Logo

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकालकै निरन्तरता : संस्थापकबाट भित्रिए क्याविनेट श्रेष्ठ, सेयरधनीलाई १६ प्रतिशत लाभांश

ग्लोबल आईएमई बैंकको अध्यक्षमा ढकालकै निरन्तरता : संस्थापकबाट भित्रिए क्याविनेट श्रेष्ठ, सेयरधनीलाई १६ प्रतिशत लाभांश



काठमाडौं । ग्लोबल आईएमई बैंकमा ६ जना नयाँ संचालक समिति चयन भएको छ । बैंकको आज भएको वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा ६ जना संचालक चयन गरेको हो ।

साधारणसभाले सर्वसम्मतिमा संस्थापकबाट चन्द्रप्रसाद ढकाल, रामबहादूर भण्डारी र क्याविनेट श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो । यसैगरी सर्वसाधारण सेयरधनीको तर्फबाट कृष्णप्रसाद शर्मा, दिपक शर्मा पोखरेल र सुदर्शन कृष्ण श्रेष्ठलाई चयन गरेको हो ।

नयाँ संचालक समिति चयन लगत्तै बसेको संचालक समितिको बैंठकले सर्वसम्मतिमा बैंकको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाललाई नै चयन गरेको छ ।

बैंकको अध्यक्षमा पुनः चयन भएका अध्यक्ष ढकालले आजै नेपाल राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनिएताको सपथ लिएका छन् । साथै सोही कार्यक्रममा नवनिर्वाचित सदस्यहरुले पनि पद तथा गोपनिएताको सपथ लिएका छन् ।

यसैगरी आज भएको साधारणसभाले सेयर धनीलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ । जस अनुसार सेयरधनीले १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश पाउनेछन् ।

बैंकको १४ औं वार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए ।

बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको ढकालले जानकारी दिए ।

साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले बैंकले सदाझै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाईरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL