Logo

बर्षा सुरु भएसँगै मध्यपहाडी लोकमार्गको काम रोकियो, एक महिना पछि मात्रै संचालनमा ल्याउने

बर्षा सुरु भएसँगै मध्यपहाडी लोकमार्गको काम रोकियो, एक महिना पछि मात्रै संचालनमा ल्याउने



काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महिनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।

laxmi

आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताएका छन । ‘बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन’, उनले भने, ‘अरु काम मौसमले गर्न दिएन ।’

अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ ।

यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । सदरमुकाम कुश्मा बजार क्षेत्रको ४ किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ । करीब २ किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन । दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL