Logo

द्रुतमार्ग निर्माण द्रुत गतिमा

द्रुतमार्ग निर्माण द्रुत गतिमा


बिजखबर संवाददाता
0
Shares

नारायणप्रसाद न्यौपाने
मकवानपुर । नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्ष्भित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ ।
दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ । पाँच स्थानबाट एकैसाथ काम अघि बढाइसकिएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए ।

काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको छ ।

मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको छ । त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मि फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको उनले बताए ।

दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र टिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको अर्का प्रमुख सेनानी भरतलाल श्रेष्ठले बताए ।

प्रत्येक सात किमी क्षेत्रमा शिविर खडा गरेर कामलाई अघि बढाउने सन्दर्भमा निकट भविष्यमै थप पाँच स्थानमा अन्य शिविर खडा गरिने जनाइएको छ । राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन २०० जनशक्ति खटाएर सहायकरथी भरतबहादुर खड्कालाई रुख कटाको जिम्मेवारी दिइएकामा टोलीले हालसम्म १५ हजार कटान गरी व्यवस्थापनसमेत गरिसकेको छ । झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुखसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए ।

द्रुतमार्ग निर्माण गर्न कसलाई दिने भन्ने विषयमा प्रमुख राजनीतिक दलबीच निकै ठूलो विवाद र बहसपछि सरकारले सेनालाई दिएको हो । उक्त राजमार्गको निर्माण लागत रु एक खर्ब १२ अर्ब अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त दु्रतमार्गको ट्र्याक पनि यसअघि सेनाले नै खनेको हो । उक्त राजमार्गमा साना ठूला गरी करिब १०० पुल निर्माण गरिनेछ ।

द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किमीभन्दा बढी हुने तथा मकवानपुरको ठिङ्गनमा १।४ किमी लामो सुरुङ निर्माण गर्नुपर्ने सेनानी विनोद श्रेष्ठले बताए । उनले भने, ‘आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिइनेछ । ’

निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको छ । उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ । ती पुल ८० मिसम्म अग्लो हुने अनुमान गरिएको छ ।

सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ । दायाँबायाँ ५० मि दिएर जग्गा अधिग्रहण गरिएको २७ मि चौडाइ हुने उक्त राजमार्ग चार लेनको हुने उक्त राजमार्गको निर्माणले नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्नेछ । निजगढमा बन्ने अन्तरराष्ट्रिय विमानस्थलले सो सडकको महत्वलाई अझ उजागर गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL