Logo

तिब्बतमा विस्तार भयो विद्युतीय रेल सेवा, ल्हासा–निङ्ची विद्युतीय रेल्वे सेवा शुरु

तिब्बतमा विस्तार भयो विद्युतीय रेल सेवा, ल्हासा–निङ्ची विद्युतीय रेल्वे सेवा शुरु



काठमाडौं । चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेल्वे सेवा शुक्रबार शुरु भएको छ ।
चिनियाँ स्टेट रेल्वे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४ सय ३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १ सय ६० प्रति किलोमिटर गतिमा गुड्न सक्ने व्यवस्था मिलाइएको छ ।

चिनियाँ मुख्य भूभागमा तिब्र गतिका बुलेट ट्रेन चलाईरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेलसेवा शुरु गरेको छ । अब चीनका सबैजसो क्षेत्रमा फुक्सिङको सेवा विस्तार भएको छ ।

दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ रेलसेवाले जनाएको छ । यस तिब्र गतिको रेल मार्फत ल्हासाबाट यात्रुहरु शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भने निङ्ची साढे ३ घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा ३ हजार मिटर माथि रहेको छ ।

यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरु भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्राक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो ।
ल्हासा–निङ्ची रेलमार्ग हाल निर्माणाधीन सिचुवान–तिब्बत रेलमार्गकै हिस्सा हो । यो रेलमार्गले ल्हासालाई छिमेकी सिचुवान प्रान्तको राजधानी चेङ्दुलाई जोड्ने छ । साथै दक्षिणपश्चिम युनान प्रान्त र तिब्बत जोड्ने प्रस्तावित रेलमार्ग पनि यी रेलमार्गमा आबद्ध हुनेछन् ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL