Logo

रेमिट कम्पनीको चुक्ता पुँजी ५ गुणाले बढार्इँदै

रेमिट कम्पनीको चुक्ता पुँजी ५ गुणाले बढार्इँदै


रामराजा श्रेष्ठ
0
Shares

नेपाल राष्ट्र बैंकले रेमिट कम्पनीको चुक्ता पुँजी बृद्धिको गृहकार्य शुरु गरेको छ । हाल भएको पुँजी एकदमै न्युन भएको र जसले गर्दा भविश्यमा समस्या उत्पन्न हुने भन्दै पुँजी बृद्धिको गृहकार्य शुरु गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

हाल रेमिट कम्पनीलाई लोकल एजेण्ट लिनका लागि पुँजी बृद्धि गरेर ५ करोड रुपैयाँ पुर्याउन लागिएको नेपाल राष्ट्र बैंक विनिमय विभागका प्रमुख भिष्मराज ढुङ्गानाले बिजखबरलाई बताए । ‘रेमिट कम्पनीको पुँजी बृद्धि वारे छलफल भइरहेको छ,’ उनले भने, ‘प्रिन्सीपल एजेन्ट लिनका लागि भने १० करोड रुपैयाँ पुर्याउन लागिएको छ ।’ हालको व्यवस्था अनुसार लोकल एजेन्ट लिनका लागि १ करोड रुपैयाँ चाहिन्छ भने प्रिन्सीपल एजेन्ट लिनका लागि ५ करोड रुपैयाँ आवश्यक पर्छ ।

यता रेमिट कम्पनीहरु भने हालको चुक्ता पुँजीलाई उच्च रुपमा बृद्धि गुर्नपर्ने बताउँदै आएका छन् । अहिलेको अवस्थामा रेमिट कम्पनीको चुक्ता पुँजी न्युनतम १० करोड रुपैयाँदेखि २० करोड रुपैयाँ पुर्याउनुपर्ने नेपाल रेमिट एशोसियशनका महासचिव राजगोपाल राजभण्डारीले बताए । ‘नेपालमा रेमिट कम्पनीको नियमन तथा सो सम्बन्धी नीति नै बनेको छैन,’ उनले भने, ‘देशको कुल ग्राह्स्थ्य उत्पादनको झण्डै ३० प्रतिशत हिस्सा बरावरको रेमिट्यान्स भित्रिरहेको अवस्थामा यसलाई व्यवस्थित गर्नु जरुरी छ ।’

हालको पुँजी अनुसार रेमिट कम्पनी संचालन गर्दा व्यवसायमा गैर जिम्मेवारीपना आउने र समग्र व्यवसाय नै खतरामा पर्ने राजभण्डारी बताउँछन् । ‘व्यवसायलाई जिम्मेवार बनाउनका लागि पनि पुँजी बृद्धि आवश्यक छ,’ उनले भने, ‘यदि अहिलेकै पुँजीमा व्यवसाय संचालन गर्ने हो उद्देश्य अनुरुप अघि बढ्नेछैन ।’

साउदी अरब, कतारजस्ता मुलुकमा रेमिट कम्पनी खोल्नका लागि आफुले भित्र्याउने रकमको आधारमा चुक्ता पुँजी राख्नुपर्छ । कतारमै पनि चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढीको कारोवार गर्न पाइँदैन । तर, नेपालमा १ करोड पुँजी भएका कम्पनीले अर्बौ रुपैयाँको करोवार गर्दै आएका छन् । हाल नेपालमा ४९ वटा कम्पनीले रेमिट्यान्सको कारोवार गर्दै आएका छन् । उनीहरुले वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्र्याइरहेका छन् ।

रेमिट कम्पनी खोल्नका लागि चुक्ता पुँजीको व्यवस्था कम भएकै कारण कतिपय रेमिट कम्पनीहरुले हुण्डीजस्ता गैरकानुनी काम गर्दै आएका सम्बद्ध व्यवसायीहरुको आरोप छ । ‘अहिले मुस्किलले १५ देखि २० वटा कम्पनीले राम्रोसँग रेमिट्यान्स भित्र्याउने काम गरिरहेका छन्,’ एक रेमिट व्यवसायीले भने, ‘अन्यले रेमिट कम्पनीको नाममा हुण्डी लगायतका कारोवार गरिररहेका छन् । अन्य मुलुकमा रेमिट कम्पनीको शाखा विस्तारका लागि पुँजी बृद्धि जरुरी छ । तर, नेपालमा एक पटक एजेन्ट बनेपछि जतिपनि शाखा खोल्न पाइनछ ।

रेमिट्यान्सको पोष्ट पेमेण्ट (सम्बन्धित देशबाट पैसा आउनुभन्दा पहिला नै भुक्तानी दिने व्यवस्था) को व्यवस्था भएकाले पनि चुक्ता पुँजी जरुरी रहेको छ । नेपालका रेमिट कम्पनीले बैंकबाट रकम लिएर सम्बन्धित देशबाट पैसा आउनुभन्दा पहिले नै भुक्तानी दिँदै आएका छन् । यदि सम्बन्धित देशबाट पैसा आएन भने लोक दिने बैंक नै डुब्ने खतरा हुनेछ । रेमिट कम्पनीलाई व्यवस्थित गर्न तथा त्यस्ता सम्भावित जोखिमको व्यवस्थापनका लागि पुँजी बृद्धि अनिवार्य रहेको व्यवसायीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL