Logo

हामी देशैभर मेरियट होटल बिस्तारको योजनामा छौं

हामी देशैभर मेरियट होटल बिस्तारको योजनामा छौं



नेपालको प्रतिष्ठित व्यवसायिक घराना एमएस ग्रुपले पछिल्लो समय होटल क्षेत्रमा आक्रामक ढंगले लगानी गरिरहेको छ । होटल क्षेत्रमा हात हालेको ३ वर्षको छोटो अवधिमै होटल सञ्चालनमा ख्याति कमाएको अन्तराष्ट्रिय ब्राण्ड मेरियटका दुईवटा तारे होटल काठमाडौंमा सञ्चालन गरिरहेको ग्रुपले काठमाडौमै अर्को तारे होटलको निर्माण थालिसकेको छ । देशका प्राय सबै मुख्य शहरमा मेरियट ब्राण्डमा चेन होटल बिस्तारको योजना बनाइरहेको ग्रुपले केही रिसोर्ट पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ । एमएस ग्रुपको होटल क्षेत्रमा आकर्षण, सम्भावना तथा नेपालको पर्यटन उद्योग र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा केन्द्रित रहेर एमएस ग्रुपका उपध्यक्ष सुमितकुमार अग्रवालसँग बिजखबर डटकमका लागि रामराजा श्रेष्ठ र सन्तोष पोख्रेलले गरेको कुराकानी :

laxmi

पछिल्लो समयमा होटल उद्योगमा स्वदेशी तथा विदेशी गरी निकै ठूलो लगानी भित्रिरहेको छ । के अब आम्दानीको हिसावले होटल व्यवसाय सबैभन्दा राम्रो हो ?

यसमा विभिन्न कारणहरु छन् । पहिलो कुरा त हामीले हाम्रो नेपालको भौगोलिक सुन्दरता र विविधतालाई हेर्यौँ भने धेरै सम्भावनाहरु भेटिन्छन् । मैले विश्वका धेरै देशहरु भ्रमण गरेको छु । अमेरिकादेखि स्वीजरल्याण्ड वा जापानदेखि अफ्रिका जहाँ पुगेपनि नेपालको सम्झना आउँछ । जुनसुकै ठाउँमा पुगेपनि यस्तो त नेपालमा छ भन्ने आभास हुन्छ । विश्वमा जहाँ गएपनि नेपाल कुनै न कुनै स्थान सम्झिइन्छ ।

यसले नै स्पष्ट हुन्छ कि नेपालको पर्यटनमा ठूलो सम्भावना छ । यति राम्रो सम्भावना भएको क्षेत्रमा सरकारले अलिकति पूर्वाधारमा सुधार गर्न सके नेपालमा पर्यटन निकै फष्टाउन सक्छ र हामीले राम्रो संख्यामा पर्यटक ल्याउन सक्छौं । विश्वमा नेपाललाई अगाडि लाने हो वा चिनाउने हो भने पर्यटन नै मुख्य सम्वाक हो । हामीजस्तो व्यवसायीहरुले हेर्ने हो भनेको देशमा कुन क्षेत्रमा कहाँ सम्भावना छ ? अहिले होटल क्षेत्रमा राम्रो सम्भावना देखिएको छ ।

यसैले होटल क्षेत्रमा पछिल्लो समय निकै ठूलो आकर्षण रहेको छ । अर्को कुरा होटल भनेको एउटा ह्वाइट कलर जब पनि हो । यसमा लगानी गर्दा अथवा यसको सञ्चालन गर्दा राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा एक्स्पोजर पनि हुन्छ । नाम पनि आउँछ । यसले पनि आकर्षण बढाएको हो ।

नेपालमा अन्तराष्ट्रिय ब्राण्डका चेन होटलहरुको संख्या निकै बढेको छ । नेपाली उद्योगी व्यवसायी आफ्नै नेपाली ब्राण्डमा होटल सञ्चालन नगरेर किन अन्तराष्ट्रिय ब्राण्डका चेन होटलतर्फ आकर्षित भैरहेका छन् ?

यो एकदमै राम्रो र समयसान्दर्भिक प्रश्न हो । चेन होटल ल्याउनुको मुख्य कारण यसको ब्राण्ड नै हो । जसको मुख्य फाइदा भनेको नै मार्केटिङ हो । चेन होटलका विश्वव्यापी नेटवर्क भएका कारण फ्रिक्वेन्ट भिजिटरहरु तथा यसको एलाईट कार्ड तथा माइलेज कार्डलगायतका सुविधाहरुले यसमा ग्राहकहरुलाई विश्वका जुनसुकै स्थानमा पुगेपनि सहज भयो ।

जस्तो मेरियटको कुरा गर्यो भने अमेरिकामा बसेको मेरियटको एउटा ग्राहकले नेपाल भ्रमण गर्न आउन चाह्यो र नेपालमा मेरियट छ भने उसलाई एकदमै सहज हुन्छ । किनकि चेन होटलमा उस्तै सुविधा, उस्तै स्टयान्र्डड, उस्तै वातावरण हुने कारणले ढुक्क भएर जुनसुकै देशमा जाँदा पनि सहज वातावरण बन्छ । ग्राहकका लागि सेवा, सुविधा र वातावरण उपयुक्त हुने भएकाले चेन होटल अहिले ग्राहकको आवश्यकता भइसक्यो ।

चेन होटलका ग्राहकले विश्वभर जहाँ भ्रमण गर्दा पनि पाएसम्म त्यहिँ नेटवर्कमा बस्न रुचाउँछन् । जस्तो काठमाडौंमा मेरियटमा बसेका ग्राहकले पोखरा जाँदा पनि मेरियटमै बसौं भन्छ । जसको माध्यमबाट होटल सञ्चालनमा सहजता र बजारिकरणमा ठूलो फाइदा हुन्छ ।

चेन होटलले ग्राहक खोज्नु तथा ब्राण्ड प्रवद्र्धनमा खर्च गर्नु पर्दैन भन्ने सुनिन्छ नि ?

पक्कै पनि यो एकदमै सकारात्मक विषय हो । चेन होटलका ग्राहकहरु मेम्बरसिप कार्ड तथा माइलेज कार्डहरुमा आबद्ध हुन्छन । त्यस्ता ग्राहकहरु विश्वका जुनसुैक देशमा गएपनि आफ्नो मेम्बर होटलमा नै बसौं भन्ने हुन्छ । माइलेज कार्डका कारण ग्राहकहरुलाई पनि विभिन्न अफर र सुविधाहरु दिएको हुन्छ ब्राण्डले ।

जस्तो ‘१० रात बसेको ग्राहकलाई १ रात फ्रि’ जस्ता अफर पनि हुन्छ । यसका कारण ग्राहकलाई पनि फाइदा हुन्छ । होटलमा आउने ग्राहकहरुका विभिन्न प्रकार हुन्छन । जस्तो वाकिङ कस्टमर, हिडदै आउँदा मेरियटमा बसौं न त भन्ने । अर्को हुन्छन एजेण्टबाट बुक भएर आउने । यी बाहेक पनि चेन होटलमा भने आफ्नै मेम्बर कस्टमर हुन्छन् ।

जसलाई आफ्नो ब्राण्ड होटलको वनरशिप पनि फिल हुन्छ । जसका कारण उनीहरु आफ्नै ब्राण्ड होटलमा बस्न रुचाउँछन् । यो नै आफैंमा सबैभन्दा ठूलो प्रर्वद्धन हो । यस्तै चेन होटलहरुको विश्वव्यापी नेटवर्कबाटै बजारीकरण हुन्छ । यसले चेन होटलको प्रवद्र्धन राम्रो हुन्छ र ग्राहकले आफैं पनि चेन होटल खोज्छन ।

यहाँहरुले अहिले काठमाडौंमा २ वटा मेरियट होटल सञ्चालनमा ल्याउनुभएको छ । मेरियट कस्तो स्तरको होटल हो ?

हामीले अहिले ठमेलमा एउटा र नक्सालमा अर्को गरि दुईवटा मेरियट होटल सञ्चालनमा ल्याएका छौं । पहिलो होटल ‘फेयरफिल्ड मेरियट’ ठमेलमा ३ स्टार होटलको रुपमा सञ्चालनमा छ । यसपछि हामीले नक्सालमा ‘मेरियट डिलक्स’को रुपमा ५ तारे होटलको रुपमा सञ्चालनमा छ ।

हाम्रो होटल कस्तो हो भन्दा पनि मुख्य कुरा भनेको हामीले अन्तराष्ट्रिय मापदण्ड अनुसारका सबै मापदण्ड पूरा गरेर होटल बनाएका छौं । नामले स्टार भन्ने हुँदैन । जस्तो हाम्रो ‘मेरियट डिलक्स’ होटल नेपाल सरकारको मापदण्डहरु सबै पूरा गरेर फाइभस्टार डिलक्स स्टयान्र्डडको बनाएका छौं । तर, अहिले हाम्रो सरकारी मापदण्डमा फाइभस्टार डिलक्स दिने प्रावधान नभएकाले अहिले फाइभस्टार मात्र भनेर चलाइरहेका छौं ।

तर, हामीले फाइभस्टार डिलक्सकै रुपमा सबै मापदण्ड पूरा गरेर सरकारसँग पनि फाइभस्टार डिलक्सकै मान्यता देउ भनेर मागेका थियौं । अब यहिँ मापदण्ड र स्टयान्र्डडमा हामीले होटल सञ्चालन गरिरह्यौं भने सरकारले अबको २ वर्षमा हामीललाई फाइभस्टार डिलक्सको मान्यता दिनेमा हामी ढुक्क छौं ।

नेपालमा अहिले फाइभस्टार होटल पनि थुप्रै छन् । यसमा मेरियट होटल कसरी फरक होटल भन्न सकिन्छ ?

जुनसुकै होटलका लागि पनि ग्राहकले दिने प्रतिक्रिया वा रेटिङ नै सबैभन्दा महत्वपूर्ण आधार हो । कुन होटल कस्तो हो भनेर ग्राहकले गर्ने जजमेन्ट नै मुख्य कुरा हो । ग्राहकले आफुले पाएको सेवा, सुविधा र वातावरणलाई हेरेर नै सम्बन्धित होटलको मूल्यांकन गर्छ । ‘क्लाइन्ट रिक्वायरमेन्ट र क्लाइन्ट बेस’ नै यसको सही उत्तर हुन सक्छ । कुन बेष्ट भन्ने कुरा चाहिं ‘चुजिङ बाई कस्टमर’ नै हो । हामी यसमा पक्कै पनि सन्तुष्ट छौं ।

हामीले यति छोटो समयमा नै पाँचवटा अवार्ड हात पार्यौं । यो त कस्टमरको प्रतिक्रिया नै हो । जस्तो सन् २०१९ मा खोलेको हाम्रो होटलले ‘बेष्ट लन्चिङ अफ दि इयर’, ‘बेष्ट लोकेसन’, ‘बेष्ट प्यालेस’ ‘बेष्ट इभेन्ट’ जस्ता अवार्ड पायौं । यी अवार्डहरु सबै ग्राहकको रोटिङ र प्रतिक्रियाका आधारमा हुन्छ । हामीलाई त थाहा पनि हुँदैन् ।

घोषणा भइसकेपछि हामीले थाहा पायौं । यस्तो पारदर्शी ढंगले हामीले अवार्ड पाउनुमा यति छोटो समयमा हामीले सबैभन्दा धेरै रेभेन्यु जेनरेट गर्यौ भने छोटो अवधिमा धेरै इभेन्टहरु हाम्रोमा भए । उनीहरुले सबै रिभ्यु गरेर हामीले ५ वटा अवार्ड पाउनुले नै हामी फरक छौं वा उत्कृष्ट छौ भन्ने बुझिन्छ ।

तर, नेपालका धेरै ठूला होटलहरुले आफ्नो स्ट्यान्डर्ड अनुसार ग्राहक नपाएको तथा गुणस्तरीय पर्यटकको अभाव झेलिरहेका छन् भन्ने गुनासो सुनिन्छ नि, यहाँको अनुभव कस्तो छ ?

पर्यटकको कुरा गर्दा हामीले होटल निर्माणको समयमै भनौं नेपालमा यो सिजन वा त्यो सिजन भन्ने नै छैन । नेपाल अलसिजनका लागि उपयुक्त छ भन्ने सोचेर नै होटल निर्माण गरेका हुन्छौं । तर, हामीकहाँ समयसापेक्ष पर्यटकको मात्रा धेरै वा थोरै भएकाले पर्यटकहरुले नै विन्टर र समर सिजन भनेर छुट्टाएको देखिन्छ ।

विन्टर सिजनमा यूरोपियन पर्यटकहरु बढी नेपाल आउँछन् भने समर सिजनमा भारतीय तथा चाइनिज टुरिष्टहरु बढी आउँछन् । हामीले होटलमा ग्राहकहरुको स्थिति हेर्दा समर र विन्टरमा निकै अपडाउनको स्थितिमा रहेको देखिन्छ ।

कहिले एकदमै धेरै बुकिङ हुन्छ, कहिले कम । मुख्य कुरा त नेपालमा अहिलेको होटल रुम ‘ओभर सप्लाई’ (पर्यटकका लागि चाहिने भन्दा बढी) छ । यस्तो अवस्थामा यहाँको प्रश्नको उत्तर दिन पनि अलि कठिन नै छ ।

अहिले नेपाल सस्तो पर्यटकको गन्तव्य बन्यो भन्ने गुनासो आईरहेको छ । नेपालमा गुणस्तरीय पर्यटक नआएकै हुन ?

यसको मुख्य सम्बन्ध भने पूर्वाधारसँगै हुन्छ । सरकारले पूर्वाधारमा के–कस्तो लगानी गर्छ त्यसले उपयुक्त नतिजा ल्याउँछ । पक्कै पनि अहिले पर्यटकको कमी छ भन्नुपर्छ । तर, गुणस्तरीय पर्यटकको मुद्दा चाहिं मलाई त्यस्तो महत्वपूर्ण लाग्दैन ।

मुख्य कुरा पर्यटक नेपाल आउनु हो । नेपाल आउने सबै पर्यटक हाम्रा पाहुना हुन् र ती पाहुना हाम्रो लागि महत्वपूर्ण हुन्छन । अहिले नेपालमा १० डलर देखि हजारौ डलरसम्म लिएर आउने बिदेशीसम्मले बस्ने, खाने सुविधा पाउँछन् । नेपाल जस्तो सस्तो, नेपाल जस्तो इकोनिमक देश विश्वमै अरु छैनन् । नेपालमा पर्यटकका लागि निकै सहज र उपयुक्त वातावरण छ । मेरो लागि कुनै पनि पर्यटक राम्रो वा नराम्रो भन्ने हुँदैन ।

मुख्य कुरा हामीले देशमा पर्यटकका लागि कस्तो सेवा सुविधा र वातावरण दिन सक्छौं । त्यसले नै पर्यटक नेपाल आउने हो । सरकारले पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण र प्रर्वद्धनमा लगानी गर्नुपर्छ जसका कारण गुणस्तरीय पर्यटक ल्याउन सकिन्छ जुन अहिले भैरहेको छैन ।

नेपालको होटल क्षेत्रको प्रवद्र्धनमा सरकारको भूमिका कत्तिको प्रभावकारी छ ?

हामी यो क्षेत्रमा आएको लामो समय पनि भएको छैन् । भर्खरै हामी दोश्रो होटल सञ्चालन गरिरहेका छौं । तर, यो अवधिसम्म सरकारले प्रवद्र्धनमा खासै काम गरेको देखिदैन । यो अवधिमा जे जति गरियो हामी आफैले गरिरहेका छौ । सन् २०१९ नोभेम्बरमा हामी आफैं दिल्ली लगायत भारतमा मुख्य शहरमा गएर ‘नेपाल भ्रमण वर्ष’ को ठूलो प्रचारप्रसार गर्यौ । मेरियटबाटै ठूलो टीम पठाएर हामीले प्रर्वद्धनको काम गर्यौं ।

अहिलेसम्म सरकारले केही गरेन भन्दा पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेर केही शुरु गरेको छ । अब यो कति सफल हुन्छ भन्ने कुरा त समयले बताउँला । तर जुन रुपमा नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन प्रचारप्रसार हुनुपर्ने हो सरकारी तवरबाट त्यो हुन सकेको छैन ।

सरकारले जुन लक्ष्यका साथ ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्यो । तर, त्यो अनुसारको उत्साह त देखिएन, २०२० मा यसको समग्र प्रभाव कस्तो रहला ?

यस्तो कार्यक्रमको तत्काल नतिजा आउँदैन । सरकारले यस्ता कार्यक्रमहरु निरन्तर गरिरहनुपर्छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ भनेपनि हामीले यसको घोषणा र अन्तराष्ट्रिय प्रचारप्रसार सन् २०१९को मध्य वा अन्तिममा मात्र सुरु गर्यौं । यस्तो कार्यक्रम गर्नेबित्तिकै कुनै पनि देशमा तत्कालै नतिजा आउने पनि होइन ।

तर, यस्ता कार्यक्रमले नेपाल र नेपालमा के छ भन्ने कुरा चिनाउन निकै ठूलो सहयोग पुग्छ । यसमा हाम्रो प्रयास कस्तो रहन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । सरकारले के सहुलियत दिन्छ, कस्तो प्याकेज ल्याउँछ त्यसले पनि धेरै कुरा निर्भर गर्छ । त्यो प्याकेज मन पर्यौ भने पर्यटक नेपाल घुम्न आउँछन् । अहिले सेप्टेम्बर वा अक्टोबरका लागि जापान एयरलाइनसले जापान घुम्न आउन चानेका लागि ५० हजार टिकट सित्तैमा दिने घोषणा गरेको छ ।

५० हजार टिकट सित्तैमा बाँडेपनि ती जापान जाने ५० हजारले त होटल, ट्राभल, सपिङजस्ता धेरै ठाउँमा पैसा खर्च गर्छन । त्यसले जापानको अन्य व्यवसायमा त टेवा पुग्यो नि ? नेपाल आउन अहिले हवाई भाडा निकै महँगो छ । यसमा सरकारले केही नयाँ प्याकेज ल्याउनुपर्छ ।

नेपालमा यो कार्यक्रमले कति पर्यटक आउँलान भनेर अहिले नै विश्लेषण गर्नुभन्दा पनि यस्तो कार्यक्रमले सकारात्मक नतिजा ल्याउँछ भन्ने मेरो विश्वास छ । ‘नेपाल भ्रमण वर्ष’ले ‘नियर फ्युचर’मा राम्रो उपलब्धि ल्याउँछ । यस्ता कार्यक्रम नियमित रुपमा सरकारले ल्याउनुपर्छ भन्ने मेरो धारणा छ ।

नेपाल आउने पर्यटकको खर्च र बसाई घटदैं गएको पछिल्ला तथ्यांकले देखाएको छ । होटल उद्योगमा लगानी बढ्दै गएको छ । यस्तो अवस्थामा संचालन गर्न गाह्रो होला नि ?

हाम्रो होटल व्यवसाय क्षेत्रको दुई बर्षको अनुभवले के देखाउँछ भने होटल भरिन्छ, रुम रेट कम आउँछ, रुम रेट राम्रो आउँछ तर होटल खाली हुन्छ । नेपालको ग्राफ हेर्ने हो भने होटल क्षेत्रमा यो त एउटा सिष्टम जस्तै भइसकेको रहेछ ।

अर्को कुरा अहिले पर्यटकले गर्ने खर्च ७७ डलरबाट झरेर ४२ मा आईसक्यो । तर यसमा ग्राहकलाई फाइदा छ । यस्तोमा पर्यटन क्षेत्र तथा होटलहरु कसरी सर्भाइभ गर्लान भन्ने चिन्ता हुनु स्वभाविक हो । तर, होटलमा अकुपेन्सी राम्रो हुनुपर्छ अनि मात्र होटल उद्योग फष्टाउन सक्छ ।

नेपाल सस्तो छ राम्रो छ भनेर प्रचार प्रसार हुन सकेमात्र पनि पर्यटकको संख्या बढ्छ । म चाहिं पर्यटक बढनुपर्छ भन्ने पक्षमा छु । पर्यटक बढाउन सके र अकुपेन्सी राम्रो भइरहने हो भने खर्च कम भएपनि व्यवसाय राम्रो हुन्छ ।

तर, अकुपेन्सी पनि कम हुने र रुम पनि सस्तोमा बेच्दा त समस्या होला नि । यसले होटलले दिने सेवाको गुणस्तरमा फरक पर्दैन ?

पक्कै पनि समस्या त हुन्छ नै । तर, हामीले यत्रो लगानी किन गरिरहेका छौं भने एकदिन नेपालको पर्यटन पिकमा पुग्छ । सरकारको कुनै नीतिले यसलाई उपयुक्त बनाउँछ र देशमा पर्यटन उद्योग फष्टाउँछ । अब गुणस्तरको कुरा गर्नुहुन्छ भने हामीले गुणस्तरमा त तलमाथि गर्नै मिल्दैन ।

हाम्रो एउटा अन्तराष्ट्रिय मापदण्ड छ हरेक विषयमा । हामीले रेट सस्तो गरेपनि सेवा वा गुणस्तरमा कुनै सम्झौता गर्न मिल्दैन । अहिले हामी भविष्यका लागि पनि अगाडि बढिरहेका छौं । यस्तोमा रेट सस्तो गरेर भएपनि हामी अगाडि बढनुपर्छ । नेपालमा पर्यटन पक्कै पनि सफल हुन्छ नै, यो हुनु नै पर्ने देश हो ।

पर्यटकको बसाई लम्ब्याउन चाहिँ के गर्नुपर्ला ?

यसको लागि मुख्य काम भने पूर्वाधार राम्रो हुनु पर्यो । पर्यटकले नेपालमा राम्रो महसुस गर्नसक्ने खालको पूर्वाधार हुनपर्छ । सडक, यातायात, हवाई यातायात सबै राम्रो र विश्वसनीय भए पर्यटक नेपालभर घुम्छ । लाखौं रुपैयाँ हवाईभाडा खर्च गरेर आएको पर्यटक नेपालजस्तो सस्तो र राम्रो देशमा किन लामो समय बस्दैन ? यसमा सरकारले सोच्नुपर्छ ।

पूर्वाधार अभावकै कारण पोखरा, चितवन तथा लुम्बिनी घुम्ने योजना बनाएर नेपाल आएका पर्यटक काठमाडौंबाटै फर्कन बाध्य भइरहेका छन् । हवाई यात्रा गरौं खराब मौसम र पूर्वाधारकै समस्या छ सडक यातायातबाट जाऔं ४ घण्टा लाग्ने स्थानमा पुग्न १० घण्टा लगाईदिन्छन । ट्राभल समस्याका कारणले गर्दा पनि पर्यटकहरुले नेपाल बसाईको समय छोट्याइरहेका छन् ।

एमएस
ग्रुप ले अब होटल व्यवसायलाई यतिमै थाती राख्छ कि देशभर विस्तार गर्ने योजना बनाइरहेको छ ?

अहिले काठमाडौंमै हामी मेरियटको तेश्रो होटल सञ्चालनमा ल्याउँदैछौं । मेरियटकै साढे ३ तारे स्तरको ‘मोक्सी’ ब्राण्डमा यो होटल संचालनमा ल्याउन लागेका हौं । अबको साढे २ बर्षभित्र संचालनमा ल्याउने गरी साढे ३ तारे स्तरको मेरियटको मोक्सी होटल निर्माण प्रक्रिया अघि बढिसकेको छ ।

काठमाडौंको कमलादीमा उक्त होटल निर्माणका लागि सम्पूर्ण प्रक्रिया अघि बढाइसकेका छौं । निर्माण प्रक्रिया अघि बढिसकेकाले अबको साढे २ बर्ष भित्रमा संचालनमा ल्याउँछौं । उक्त होटल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया समेत अघि बढाइसकिएको छ ।

होटल १० तलाको हुनेछ । जसमा न्यूनतम १०१ देखि ११५ कोठासम्म रहने छ । यो होटलमा १० वटा स्वीट रुम र बाँकी डिलक्स रुम रहनेछन् ।

काठमाडौं बाहिर बिस्तारको कस्तो योजना छ ?

काठमाडौं बाहिर पनि हाम्रो बिस्तारको योजना छ । पहिलो चरणमा बिराटनगर, बीरगंज, पोखरा र जनकपुरमा होटल बिस्तारका लागि अध्ययन गरिरहेका छौ. । दोश्रो चरणमा नेपालगञ्ज र भैरहवामा जाने सोच बनाएका छौं ।

योसँगै हामी एक दुईवटा रिसोर्टका लागि पनि तयारी गरिरहेका छौं । तर, होटल बनाउने कुरा निकै लामो योजना बनाउनुपर्छ । अहिले जग्गाहरु हेर्ने तथा कसरी निर्माण प्रक्रिया अघि बढाउने भन्ने विषयमा गृहकार्य भैरहेको छ । यो अध्ययनको चरणमा भएकाले पनि यसका लागि केही समय लाग्छ । यो धेरै ठूलो प्राजेक्ट हो ।

सबै मेरियटकै ब्राण्डमा सञ्चालनमा आउँछन् कि अन्य ब्राण्डमा पनि जानुहुन्छ ?

अहिले हामीले मेरियटसँग सम्झौता गरेर होटल विस्तार गरिरहेको छौं । यसमा दुबै पक्ष ओपन छौं । मेरियटले अन्य ग्रूपसँग मिलेर विस्तार गर्न सक्छ भने हामी पनि अन्य चेन ल्याउन सक्छौं । तर, एउटै समूहले मल्टिपल ब्राण्ड चलाउँदा धेरै समस्या आउने देखियो ।

फेयरफिल्ड पछि हामीले अर्को होटल सञ्चालन गर्ने बेलामा पनि हामीले धेरै सोच्यौ र मेरियटमै जाने निर्णय गर्यौ । एउटै ब्राण्ड चलाउँदा मार्केटिङलगायत धेरै विषयमा सहज पनि हुन्छ । एउटै गु्रपले धेरै ब्राण्ड चलाउँदा त्यही अन्तरद्धन्द्ध हुने खतरा पनि रहन्छ । यसैले हामी देशैभर मेरियटकै ब्राण्डमा जान्छौं ।

पर्यटन वर्षकै लागि भनेर मेरियटले केही नयाँ योजना बनाएको छ कि ?

पर्यटन वर्षकै लागि भनेर त केही त घोषणा गरेका छैनौं । तर, हामीले हरेक हप्ता वा महिनामा नयाँ–नयाँ प्याकेजहरु ल्याइरहेका छौं । यस्तै विश्वभरका मेरियटको नेटवर्कमा नेपालको प्रवद्र्धनका लागि विभिन्न काम गरिरहेका हुन्छौं । जहाँ पनि मेरियटका होटल छन् त्यहाँ नेपाल भ्रमण वर्षका लागि प्रोमोशनल सामग्रीहरु राख्न र प्रचारका लागि अनुरोध गरेका छौं । नेपाली बस्तुको प्रवद्र्धन गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
MBL