Logo

वीरगञ्ज सुक्खा बन्दरगाहमा अब अनलाईनबाटै राजस्व भुक्तानी, पुस एकदेखि संचालनमा ल्याईँदै

वीरगञ्ज सुक्खा बन्दरगाहमा अब अनलाईनबाटै राजस्व भुक्तानी, पुस एकदेखि संचालनमा ल्याईँदै



काठमाडौं । वीरगंज भन्सार कार्यालयमा अबदेखि अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने भएको छ । सरकारले आगामी पुस १ गतेदेखि वीरगंज सुक्खा बन्दरगाहमा अनलाईनबाटै राजस्व तिर्न सकिने व्यवस्था गरेको हो ।

व्यापारका हिसावले नेपालका सबैभन्दा ठुलो व्यापारिक केन्द्र मानिने विरगंज सुक्खा बन्दरगाहमा सामान निकासी पैठारी गर्ने व्यवसायीहरुले अब अनलाईनबाटै राजस्व भुक्तानी गर्न सक्ने भएका हुन् । भन्सार प्रणालीलाई पुर्ण डिजिटलाईज गर्नेगरी थालिएको फेसलेस, क्यासलेस र पेपरलेस अवधारणालाई जोड दिन यो सुविधा संचालन गर्न लागिएको हो ।

प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सुक्खा बन्दरगाहमा सबै तयारी पुरा भईसकेकाले यसको सार्वजनि मात्रै बाँकी रहको थियो । पुस १ पछि भने यो सार्वजनिक भएर संचालनमा आउनेछ । ‘व्यवसायीहरुलाई हालसम्म बैंकदेखि बैंकसम्म पैसा ट्रान्सफर गर्न वा बुझाउन समेत ठिकै थियो,’ उनले भने, ‘तर, अब तिरिएको राजस्व राजश्व व्यवस्थापन सूचना प्रणाली (रिम्स)मा गएर जम्मा हुनेछ ।’

यस्तै यसले व्यवसायीलाई पैसा (क्यास) बोकेर हिँड्नुपर्ने बाध्यताबाट झन्झटमुक्त बनाएकोसमेत उनले बताए । ‘पछिल्लो समय व्यवसायीहरुलाई पैसा बोक्न धेरै समस्या भएको छ,’ उनले भने, ‘अनलाईन पेमेन्टले पैसा बोक्ने झन्झटसँगै सरकारको ट्रेजरीमा पैसासमेत तत्काल जम्मा हुनेछ ।’

यो सेवाको सुचारु भएपछि सरकारको हिसाव हेर्ने महालेखा नियन्त्रकको कार्यालय, भन्सार विभाग, कर कार्यालय, बैंकलगायत सम्बन्धित निकायहरु एउटै पेमेन्ट गेटवेमा जोडिनेछन् । यस्तो भएको खण्डमा राजस्वको हिसाव समेत सरलीकृत हुने उनको भनाई छ । यता पेपरलेसको अवधारणमा भने केही हदसम्म सुधार भएको उनले बताए । हाल भन्सारबाट हुने कागजी कामहरु प्राय घटेको बताउँदै उनले अझै यो प्रक्रिया सुधारमा रहेको जानकारी दिए । ‘हामी विभिन्न प्रकारका कागजातहरु हाल अनलाईनबाटै बुझेर प्रमाणीत पनि गर्छाैं,’ उनले भने, ‘अब सेवा पेपरलेस नै नभएपनि लेस पेपर भने भएको छ ।’

एकिकृत जाँच चौकीमा माघ १ देखि

सुक्खा बन्दरगाहमा पुस १ गतेदेखि संचालनमा ल्याउन लागिएको यो सेवा एकिकृत जाँच चौकी (आइसीपी)मा भने माघ १ देखि संचालनमा आउने भएको छ । भन्सार जाँचपासका लागि सबै प्रकारका र निकायका सेवाहरु एकैस्थानबाट हुने उक्त स्थानमा सबै तयारी पुरा भईसकेपनि अनलाईन पेमेन्टका लागि भने माघ १ गतेलाई मिति तोकिएको छ । ‘हामीले यसका लागि सबै तयारी पुरा गरिसकेका छौं,’ प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भने, ‘अब यसको सार्वजनिकीकरण मात्रै बाँकी छ ।’ यदि आईसीपीमा पनि अनलाईन पेमेन्टको सेवा सुचारु भएको अवस्थामा व्यवसायीहरुले थप सुविधा पाउनेछन् ।

चालु आर्थिक बर्षको ४ महिना अर्थात साउनदेखि कार्तीक मसान्तसम्म वीरगंज भन्सार कार्यालयले लक्ष्यको १०८ प्रतिशत राजश्व उठाएको छ । कार्यालयका अनुसार यस अवधिमा ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ बराबरको लक्ष्य लिईएकोमा ७० अर्ब १२ करोड १४ लाख रुपैयाँ राजश्व उठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL