Logo

लकडाउन फितलो हुँदा यसरी बढ्दैछ कोरोना संक्रमणको जोखिम : डा. रवीन्द्र पाण्डेको विचार

लकडाउन फितलो हुँदा यसरी बढ्दैछ कोरोना संक्रमणको जोखिम : डा. रवीन्द्र पाण्डेको विचार



काठमाडौं । आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ । डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन । दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी तथा बडीगार्डलाई कोरोना टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ
। आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई बिशेष निर्देशन दिएको छ, लकडाउन खोल्नको लागि ।

छिमेकी देश भारतमा कोरोना संक्रमित बढेकोबढ्यै छन्। सिमानाबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ। भैरहवा लगायतका ठाउँमा भारतबाट कामदार नेपाल आएर निर्माणको काम आज सुरु भएको छ । यो अवस्था सायद नेपालका सबै सिमाबर्ती जिल्लामा सुरु भएको छ ।
सरकारले काठमाडौंबासीको र्यान्डम स्याम्पलको आधारमा न्युनतम ३० हजार जनाको नेगेटिभ रिपोर्ट आएको भए लकडाउन केहि खुकुलो गर्न मिल्ने थियो

सिमाना शिल गरेर तथा सिमाबर्ती प्रत्येक जिल्लामा न्युनतम दश दश हजारको दरले र्यान्डम स्याम्पल गरेर सुरक्षित देखेको भए लकडाउनको मोडालिटी फेर्न मिल्ने थियो । कुनै जांच नगरि, पर्याप्त औषधि र उपकरणको ब्यबस्था नगरि, अन्य कुनै आकस्मिक तयारी नगरि तथा बिज्ञहरुको सल्लाह नलिइ मनगढन्ते रुपमा यसरी लकडाउन खोल्नु सरकारको गैह्रजिम्मेवारी कदम हो ।

अहिलेसम्म लकडाउनले घरभित्र रहेका संक्रमितहरु आजदेखि सडकमा आएका छन् । संक्रमित र स्वस्थ घुलमिल भएका छन् । आजको घटनाले गर्दा भोलिदेखि लकडाउन उल्लङ्घन गर्नेको संख्या ह्वात्तै बढ्नेछ । यस्तो घनाबस्तीमा कोरोना संक्रमण फैलियो भने यो नियन्त्रण गर्न सरकारले सक्ने छैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले लकडाउन नखोल्न सरकारलाई बारम्बार भनिरहेको छ । जुन र जुलाईमा नेपाल तथा भारतमा कोरोना संक्रमण उच्चबिन्दुमा पुग्ने बताएको तथा नेपालमा तीसौं हजार संक्रमित हुनसक्ने बताएको परिप्रेक्ष्यमा लकडाउनमा एकैपटक यो किसिमको लापरबाही हुनु निकै खेदजनक छ । भिजन भएका, देश र जनताको माया भएका, व्यक्तिगत स्वार्थ नभएका बिज्ञहरुको समिति बनाएर यस्ता निर्णय गरेको भए नेपाल जोखिमको मार्गमा जाने थिएन ।

सरकारले बस्तुस्थितिको मुल्यांकन गर्न नसकेपनि हामी जनताले परिस्थिति बुझ्नु जरुरी छ । सहरी क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन हामी जनता जिम्मेवार बन्नुको बिकल्प रहेन । कृपया जरुरी काम बाहेक घरभित्र बस्नुहोला । हाम्रो सानो असावधानीले हामी, हाम्रो परिवार तथा समाज संक्रमित हुनसक्छ अहिल्यै यो स्तरको लकडाउन खोल्ने बेला भएको छैन।

सरकारले न्यून आय भएका बर्गलाई ठोस राहत दिएर लकडाउनलाई ब्यबस्थित गराउन जरुरी छ मानबिय क्षति अपुरणीय हुन्छ । यो तथ्य सरकारले समयमै बुझोस् जनस्वास्थ्यमाथि अल्पदृष्टिको कारण गम्भीर संकट नआओस । अन्त्यमा कोरोना भाइरसले ठूलो सानो, यो पार्टीको, त्यो पार्टीको, यो पदको, त्यो पदको भन्दैन। जनपक्षीय कुरा उठान गर्न पार्टीको घेरा नहेरौं । हामी सबै एकै डुंगामा छौं। डुंगा डुब्यो भने हामी सबै डुब्नेछौं ।

प्रतिक्रिया दिनुहोस्
MBL