Logo

कोरोनाभाइरस संक्रमण : विश्वभर आधाले घट्यो कोरोनाबाट हुने मृत्यु दर, ११ लाख ५३ हजार बढी संक्रमित निको भए (अपडेट)

कोरोनाभाइरस संक्रमण : विश्वभर आधाले घट्यो कोरोनाबाट हुने मृत्यु दर, ११ लाख ५३ हजार बढी संक्रमित निको भए (अपडेट)



काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट संक्रमित मध्ये अहिलेसम्म विश्वभर ११ लाख ५३ हजार ७१ जना निको भएका छन् । यस्तै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको दर करिब आधाले घटेको छ ।

वर्डओमिटरले राखेको तथ्यांकअनुसार पछिल्लो एकसाताको अवधीमा कोरोनाबाट मृत्यु हुनेको दर क्रमशः घट्दै करिब आधामा झरेको हो । वैशाख १६ गते मंगलबारका दिन विश्वभरका ६ हजार ६ सय ८८ जनाले कोरोनबाट ज्यान गुमाएका थिए । वैशख २१ गते सोमबारका दिन यो संख्या करिब आधाले घटेर ३ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

वैशाख १६ मा ६ हजार ६ सय ८८ जनको मृत्यु भएकोमा त्यसयता मृत्युदर लगातार घटेको छ । वैशाख १७ गते ६ हजार ५ सय ९३, वैशाख १८ गते ५ हजार ७ सय ९५, वैशाख १९ गते ५ हजार ६ सय २४, वैशाख २० गते ५ हजार २ सय १७ र वैशाख २१ गते ३ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट आक्रान्त भएका अमेरिका, स्पेन, इलाटी, वेलायत, फ्रान्सलगायतका धेरैजसो मुलुकमा संक्रमण दरसँगै मृत्यु दर पनि घटेको छ । अमेरिकामा शनिबार १ हजार ८ सय ९७ जनाको मृत्यु भएको थियो । आइतबार १ हजार ६ सय ९१, सोमबार (हिजो) १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा शनिबार २८१, आइतबार २७६ सोमबार १६४ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार ४७४ जनाको मृत्यु भएकोमा सोमबार ३ सयले घटेर १७४ जनाको मृत्यु भएको छ ।

वेलायतमा आइतबार ६२१ को मृत्यु भएको थियो भने सोमबार ३१५ जनाको मृत्यु भएको छ । फ्रान्समा आइतबार १६६ जनाको मृत्यु भएको थियो भने सोमबार १३५ जनाको मृत्यु भएको छ।

यसैगरी ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट २ लाख ४८ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४८ हजार ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३५ लाख ६२ हजार २६९ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो । इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४० हजार ६०३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७५ हजार १२२ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ६०४, दक्षिण अमेरिकी मुलुकहरुमा १० हजार ८३५ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८०० र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरसको सङक्रमित संख्या ७५ पुगेको छ। सङक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने अन्यको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL