Logo

हिमालय एयरलाईन्स अन्तरराष्ट्रिय उडान बढाउँदै, निगम घटाउँदै

हिमालय एयरलाईन्स अन्तरराष्ट्रिय उडान बढाउँदै, निगम घटाउँदै



काठमाडौं । हिमालय एयरलाईन्सले अन्तरराष्ट्रिय उडान बढाउँदै लैजाने भएको छ भने नेपाल बायु सेवा निगमले भने घटाउने भएको छ ।

अक्टुबर २७ बाट चीनको बेइजिङ सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा उडान भर्नको लागि सम्पूर्ण तयारी भएको कम्पनीले जानकारी दिएको छ ।

हप्तामा ३ दिन उडान गर्ने गरी तयारी गरेको कम्पनीका उपाध्यक्ष बिजय श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान गर्नेछ ।

विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । बेइजिङ अन्तरराष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् ।

त्यस्तै कम्पनीले बेइजिङसँगै छिन्दु, गुयाङ, चाङ्सा र नाङचिङमा समेत उडान भर्ने तयारी गरेको छ । भ्रमण बर्ष लक्षित उडान गर्न लागेको कम्पनीले धेरै भन्दा धेरै चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यले सो उडान गर्न लागेको श्रेष्ठले बताए ।

निगमको ओसाका उडान बन्द गर्ने तयारी

हिमालय एयरले अन्तरराष्ट्रिय उडान थप गरिरहेका बेला नेपाल बायुसेवा निगमले भने उडान घटाउने भएको छ ।

केही समय अगाडी मात्रै जापानको ओसाकामा उडान सुरु गरेका निगमले यात्रु अभावका कारण उडान बन्द गर्ने भएको छ । निगमका प्रवक्ता गणेश बहादुर चन्दका अनुसार तत्काल बन्द नभए केही समय पछि बन्द हुन सक्ने बताएका छन । उनले भने, ‘यात्रु नभए पछि संचालन खर्च उठाउन सकिँदैन यस्तो अवस्थामा कसरी संचालन गर्न सकिन्छ र ?’

तर निगमले ओसाका उडान बन्द गरे पनि नारिता विमानस्थलमा भने जनवरीबाट उडान गर्ने तयारी थालेको छ । निगमले जनवरीबाट नारिता विमानस्थलमा उडान गर्ने बताए पनि हाल सम्म स्लट भने पाउन नसकेको चन्दले बताए ।

उनका अनुसार ग्राउण्ड ह्याण्डलिङ, फ्युल, स्लटलगायतका विषयमा अझै स्पष्ट भएको छैन । हामीले सबै कागजपत्र पठाईसकेका छौं तर जवाफ आएको छैन । त्यसोत जापानको ओसाकामा काम गर्ने (प्रतिनिधि) सन्तोष पाण्डे भिसाकै कारण हाल सम्म जान सकेको छैन ।

उनले भने, ‘जापानको सिभिल एभिएसनले मागेको डकुमेन्टहरु बुझाएका छौं तर अनुमति भने पाईसकेका छैनौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL