Logo

युएई जानका लागि पुलिस रिपोर्ट अनिवार्य, कामदारको लागत बढ्ने

युएई जानका लागि पुलिस रिपोर्ट अनिवार्य, कामदारको लागत बढ्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्ना देशमा आउने कामदारका लागि असल आचरणको प्रमाणपत्र (पुलिस रिपोर्ट) अनिवार्य गरेको छ । युएई सरकारको उच्च स्तरीय समितिले उक्त निर्णय गरेको हो ।

सो निर्णयलाई युएई सरकारले सोमबार मात्र पारित गरेको युएई स्थित अनलाई खालिजीटाइम्सले उल्लेख गरेको छ । उक्त निर्णय सन् २०१८ फेब्रुअरीदेखि नै कार्यान्वयनमा आउने छ ।

सो निर्णय कार्यान्वयनमा आएसँगै युएईको रोजगारीमा जान चाहने कामदारले भिसाको लागि आवेदन गर्दा नै असल आचरको प्रमाणपत्र (पुलिस रिपोर्ट) पेश गर्नुपर्ने हुन्छ । जस अन्तरगत रोजगारीमा जान चाहने कामदारले आफ्नो देश वा अन्य देशमा भएमा सम्बन्धित देशबाट विगत ५ बर्षसम्म कुनै पनि अपचारधिक क्रियाकलाप संग्लन नभएको असर आचरणको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

आफ्नो देशलाई विश्वकै सुरक्षित देशको रुपमा अघि बढाउनका लागि उक्त कदम चालिएको युएईले जानकारी दिएको छ । उक्त प्रमाणपत्र रोजगारीमा जान चाहने कामदारका लागि अनिवार्य गरिएपनि उसको डिपेन्डेन्टमा जान चाहने व्यक्तिलाई भने आवश्यक पर्नेछैन । यसैगरी भिजिट भिसा र टुरिष्ट भिसामा जान चाहने व्यक्तिलाई पनि त्यस्तो प्रमाणपत्र नचाहिने उल्लेख गरेको छ ।

यस अघि गल्फ कोअपरेश काउन्सिल (जीसीसी) अन्तरगतको साउदी अरेबिया र कुवेतले पनि आफ्नो देशमा आउन चाहने व्यक्तिका लागि असल आचरणको प्रमाणपत्र अनिवार्य गरेको थियो ।

युएई सरकारको नयाँ व्यवस्थासँगै रोजगारीमा जान चाहने कामदारका लागि थप आर्थिक भार पर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । ‘पुलिस रिपोर्ट बनाउनका लागि एक जना कामदार कम्तीमा ४ दिन काठमाडौं बस्नुपर्छ,’ उनले भने, ‘आउने जाने खर्च र काठमाडौं बस्दा उसको १० हजार रुपैयाँ छुट्टै खर्च हुनेछ ।’

नेपाल प्रहरीले कामदारलाई आवेदन दिएको ३ दिनमा पुलिस रिपोर्ट उपलब्ध गराउदै आएको छ । उक्त रिपोर्ट लिन सम्बन्धित कामदार नै जानुपर्छ भने परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर विभागबाट पनि सम्बन्धित कामदार नै गएर प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ ।

तर, अबका दिनमा रोजगारीमा जाने कामदारलाई सहजिकरण गर्नका लागि रिपर्ट संकलन तथा प्रमाणिकरणको लागि लैजाने जिम्मा सम्बन्धित म्यानपावर व्यवसायीलाई नै दिनुपर्ने गुरुङ बताउँछन् । यदि त्यसो भएमा कामदार काठमाडौंमा बस्न नपर्ने र जसले गर्दा उनीहरुको खर्च कम हुने उनको भनाइ छ । हाल बार्षिक झण्डै ५० हजारको हाराहारीमा नेपाली कामदार युएईको रोजगारीमा गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL