Logo

वर्षा रोकिएसँगै खाल्डाखुल्डी टाल्ने काम तीव्र, राजमार्गका खाल्डा केहि दिनमै पुर्ने

वर्षा रोकिएसँगै खाल्डाखुल्डी टाल्ने काम तीव्र, राजमार्गका खाल्डा केहि दिनमै पुर्ने



काठमाडौं । दसैँ नजिकिँदै गर्दा सडक विभागले देशभरका सडकमा रहेका खाल्डा टाल्ने कामलाई तीव्रता दिएको छ । दसैँ नजिकिएको र पानी पर्न रोकिएकाले विभागले दुई दिनयता खाल्डा टाल्न थालेको हो । अबको केही दिनभित्रै प्रमुख राजमार्गमा खाल्डा पूरै हटाइने गरी काम भइरहेको विभागले जनाएको छ ।

खाल्डाको समस्या भएका सडकमा टाल्ने काम सुरु भइसकेको र केही ठाउँमा एक दुई दिनमै काम हुने विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए । उनले भने, ‘अहिले मुग्लिन आसपासका क्षेत्रमा खाल्डा देखिए पनि छिट्टै हट्नेछ ।’

साना खाल्डा भएका ठाउँमा सम्बन्धित डिभिजन कार्यालयका कर्मचारीले नै खाल्डा टालिरहेको र बढी समस्या भएका ठाउँमा मात्रै ठेक्कामार्फत गर्नुपर्ने उपमहानिर्देशक अधिकारीले बताए। उनका अनुसार निर्माणाधीन सडकमा समस्या हुँदा त्यसको समाधान निर्माण कम्पनी आफैँले गर्दछन् ।

कालोपत्र सडकमा पानीले असर पुर्याउने हुँदा वर्षाको समयमा सडकमा खाल्डाखाल्डीको समस्या बढी पाइन्छ । वर्षभर अरु महिनामा खाल्डा पर्नासाथ मर्मतको काम भए पनि वर्षा बढी हुने महिनामा त्यो हुन सक्दैन । गत वर्ष भदौदेखि नै वर्षा कम हुने भएकाले त्यतिबेला नै मर्मत सुरु हुने गरेको थियो । यो वर्ष वर्षा भर्खरै मात्रै रोकिन थालेकाले मर्मतको काम ढिला सुरु भएको प्रमुख अधिकारीले बताए।

उनले भने, ‘यसअघि हामीले अति समस्या भएका केही ठाउँमा मात्रै मर्मत गरिएकोमा अहिले सबै ठाउँमा एकै पटक काम सुरु भएको छ ।’ विभिन्न जिल्लामा रहेको डिजिभन सडक कार्यालयको मुख्य काम नै आफ्नो क्षत्रेमा रहेका सडकमर्मत गरेर राम्रो अवस्थामा राख्नु हो । सम्बन्धित डिभिजन कार्यालयले आफूसँग भएको जनशक्ति र उपकरणमार्फत खाल्डाखाल्डी टाल्दै आएका छन् । सडक विभागले सङ्घीय सडक र पुलमा निर्माण र मर्मत गर्दे आएको छ ।

दसैँमा धेरै नागरिक काठमाडौँलगायत सहरी क्षेत्रबाट घर जाने हुँदा सडकमा चाप बढ्ने गर्छ । यो समयमा सडकको अवस्थाका बारेमा सबैले बढी चासो दिने गरेका छन् । सडक विभागले सडकको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिरहेको छ । प्रमुख राष्ट्रिय राजमार्गमा पुग्दा समस्या नपाइएको प्रमुख अधिकारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
MBL