Logo

दैनिक साढे ४४ करोड पूँजीगत खर्च गर्ने क्षमता रहेको सरकारलाई ९ अर्बको भार, २२ दिनमा परिचालन होला २ खर्ब

दैनिक साढे ४४ करोड पूँजीगत खर्च गर्ने क्षमता रहेको सरकारलाई ९ अर्बको भार, २२ दिनमा परिचालन होला २ खर्ब



काठमाडौं । पूँजीगत खर्च परिचालनमा चुक्दै आएको सरकारलाई चालू आर्थिक वर्ष २०७७/०७८ पनि सोही समस्या दोहोरिने भएको छ । चालू खर्चतर्फको शतप्रतिशत रकम परिचालन भएपनि सरकारले बजेटमार्फत पूर्वाधार निर्माणमा विनियोजना गरेको रकम परिचालन भने एकदमै न्यून हुँदै आएको छ ।

यस अघि सामान्य अवस्थामा समेत पूँजीगत खर्च परिचालन गर्न नसकेको सरकारलाई अहिले कोरोना पछिको लकडाउनका कारण अझै बढी कठिन हुने भएको छ । चालू आर्थिक वर्ष सकिन २२ दिनमात्रै बाँकी रहँदा सरकारले कुल पूँजीगत खर्चको ४३.३३ प्रतिशत रकम मात्रै परिचालन गर्न सफल भएको हो ।

सरकारले चालू आबका लागि कुल ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पूँजीगत खर्च विनियोजन गरेको थियो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले हालसम्म आईपुग्दा १ खर्ब ५२ अर्ब ९२ करोड रुपैयाँ मात्रै परिचालन गरेको छ ।

दैनिक खर्च गर्ने क्षमतामा तुलना गर्दा सरकारले चालू आबको ३ सय ४३ दिनमा कुल १ खर्ब ५२ अर्ब रुपैयाँ खर्च गरेको छ । जुन दैनिक खर्च परिचालन क्षमता ४४ करोड ५८ लाख रुपैयाँ मात्रै हुन आउँछन् ।

चालू आब सकिन २२ दिन मात्रै बाँकी रहँदा सरकार माथि थप १ खर्ब ९९ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत खर्च परिचालन गर्नुपर्ने दायित्व छ । जसअनुसार उक्त रकम परिचालन गर्न अबका दिनमा सरकारले दैनिक ९ अर्ब ९ करोड रुपैयाँ पूँजीगत खर्च परिचालन गर्नुपर्ने हुन्छ । तर ३ सय ४३ दिनमा कुल पूँजीगत खर्चको ४३ प्रतिशत रकममात्रै परिचालन गरेको सरकारले अबको २२ दिनमा करिव ५३ प्रतिशत पूँजीगत खर्च परिचालन गर्न नसक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसअघिका वर्षहरुमा असारको अन्तिम समयमा आएर मात्रै सबैभन्दा बढी पूँजीगत खर्च परिचालन हुँदै आएको थियो । तर, अहिलेको अवस्थासम्म आईपुग्दा पूँजीगत खर्च परिचालन अनुपात एकदमै न्यून रहेकाले यो वर्ष सरकारको पूँजीगत खर्च परिचालन अघिल्ला वर्षको तुनामा न्यून रहने समेत सम्बद्ध सरोकारवालाहरुको भनाई रहेको छ ।

सरकारको हालसम्मको बजेट परिचालनको अवस्थालाई हेर्दा समग्रमा ६४ प्रतिशत रकम परिचालन भएको छ । जसमध्ये चालूतर्फ सबैभन्दा बढी ७५.६५ प्रतिशत, पूँजीगतमा ४३.३३ प्रतिशत र वित्तीयतर्फ ४२.७१ प्रतिशत रकम परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL