Logo

आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न आग्रह, यी शर्तहरु लागु गर्नुपर्ने

आवास अनुदानको किस्ता कार्तिक मसान्तसम्म लिइसक्न आग्रह, यी शर्तहरु लागु गर्नुपर्ने



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो ।

अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्ने बताईएको छ । लाभग्राही प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नुपर्नेछ । त्यसपछि, प्राधिकरणको जिल्ला इकाईले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ ।

त्यसैगरी, बैठकले निर्माण भइसकेका निजी आवासहरु निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ ।

यस्ता घरहरुका लागि लाभग्राहीले अनुदानको किस्ता लिई सकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ । अनुदान लिएर घरमा आवश्यक सुधार कार्य गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कार्वाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ ।

त्यस्तै, कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कार्तिक मसान्तसम्म अनुदानका किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ ।

यसअघि, २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कार्तिक मसान्तसम्मलाई निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो । उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली उक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।

बिहीबारसम्म ८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएका छन् जसमध्ये ९५।३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६७० (९९ दशमलव ७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३२८ (८८ दशमलव ८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २३३ (८१ दशमलव २६ प्रतिशत) पुगेका छन् ।

त्यस्तै, अनुदान सम्झौता गरेकामध्ये ७४ दशमलव ६८ प्रतिशत अर्थात् ६ लाख ११ हजार २ सय ४१ घरधुरीले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेका छन् भने हाल पुनर्निर्माण गरिरहेका लाभग्राहीको संख्या १ लाख ४६ हजार १ सय ५३ छ जुन अनुदान सम्झौता गरेकामध्ये १७ दशमलव ८६ प्रतिशत हो । घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५७ हजार ३ सय ९४ पुगेको छ जुन अनुदान सम्झौता गरेकामध्ये ९२ दशमलव ५३ प्रतिशत हो ।

प्रवलीकरण लाभग्राहीहरुमध्ये कैयौं पुनर्निर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राहीको संख्या ५३ हजार ९ सय ५८ कायम भएको छ जसमध्ये ८४ दशमलव ९१ प्रतिशत अर्थात् ४५ हजार ८ सय १४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७ सय ८१ अर्थात् ९९ दशमलव ९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL