Logo

बार्षिक १ लाख टन मात्र चिनी आयात, उखु किसानलाई अनुदान

बार्षिक १ लाख टन मात्र चिनी आयात, उखु किसानलाई अनुदान



काठमाडौं । सरकारले चालू आर्थिक बर्षका लागि चिनी आयातको कोटा निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले चालू आबमा कुल १ लाख टन मात्र चिनी आयात गर्न पाउने गरी कोटा निर्धारण गरेको हो ।

यस अघि सरकारले चिनी आयातलाई निरुत्साहित गर्दै मौजुदा भन्सार दरलाई दोब्बरले बृद्धि गर्दै ३० प्रतिशत पुर्याएको थियो । भन्सार दर बढाउँदा चिनी आयात नरोकिएपछि आज बसेको मन्त्रिपरिषद्को बैंठकले चिनी आयातमै कोटा निर्धारण गरेको हो ।

नेपालमा उत्पादित चिनी बिक्री नभएर उखु किसान कर्मामा परेपछि सरकारले चिनी आयातमै कोटा निर्धारण गरेको हो । करिब नेपाललाई आवश्यक पर्ने चिनी नेपालमै उत्पादन हुने भएपनि भारतबाट सस्तोमा चिनी आयात हुँदा नेपाली चिनी उद्योग तथा कृषकहरु मर्कामा परेका थिए ।

यसैगरी बैंठकले उखु किसानलाई अनुदान दिने निर्णय समेत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैंठकले उखु किसानलाई प्रति क्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL