Logo

डेढ महिनाभित्र जयनगर जनकपुर–कुर्थामा रेल संचालन, अन्तिम चेकजाँजको तयारी

डेढ महिनाभित्र जयनगर जनकपुर–कुर्थामा रेल संचालन, अन्तिम चेकजाँजको तयारी



काठमाडौं । जयनगर जनकपुर–कुर्था रेलमार्ग अबको डेढ महिना भित्रमा संचालनमा आउने भएको छ ।

सो रेलमार्गको काम अन्तिम चरणमा रहेकाले अबको केही समयभित्रै नेपाल र भारतीय पक्षका प्राविधिक टोलीबाट अन्तिम चेकजाँजको तयारी भईरहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उनका अनुसार जनवरी भित्र चेक जाँचको काम सम्पन्न गरी भारतीय पक्षले नेपाललाई उक्त रेलमार्ग हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यदी भारतीय पक्षले जनवरी भित्रै उक्त रेलमार्ग नेपाललाई हस्तान्तरण गरेमा फेब्रुअरी भित्र नै रेल संचालन हुने मिश्रको दावी छ । तर, भारतीय कम्पनी इर्कन इन्टरनेसनलले नेपाललाई हस्तान्तरण नगरेसम्म रेल संचालन गर्न सकिने छैन ।

भारतीय पक्षले रेलको मूल्य समेत नेपाललाई दिईसकेको छ । आफ्नै रेल खरिद प्रकृयामा रहेको विभागले रेलमार्ग हस्तान्तरण गरे लगतै रेल ल्याउने तयारीमा आफुहरु रहेको समेत जानकारी दिएको छ ।

विभागलाई रेल खरिको लागि यसअघि ५० करोड रुपैयाँ बजेट छुट्याइएको थियो । तर यातायात मन्त्रालय र रेल्वे विभागले रेल खरिदका लागि रकम माग गरे पछि अर्थ मन्त्रालयले थप ५० करोड रुपैयाँ निकासाका लागि स्वीकृति समेत दिईसकेको छ । विभागले १ करोड रुपैयाँमा ५÷५ वटा डिब्बा सहितको २ ओटा रेल खरिद गर्ने छ ।

यस अघि भने नेपालले उक्त रेलमार्गमा आफ्नै रेल संचालन गर्ने कि भाडामा ल्याएर संचालन गर्ने दुविधा थियो । तर अबका दिनमा आफ्नै रेल खरिद गरेर संचालन गर्ने मिश्रले जानकारी दिए ।

मंसिर २० गते प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले माघ–फागुनसम्ममा नेपालमा रेल संचालन गर्ने बताएका थिए । सोही अनुरुप काम तीब्र पारिएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL