Logo

साढे २ अर्ब लागतमा बन्यो प्रसुति गृह र वीर अस्पताल, ६४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न

साढे २ अर्ब लागतमा बन्यो प्रसुति गृह र वीर अस्पताल, ६४३ स्वास्थ्य संस्थाको पुनर्निर्माण सम्पन्न



काठमाडौं । २ अर्ब ३६ करोड रुपैयाँ लागतमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल र वीर अस्पतालको भवन पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका उक्त अस्पतालहरुको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रसुति गृह र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालमा पुनर्निर्माण गरिएको भवनको उद्घाटन गरेका हुन । भूकम्पबाट क्षति भएका स्वास्थ्य संस्थाका पूर्वाधारहरुको पुनर्निर्माण कार्यक्रम अन्तरगत नेपाल सरकार र जापान सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुसार जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक तथा आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माण गरिएको हो ।

पुनर्निर्माण गरिएको प्रसुति गृहमा १८२ शैया रहेका छन भने वीर अस्पतालमा ९४ शैया रहेका छन । भवन उद्घाटनमा बोल्दै प्रम ओलीले पुनर्निर्माणपछि बनेको अत्याधुनिक र सुविधा सम्पन्न भवनबाट प्रसुति गृहले पुर्याउने सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन ।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रसुति गृहको अत्याधुनिक शैलीमा पुनर्निर्माण गरिएको प्रसुति गृहबाट महिला र बच्चाहरुले थप गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गर्दै उपत्यका बाहिर पनि अस्पतालहरुको पुनर्निर्माण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रसुति गृह र वीर अस्पतालको पुनर्निर्माणले अन्तरराष्ट्रिय समुदायलाई परिचालन गरेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको बताएका छन ।

उनले स्वास्थ्य संस्था, निजी आवास, शैक्षिक संस्था, सम्पदा लगायतको पुनर्निर्माणमा धेरै काम भइसकेको बताउँदै बाँकी काम पनि समयमा नै सम्पन्न गर्ने बताएका छन । भूकम्पबाट ११ सय ९७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेकोमा ६ सय ४३ वटाको पुनर्निर्माण सम्पन्न भएको छ भने १ सय ४५ स्वास्थ्य संस्था पुनर्निर्माणको चरणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL