Logo

निषेधाज्ञाकै बीच उकालो लाग्दै सुनको मूल्य, व्यवसायी भन्छन्-‘यो लगानी गर्ने उचित समय हो’

निषेधाज्ञाकै बीच उकालो लाग्दै सुनको मूल्य, व्यवसायी भन्छन्-‘यो लगानी गर्ने उचित समय हो’



काठमाडौं । गत बैशाख १६ गतेदेखि घोषणा गरिएको निषेधाज्ञाका कारण हाल नेपालको सुन बजार बन्द छ । यस्तै विदेशबाट आयात हुने सुनको आयात ठप्प छ भने नेपाली बजारमा विक्रीवितरण पनि शून्यको अवस्थामा छ । तर, नेपाल सुनचाँदी व्यवसायी महासंघले नियमित रुपमा सुनको मूल्य निर्धारण र प्रकाशन भने गरिरहेकै छ । संघले बुधबार निर्धारण गरेको सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ छ । जुन निषेधाज्ञा सुरु भएको दिनको तुलनामा ३ हजार २ सय रुपैयाँले बढी हो ।

गत बैशाख १६ गते नेपाली बजारमा सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तर, यसबीचमा नेपाली बजारमा सुनको मूल्य कहिले अस्वभाविक रुपमा १ हजारदेखि १५ सय रुपैयाँसम्म बढ्ने र घट्ने भइरहेको छ । विश्वबजारमा नै सुनको मूल्यमा कोरोनालगायतका असरका कारण लगातार मूल्यवृद्धि भईरहेको महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार हाल विश्व बजार नै सुनको फेभरमा छ । अर्थात सुनको बजार पछिल्लो समय विस्तार भईरहेको कारण र यसमा लगानी गर्नेहरु बढेका कारण यसको मूल्यको जग बलियो भएको उनको बुझाई छ ।

विश्वबजारमा बुधबार सुनको मूल्य प्रतिा औंस १ हजार ८ सय ९३ डलर पुगेको छ । यसअघि सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा गत अगस्ट ४ मा हालसम्मकै धेरै २ हजार ३६ डलर प्रतिऔंस पुगेको थियो । सोही बेला नेपालमा पनि सुनको मूल्य बढेर प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछिका दिनमा लगातार घटेर ८५ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य पुनः भइरहेको छ ।

यसपछि पनि विश्वबजारमा मूल्य र ट्रेन्डलाई हेर्दा नेपाली बजारमा सुनको मूल्यले वुलिस ट्रेन्ड समातेको अध्यक्ष शाक्य बताउँछन् । तसर्थ पछिल्लो समय सुनमा लगानी गरे फाईदा कमाउन सकिने प्रशस्तै सम्भावना रहेको उनी बताउँछन् । नेपालमा सुनमा लगानी गर्ने वातावरण नभएकाले लगानी गर्नेतर्फ भन्दा पनि गहना किन्ने ग्राहक बढी छन् ।

सुनसँग सम्बन्धित व्यवसायी, सरोकारवालाहरुले नेपालमा पनि ‘गोल्ड एक्सचेन्ज’को माग गरिरहेको भएपनि सोहीअनुसार सरकारले भने ध्यान दिएको देखिँदैन । भारत, चीनलगायत देशमा सुनमा लगानी गर्नलाई मात्रै गोल्ड एक्सचेन्जको सुविधा भएपनि सो अवधारणा हालसम्म नेपाल शुरु भएको छैन् । त्यसैले पनि नेपालमा लगानीको हिसावले भन्दा पनि गरगहनाकै माध्यमबाट सुनमा लगानी गर्नेहरु बढ्दै छन् । तर, नेपाली बजारमा पनि गोल्ड एक्सचेन्जको अभाव खड्किरहेको अध्यक्ष शाक्यले बताए ।

गहनाको माध्यमबाट सुनमा लगानी गर्ने विकल्प नेपालमा भएपनि ग्राहकले माग गरेजति गहना दिन नसकिने अवस्था व्यवसायीहरुको छ । अर्थात सरकारले सुनको कोटा कम तोक्दा मागअनुसार विदेशबाट सुन आयात हुन सकेको छैन । सिजनको समयमा प्रतिदिन ३० देखि ३५ किलो सुन नेपाली बजारमा खपत हुन्छ । तर, सरकारले प्रतिदिन २० किलो मात्रै ल्याउन दिने व्यवस्था गरेपछि कुनै ग्राहकले एकैपटक ५ तोला भन्दा बढी सुन किन्न खोजे दिन नसकिने अवस्था रहेको अध्यक्ष शाक्यले बताए । शाक्यका अनुसार खपत बढी तर, आपुर्ति कम भएपछि बजारमा कालोबजारी मौलाएको छ । जसका कारण कतिपय अवस्थामा उपभोक्ताले निर्धारित मूल्यभन्दा बढी पैसा तिरेर सुन खरीद गनुपर्ने बाध्यता पनि पर्ने गरेको छ । सुन व्यवसायीहरुले सिजनमा प्रतिदिन ३० देखि ४० किलो र अफसिजनमा १० किलो सुन खपत हुने भएकाले आयात कोटा पनि त्यही अनुसार निर्धारण गर्न माग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL