Logo

न्यूयोर्कलाई पछि पार्दै हङकङ् बन्यो धेरै धनीहरु भएको सहर

न्यूयोर्कलाई पछि पार्दै हङकङ् बन्यो धेरै धनीहरु भएको सहर



चीनको विशेष प्रशासनिक क्षेत्रको रुपमा रहेको हङकङ् विश्वमा सबैभन्दा धेरै धनीहरु बस्ने सहरको रुपमा पहिलो स्थानमा परेको छ । यसअघि यो सूचीमा नियमित पहिलो स्थानमा रहेको न्यूयोर्कलाई पछि पार्दै हङकङ धनीहरुको सहर बनेको हो ।

विश्वका धनी व्यक्ति बस्ने ठाउँको सुची तयार गर्ने वेल्थ एक्सले सार्वजनिक गरेको सन् २०१७ को ‘वर्ल्ड अल्ट्रा हेल्थ’ प्रतिवेदनले हङकङ्लाई पहिलो स्थानमा दर्ज गरेको हो । प्रतिवेदन अनुसार विश्वभर करिब तीन अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति भएका व्यक्तिको सङ्ख्या दुई लाख ५५ हजार ८ सय १० पुगेको छ । त्यसमध्य हङकङ्मा मात्रै १० हजारभन्दा बढी व्यक्ति रहेका छन् । दोस्रो स्थानमा रहेको न्यूयोर्कमा यस्तो सम्पत्ति रहेका व्यक्तिको सङ्ख्या ८ हजार ९ सय छ ।

प्रतिवेदनले विश्वमा सम्पत्ति आर्जनको प्रवृत्ति अमेरिकाबाट एसियातर्फ स्थानान्तरण भएको पनि देखाएको छ । विश्वका १९ प्रतिशत धनी व्यक्ति एसियामै रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका र चीनको मात्रै सङ्ख्यात्मक हिसाबले भने अमेरिका चीनभन्दा निकै अगाडी छ । अमेरिकामा कुल ८० हजार व्यक्तिसँग तीन अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति छ भने चीनमा यस्तो सङ्ख्या केवल १७ हजार मात्रै छ । यद्यपी पछिल्ला वर्षमा अमेरिकामा यस्तो वृद्धिदर भने निकै कम हुँदै गएको छ ।

सेयर बजारमा तीव्र उछाल र चीनको अर्थतन्त्रसँग जोडिने क्रम बढ्दै जाँदा हङकङ्मा धनीको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको छ ।
प्रतिवेदन अनुसार हङकङ् र न्यूयोर्कपछि तेस्रो स्थानमा टोकियो रहेको छ । लस एन्जल्स, पेरिस, लन्डन। सिकागो, सान फ्रान्सिस्को, वासिङ्टन डीसी र ओसाका यो सुचीको क्रमशः चौंथोदेखि दशौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL