Logo

धितोपत्र बोर्डले ल्यायो कमोडिटी बजार सञ्चालन निर्देशिका, तोकियो चुक्ता पुँजीदेखि संचालकको योग्यतासम्म (निर्देशिका सहित)

धितोपत्र बोर्डले ल्यायो कमोडिटी बजार सञ्चालन निर्देशिका, तोकियो चुक्ता पुँजीदेखि संचालकको योग्यतासम्म (निर्देशिका सहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वस्तु विनिमय बजार सञ्चालन निर्देशिका जारी गरेको छ । बोर्डले यहि असार १५ (आज) देखि लागू हुने गरी ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको हो । 

laxmi

नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्था बमोजिम उक्त निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ । 

निर्देशिका अनुसार कारोबार गरिने वस्तुका आधारमा वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको कोरोबारको आधारमा न्यूनतम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ २ अर्ब रुपैयाँ तोकिएको छ । जस अनुरुप वस्तु विनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ) र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्न १ अर्ब ५० करोड चुक्ता पुँजी र वस्तु विनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ) र (च) मा तोकिएका वस्तुहरुको कारोबार गर्नको लागि २ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने छ । 

त्यसैगरी, बजार सञ्चालन गर्ने संस्थाको संस्थापकहरुले न्यूनतम ५१ प्रतिशत र बढीमा शतप्रतिशत सेयर लगानी गर्ने प्रस्ताव गरी निवेदन दिनुपर्नेछ । प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्ता पुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्नेछ । साथै वस्तु विनिमय बजारको सेयर सम्बन्धी व्यवस्था अनुरुप कसैले पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशत भन्दा बढी सेयर लिन पाउने छैन 

निर्देशिकामा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालन गर्न आवश्यक पर्ने चुक्ता पुँजी, सेयर संरचना, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता, कारोबार गर्न पाउने वस्तुको सूची लगायतका विषयहरू समेत समावेश गरिएको छ । 


निर्देशिकामा सञ्चालक सम्बन्धी व्यवस्था तथा संचालकहरुको योग्ता समेत तोकिएको छ । जस अनुसार कम्तीमा दुई जना स्वतन्त्र सञ्चालक सहित बढीमा सात जनाको सञ्चालक समिति रहनेछन । निर्देशिका अनुसार संचालक बन्न अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको भएको हुनुपर्ने छ । साथै ३५ वर्ष उमेर पूरा गरेको व्यक्ति मात्रै संचालक बन्न योग्य ठहरिने छ ।

‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
MBL