Logo

निगमको जहाजले तोकिएकै समयमा जापान उडान गर्ने, टिकट बिक्री भने शुन्य

निगमको जहाजले तोकिएकै समयमा जापान उडान गर्ने, टिकट बिक्री भने शुन्य



काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ गतेबाट जापान उडान गर्ने निश्चित भए पनि टिकट भने न्युनमात्रै बिक्री भएको जनाएको छ । निगमका एक उच्च श्रोतका अनुसार टिकट बिक्री भने सन्तोष जनक नरहेको पाईएको हो ।

एक पटक काठमाडौं–जापान उडान गर्दा कम्तिमा पनि ५० देखी ६० लाख रुपैयाँ खर्च हुन्छ । तर निगमले टिकट बिक्री गर्न नसक्दा निगमलाई थप ऋणको भार बढ्ने देखिन्छ । श्रोतले भन्यो, ‘हामीले जुन हिसावबाट अघि बढ्यौं त्यो हिसावमा टिकट बिक्री गर्न सकेको छैनौं ।’

तर निगमका सहप्रवक्ता सुलेख मिश्रले भने टिकट बिक्री सन्तोष जनक रहेको बताएका छन । उनले भने, ‘अहिले करिब ८० भन्दा माथी टिकट बिक्री भईरहेको छ ।’

‘१२/१५ ओटा भन्दा टिकट गएको छैन, अव जापान जाने प्रतिनिधि, राजनीतिज्ञलगायत सबै जोडने हो भने त्यो भन्दा बढी पनि होला ।’ श्रोतले भन्यो, ‘अहिले जापान उडान हुन्छ की हुँदैन भनेर मानिसमा एक किसिमको त्रास छ । त्यसलाई चिर्नकै लागि पनि निगमले जापान उडान गर्नु पर्छ, तर पछिल्लो घटना क्रमले गर्दा टिकट बिक्री भने खासै छैन ।’

तर निगमले भने जसरी भए पनि तोकेकै समयमा जापानमा आफ्नो उडान भर्ने तयारी गरेको छ । वाईडबडी ल्याएको करिब १४ महिनापछि जापानको ओशाकामा उडान गर्ने निश्चित भएको छ ।

निगमको जहाजले जापान उडान भरे पछि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २२ अर्ब रुपैयाँ तिर्न सक्ने अपेक्षा लिएको छ । अहिले निगमले लामो दुरीमा जहाज उडान भर्न नसक्दा ऋणको किस्ता समेत बुझाउन सकेको छैन ।

निगमले हप्तामा ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका बनाएको छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओशाका पुग्नेछ र ओशाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन बेलुका ६ बजे काठमाडौं आइपुग्नेछ ।

निगमले अहिले १ महिनाका लागि एकतर्फी भाडादर भने ३६ हजार ९ सय ९९ र दुईतर्फी भाडादर भने ७२ हजार ८ सय १४ रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL