Logo

अब कोरोनाविरुद्ध सिंगल डोज खोप, जोनसनको खोपलाई प्रयोगको अनुमति

अब कोरोनाविरुद्ध सिंगल डोज खोप, जोनसनको खोपलाई प्रयोगको अनुमति



काठमाडौँ । जोनसन एण्ड जोनसनले बनाएको कोरोनाविरुद्धको सिंगल डोज खोपलाई अमेरिकामा आपतकालीन प्रयोगको अनुमति दिइएको छ ।

अमेरिकी नियामक संस्था फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सिंगल डोज लगाए हुने यस जोनसनको कोरोनाविरुद्धको खोपलाई प्रयोगको अनुमति दिएको हो  यसअघि एडीएले आफ्नो अनुसन्धानमा जोनसनको खोप सुरक्षित र प्रभावकारी रहेको बताएको थियो ।

जोनसनले बनाएको यस खोपलाई प्रयोगको अनुमति दिने अमेरिका पहिलो देश हो ।

जोनसनले बनाएको खोप अमेरिकामै बनेका फाइजर र मोडरेनाका खोपको विकल्पको रुपमा हेरिएको छ । यी दुई खोपको तुलनामा जोनसनको खोप सामान्य फ्रिजमा राख्न सकिने बताइएको छ । अमेरिकामा फाइजर र मोडेरनापछि जोनसनको खोप सहित तीन खोपलाई अहिलेसम्म प्रयोगको अनुमति दिइएको छ । 

साथै यो खोप एक पटक मात्र लगाए हुने भएकाले यसको माग बढ्ने निश्चित देखिएको छ । अहिले विश्वमा बनेका खोप मध्ये एक डोज लगाए हुने यो पहिलो खोप हो ।

जोनसनले आफ्नो खोप बारेको अनुसन्धानको रिपोर्ट अघिल्लो महिना नै सार्बजनिक गरेको थियो । एफडीएका अनुसार यो खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रीका र ब्राजिलमा गरिएको थियो ।

अनुसन्धानको रिपोर्ट अनुसार यो खोप ८५ प्रतिशत प्रभावकारी देखिएको छ ।

अमेरिकामा अनुमाति पाएपछि अब खोपको अभियान चलाउने तयारीमा सरकार रहेको छ । एक सातामा ३० लाख डोज लगाउने तयारी गरिएको अमेरिकी मिडियाले बताएका छन् । जोनसनले अमेरिकी सरकारसँग मार्चको अन्तिमसम्म २ करोड डोज र जुनको अन्तिमसम्मम १० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL