Logo

यो बर्षको दशैंमा मासुको खपत अनुमान गर्नै कठिन, कस्तो खसीको मासु खाने ?, यस्तो छ कामपाले तोकेको गुणस्तर

यो बर्षको दशैंमा मासुको खपत अनुमान गर्नै कठिन, कस्तो खसीको मासु खाने ?, यस्तो छ कामपाले तोकेको गुणस्तर



काठमाडौं । यो बर्षको दशैंमा काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको मागका अनुमान गर्न नसकिएको व्यवसायीहरु बताउँछन् । विश्वभर कोरोना भाईरसको महामारीका कारण कति मानिस बाहिर गए र हालसम्म कति मानिस काठमाडौंमै छन भन्ने एकिन नभएकाले यसको अनुमान गर्न नसकिएको व्यवसायीहरु बताउँछन् ।

काठमाडौं महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको गरेको निरीक्षणका क्रममा खसी, बोका, च्याङग्रालगायत व्यवसायीले उक्त कुरा बताएका हुन् । हरेक बर्षको दशैंमा कलंकी खसी बजारबाट मात्रै औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको थियो । महामारीले कति मानिस उपत्यका बाहिर गए? कति जान्छन्? दशैं कसरी मनाउँछन्? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न नसकिने व्यवसायीको भनाई छ ।

तर काठमाडौं चौपाया खरिद बिक्री प्रालिले यसपटक दशैमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि कामपाबाट ३ वटा टोली परिचालन हुने भएका छन् । दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाईने महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले बताए ।

डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गरिने भएको छ । माछा मासुजन्य खाद्यबस्तु तथा दूध र डेरीजन्य खाद्यबस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हुने बताईएको छ ।

दशैंमा प्रयोग हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद विक्री प्रालिक अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङमा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७ सय ५० रुपैयाँ पुगेको छ । स्थानीय प्रशासनले सुरुमा यसको मूल्य ६ सय रुपैयाँ तोकेको थियो । यो मूल्यमा बिक्री नभएपछि पछि बढाएर ७ सय ५० पुर्याइएको हो ।

खड्काका अनुसार काठमाडौंमा यदि ६० हजार खसी बोकाको माग भयो भने आयात माग पूरा गराउन सकिन्छ । ल्याउन सकिने अवस्था छ । तर, ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।

काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए । तीमध्ये १६ वटाले व्यापार छाडे । अहिले १६ स्टलबाट व्यापार भइरहेको छ । यी स्टलसँग व्यापार गर्ने बढीमा १ सय जना व्यापारी होलान् । लकडाउनले व्यापारीको संख्या घटायो । चौपाया खरिद बिक्री प्रालिका पदाधिकारीकाअनुसार, यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ । पछिल्लो समय सहरका केही ठाउँका मासु पसलले महिनामा १ हजारवटाभन्दा धेरै चौपायाको मासु बेच्न थालेका छन् । ती पसलले चौपाया सोझै खरिद गरेर ल्याउन थालेका छन् ।

काठमाडौं महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैका बेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ । स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने गरिन्छ । काठमाडौं ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि बिशेष निगरानी बढाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL