Logo

व्यापारिक अवरोध हटाई दक्षिण एसियालाई लगानीमैत्री बनाउन अर्थमन्त्री डा.महतको आग्रह

व्यापारिक अवरोध हटाई दक्षिण एसियालाई लगानीमैत्री बनाउन अर्थमन्त्री डा.महतको आग्रह


रामराजा श्रेष्ठ
54
Shares

अर्थमन्त्री डा. रामशरण महतले दक्षिण एसिया क्षेत्रको उन्नतिका लागि सबैभन्दा पहिला व्यापारिक अवरोधहरु हटाई लागत न्युनिकरण गरी विश्व बजारमा प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । नयाँ दिल्लीमा आयोजित दक्षिण एसिया आर्थिक सम्मेलनमा विशिष्ट बक्ताको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हाल यस क्षेत्रभित्रै व्यापार गर्नुभन्दा तेस्रो मुलुकसँग व्यापार गर्नु सस्तो पर्न जान्छ,’ संबोधनमा उनले भने, ‘भारत र पाकिस्तानले मात्र यस क्षेत्रको ९० प्रतिशत व्यापार हिस्सा ओगट्छन तर उनीहरुबीच हुने व्यापारको लागत भने चीनसँग वा अमेरिकासँगको भन्दा दोब्बर रहेको छ ।’ साथै, नेपाल दक्षिण एसियाकै एक मुलुक भएपनि श्रीलंका र नेपालबीच व्यापार गर्नुभन्दा ब्राजिलसँग व्यापार गर्नु सस्तो पर्ने उनको तर्क थियो । बढी लागत पर्नुको मुख्य कारण नै व्यापारिक अवरोध र यस क्षेत्रका मुलुकहरुबीचको आपसी सम्वन्ध सहज नहुनु नै भएको उनको दावी थियो

दक्षिण एसियाली मुलुकहरुमा एकबाट अर्कोमा सामान पठाउँदा धेरै चेकजाँचहरु हुने गरेकोले पनि व्यापारको लागत बढेको उनले बताए । आगामी दिनमा एकआपसमा छलफल गरी यस्ता अवरोधहरुलाई हटाउनुपर्ने बताए । दक्षिण एसियाली मुलुकहरुले स्वास्थ्य, शिक्षा, उर्जा, पारवहन, पर्यटन जस्ता क्षेत्रको विकास गरी आर्थिक बृद्धि हासिल गर्न सक्ने उनको भनाई थियो । ‘हामीले बिगतमा धेरै प्रतिवद्धता व्यक्त गरिसकेका छौं । त्यसैले फेरि नयाँ प्रतिवद्धता थप्दै जानुभन्दा गृहकार्य भैसकेका क्षेत्रलाई आपसी सहमति कायम गरी कार्यान्वयन गर्नुपर्ने खाँचो छ,’ उनले भने ।

डा. महतका अनुसार लगानीका दृष्टिले दक्षिण एसियाली देशहरु विश्वका १८९ मुलुकमध्ये ९९ देखि १८३ औं स्थानमा रहेका छन । ‘अगामी दिनमा लगानीमैत्री र व्यापारमैत्री वातावरण सिर्जना गरी यस क्षेत्रमा उत्पादन तथा प्रशोधन उद्योगहरुको विकास गर्नुपर्छ,’ उनले भने । व्यापारलाई सहजीकरण गर्नका लागि दक्षिण यसियाली क्षेत्रका बिद्यमान पारबहन तथा व्यापारका पूर्वाधार तथा कोरिडरहरुलाई स्तरोन्नति गरिनुका साथै अन्तरदेशीय विशेष आर्थिक क्षेत्रहरुको स्थापना गर्नुपर्ने बताए ।

प्रत्यक्ष विदेशी लगानीका लागि दक्षिण एसियाली देशले कुल लगानीको ४ प्रतिशत हिस्सा मात्र आकर्षित गर्न सकेको उल्लेख गर्दै नेपालले आगामी दिनमा नेपालमा मात्र नभई देशबाहिर पनि लगानीको ढोका खोल्न लागेको जानकारी दिए । एक देश र अर्को देशबीच कनेक्टिभिटी गराई आधुनिक शहरीकरण र अन्तरदेशीय सडक सञ्जालको विकास गरी फाइदा लिनु पर्ने उनको तर्क थियो । दक्षिण एसियाको एकीकृत विकासको लागि उर्जाको निर्णायक भएको भन्दै नेपाल र भारतबीच हालै सम्पन्न बिद्युत व्यापार सम्झौताले यसलाई थप सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL