज्ञा खुकुलो भएपनि लाइसेन्सको आवेदन र ट्रायल हुने मिति अझै अनिश्चित, विभाग भन्छ-‘विद्यालय कलेज खुलेको खै ?’

निषेधाज्ञा खुकुलो भएपनि लाइसेन्सको आवेदन र ट्रायल हुने मिति अझै अनिश्चित, विभाग भन्छ-‘विद्यालय कलेज खुलेको खै ?’



काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन र ट्रायल कहिले खुल्ने निश्चित नभएको बताएको छ । यसअघि विद्यालय, कलेजको पठनपाठन र परिक्षाहरु संचालन नहुँदासम्म नखोल्ने बताएको विभागले अझै यसको मिती अनिश्चित भएको बताएको हो । गत आईतबार बसेको काठमाडौं उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक कक्षाकोठामा २५ जना नबढाई रोकिएका परिक्षा संचालन गर्न अनुमति दिईसकेको छ । विद्यालय तथा कलेजस्तरमा दिईएको यस्तो अनुमति यातायात व्यवस्था कार्यालयहरुमा भने लागु नहुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुषाल बताउँछन् ।

पछिल्लो समय फैलिएको कोरोना महामारी र यसले निम्त्याएको दोस्रो चरणको लकडाउनका कारण पछिल्लो ३ महिनायता विभागबाट हुने सबै कामकारबाहीहरु ठप्प छन् । जसमा लाइसेन्स वितरण, यसको ट्रायल र अनलाईन आवेदन पनि रहेका छन् । निषेधाज्ञाअघि नै करिव ५ लाख बढि सेवाग्राही अनलाईन आवेदन दिएर परिक्षा दिने पालो कुरीरहेका थिए भने ९ लाख बढिले अझै आवेदन भर्ने अनुमान विभागले लगाएको थियो । बीचमा निषेधाज्ञा भएपछि परिक्षाको पालो कुरेका र अनलाईन आवेदन भर्नेहरुले सेवा लिन पाएका छैनन् ।

सिडीओहरुको बैठकले काठमाडौं उपत्यकामा नयाँ निर्णयहरुका साथ जनजिवन खुकुलो पारीसकेपनि लाइसेन्सको आवेदन लिने कामसम्म नखुलेको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् । उनका अनुसार सरकारले लाइसेन्सको परिक्षालाई विद्यालय, कलेजको क्याटागोरीमा राखेकाले विद्यालयहरु पुर्ण रुपमा नखुल्दासम्म यसको ट्रायल पनि खुल्दैन । यस्तै यसको ट्रायल नखुल्दासम्म अनलाईन आवेदन पनि नखुल्ने उनको भनाई छ ।

‘यातायातको लाइसेन्सका लागि आवश्यक पर्ने परिक्षालाई पनि स्कुल, कलेजकै क्याटागोरीमा राखेकाले यी नखुल्दासम्म ट्रायल परिक्षाहरु लिईँदैन,’ उनले भने, ‘यसरी ट्रायल नलिने भएपछि अनलाईन आवेदन पनि लिएर काम छैन, यता आवेदनकर्ता बढ्ने ट्रायल नहुने भएपछि विभागलाई अप्ठ्यारो पर्छ ।’

विभागका अनुसार सिडीओहरुको बैठकले विद्यालय, कलेजको रोकिएका परिक्षाहरु संचालन गर्ने अनुमति दिएपनि विद्यालयहरु खोल्न अनुमति नदिएकाले यो काम रोकिएको हो । अब सिसीएमसीले विद्यालय तथा कलेजहरु खोल्ने निर्णय गरेमा मात्रै अनलाईन आवेदन र ट्रायलहरु सूचारु हुनेछन् ।

विभागका अनुसार निषेधाज्ञा अघि लाइसेन्सका लागि ५ लाख बढिले अनलाईनमार्फत आवेदन दिएका छन् । त्यसमध्ये कतिपयको कार्यालय भिजिट गर्ने पालो भने निषेधाज्ञाकै बीचमा परेको छ । यस्ता आवेदकको पालो निषेधाज्ञासमय भर धकेलिनेसमेत विभागका महानिर्देशक घिकिरेले बिजखबरलाई जानकारी दिए । उनका अनुसार यसअघि निषेधाज्ञामा पालो परेका आवेदकलाई पुनः आवेदन दिनुपर्ने निर्णय भएपनि यसलाई सच्चयाएर पुनः दुख नदिनेगरी बरु समय फेरबदल गर्ने निर्णय भएको उनले बताएका हुन् ।

पहिलो चरणका लकडाउनपश्चात जतिपनि आवेदकले आवेदन दिने पाईने व्यवस्था गरेको विभागमा एकैचोटी धेरै आवेदन पर्दा सेवाग्राहीको कार्यालय भिजिट गर्ने मिती १ बर्ष पछिसम्म पनि परेको छ । सोही अनुसार अब आवेदन दिएका सेवाग्राहीको पालो धकेलिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL