Logo

‘ललितपुर मल नेपालकै उत्कृष्ट सावित हुनेछ’

‘ललितपुर मल नेपालकै उत्कृष्ट सावित हुनेछ’


रामराजा श्रेष्ठ
0
Shares

मलमा पुराना मोवाइल एक्सचेञ्जदेखि मर्मतसम्मको सुविधा रहेको छ । यसलाई नेपालकै नमुना मोवाइल हवको रुपमा विकशित गर्नेछौं ।

कतिपय सपिङ मलमा सामानको मुल्य दोब्बरभन्दा बढी राखेर ग्राहक ठग्ने गरेको गुनासो सुन्दै आएका छौं । तर, यस मलमा मुल्यमा एकरुपता ल्याउनका लागि छुट्टै ‘प्राइस कन्ट्रोल मेकानिजम’ बनाएका छौं । जसले गर्दा उपभोक्ताहरु ठगिने छैनन् । मलमा पाइने सेवा सुविधा, मल संचालन विधि, भावी योजनाजस्ता विषयमा केन्द्रित रहेर ललितपुर सपिङ मलका अध्यक्ष नेपाल डंगोलसँग गरिएको कुराकानीको सार ः

ललितपुरमा पहिलो पटक ठूलो सपिङ मल संचालनमा ल्याउनु भएको छ यसका लागि बिजखबरको तर्फबाट बधाइ दिनु चाहन्छौं । अहिले पनि उपभोक्ताहरु सपिङ् गर्ने भन्ने वित्तिकै न्यूरोड तथा दरवारमार्ग सम्झन्छन् । तपाइले ललितपुरजस्तो ठाउँमा सपिङ मल संचालनमा ल्याउनु भएको छ । यसलाई कसरी व्यवसायीक रुपमा अघि बढाउँदै हुनुहुन्छ ?

धार्मिक तथा सास्कृतिक रुपमा लगनखेल पनि काठमाडौं उपत्यकाको एक महत्वपूर्ण स्थान हो । अहिले यो स्थान शैक्षिक हवको रुपमा विस्तार भएको छ । यातायातको पनि राम्रो सुविधा रहेको छ । सोही कारण नेपाल सरकारको कर्मचारी संचयकोषले पनि सपिङ मल बनाएको हो । जसलाई अहिले जिओ एग्रो प्रालिले भाडामा लिएर संचालन गरिरहेको छ । सम्पूर्ण रुपमा सुविधासम्पन्न स्थानमा भएकाले व्यवसायीक रुपमा अघि बढाउन कठिन हुनेछैन । साथै, सहज रुपमा संचालन गर्न थुप्रै व्यवसायीक योजनाहरु पनि बनाएका छौं ।

यस मलमा सपिङ गर्न आउने ग्राहकले के–कस्ता सामान पाउन सक्नेछन् ?

नुनदेखि सुनसम्म त भन्दैनौं तर, ब्राण्डेड लत्ता कपडा, मोवाइल, बच्चाका लागि खेलौनादेखि सम्पूर्ण खालका कपडा पाउनेछन् । हामीले मलको भुइ तलामा ब्राण्डेड कपडाहरु राखेका छौं । लेडिजका लागि पनि अनुभवी व्यक्तिहरुबाट बुटिक संचालनमा ल्याएका छौं । अन्तरराष्ट्रिय स्तरका कस्मेटिक सामानहरु पनि यस मलमा उपलब्ध छन् । यसैगरी, कफिसप, बेकरी, रेष्टुराँ, सेमिनार हल रहनेछन् । मलको एउटा तलालाई मोवाइल हवको रुपमा स्थापित गर्न लागेका छौं । जहाँ २० भन्दा बढी कम्पनीका मोवाइहरु रहेका छन् । खानाको पारखीका लागि मलमा ‘पिजा हर्लिक्स’ देखि विभिन्न खालका रेष्टुराँहरु संचालनमा ल्याएका छौं ।

nepal-dangol-lalitpur-mall

यस मलमा के–के रहनेछन् ?

यसमा ७ वटा तला रहेको छ । जसमध्ये ३ वटा तलालाई सपिङ मलको रुपमा स्थापित गरेका छौं । त्यसैगरी माथिको ३ तलालाई अफिसको लागि प्रयोग गर्ने छौं । हाल तेस्रो तलामा युनडीपीको अफिस रहेको छ । यस्तै, वाणिज्य बैंक रहनेछ । नेपालकै सवैभन्दा ठूलो ‘के ल्याव’ पनि यसै मलमा रहनेछ । यसैगरी, आखाँ क्लिनिक, डेण्टल हस्पिटल र राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका गैर सरकारी निकाय यस मलमा रहनेछन् । लगनखेल गैरसरकारी निकायको हवको रुपमा विस्तार भइरहेको छ तर यहाँ राम्रो खालको सेमिनार हल छैन । तसर्थ पाँचौ र छैठौं तलामा सेमिनार हल संचालनमा ल्याइने छ । यस मलको छतलाई भने रमणीय रेष्टुराँको रुपमा संचालनमा ल्याउनेछौं ।

मल विधिवत रुपमा संचालनमा आइसकेको छ । यसको कति प्रतिशत स्थान भाडामा गएको छ ?

हालसम्म ८० प्रति स्थान भाडामा गइसकेको छ । हामी अहिले डेण्जर जोनबाट बाहिर छौं । बैंशाखमा गएको महाभुकम्पले पनि यस भवनलाई कुनै असर पुर्याएन । सम्भवत यो नेपालकै वलियो भवनको रुपमा स्थापित भएको छ । जसका कारणले गर्दा युनडीपी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका गैरसरकारी निकायको अफिसहरु यस भवनमा छन् । अन्य २० प्रतिशत स्पेशको लागि पनि डिलिङ भइरहेको छ । आगामी केही हप्ताभित्रै सवै ठाउँ भाडामा जाने छ ।

भवनलाई बैशाखदेखि संचालनमा ल्याउने भनिएको थियो तर भुकम्पका कारण भदौ अन्तिममा आइपुग्यो । यसले कति नोक्सानी पुर्यायो ?

हामीले २०७१ पुस ९ गते कर्मचारी संचयकोषसँग भाडाको लागि सम्झौता गरेका थियौं । कोषले हामीलाई ३ महिनाको प्रोगेस टाइम दिएको थियो । जस अनुसार चैत देखि नै कोषलाई भाडा बुझाउँदै आएका छौं । हामीले कोषलाई मासिक ५५ लाख रुपैयाँ भाडा बुझाउनु पर्छ । समयमै संचालनमा आउन नसक्दा भाडामा भात्र ३ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । भुकम्पले भित्री संरचनाहरु विगार्दा त्यसको पुनर्निर्माणमा झण्डै १ करोड रुपैयाँ खर्च भएको छ । भुकम्पका कारण समयमै संचालनमा आउन नसक्दा कम्पनीले ४ करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । हामीले १५ वर्षका लागि भाडामा लिएका कारण त्यसले त्यति ठूलो असर पार्नेछैन ।

कर्मचारी संचयकोषले भाडामा लगाएको काठमाडौं मलमा समयमै भाडा नबुझाएका कारण विवादमा आएको थियो । यसमा पनि त्यस्तो समस्या नआउँला भन्न सकिन्छ ?

काठमाडौं मल र ललितपुर मलको संचालन गर्ने पद्दति फरक छ । हामीले कोषलाई प्रत्येक ३/३ महिनामा बुझाउनु पर्छ । तर, मैले मासिक रुपमै बुझाउँदै आएको छ । भाडाको हिसावले पनि हामी राम्रै अवस्थामा छौं । नेपालमै केही गर्नुपर्छ भन्ने जोस र जागरका साथ मल संचालन गरिरहेका छौं । नेपाल सरकारको ऐन कानुन अनुसार जसरी मल भाडामा लिएका छौं सोही अनुसार संचालन गर्ने योजना बनाएका छौं । तसर्थ अन्य सपिङ मलको जस्तो यसका समस्या देखापर्ने छैन ।

ग्राहकहरु मोवाइल किन्ने भन्ने वित्तिकै न्यूरोडलाई सम्झन्छन् । तर तपाइहरुले यस मलाई मोवाइल हवको रुपमा विकास गर्दै हुनुहुन्छ । के यो सम्भव छ ?

मोवाइल बजारको लागि न्यूरोड र ताम्राकार हाउस मोवाइल हवको रुपमा परिचित भइसकेको छ । पछिल्लो समय यस मललाई देशमै ठूलो मोवाइल हवको रुपमा स्थापित गर्ने लक्ष्य अनुरुप अघि बढेका छौं । यहाँ १५÷२० वर्ष पुराना मोवाइल व्यवसायीले ‘ललितपुर मोवाइल कम्प्लेक्स’को नाममा विधिवत रुपमा दर्ता गरेर मोवाइल पसल संचालनमा ल्याउनु भएको छ । मलको ४० भन्दा बढी कवलहरुमा मोवाइल पसल रहेका छन् । यहाँ २० भन्दा अन्तरराष्ट्रि ब्राण्डका मोवालइहरु पाइनेछ । मलले पुराना मोवाइल एक्सचेञ्जको सुविधा पनि दिएको छ । यसैगरी सेल्समात्र नभइ सर्भिसको पनि राम्रो व्यवस्था भएकाले केही समयभित्रै परिचित मोवाइल हवको रुपमा स्थापित हुनेछ ।

तपाइ एउटा सामाजिक कार्यकर्ता कसरी मल संचालन गर्न आइपुग्नु भयो ?

कुनै पनि व्यक्ति समय अनुसार चल्नु पर्छ । ललितपुरको केही भागमा सामाजिक कार्यकर्ता भएर काम गरे । अहिले पनि सैवु रोटरी क्लवको प्रशासकिय अध्यक्ष, जनकल्याण संघ र युथ प्लस नेपालको अध्यक्ष भएर काम गरिरहेको छु । यसैगरी, ललितपुरको खोकनामा भुकम्पले सम्पूर्ण संरचना ध्वस्त पारेपछि त्यसलाई पुनर्निमाण गर्ने योजना आयोग गठन गरिएको छ । त्यसको अध्यक्ष भएर काम गरिरहेको छु । सामाजिक कार्यको साथसाथै, व्यवसायीक रुपमा पनि अघि बढ्नका लागि ललितपुर मललाई ग्रुपमा संचालन गर्ने योजना बनाएका थियो । तर, अहिले म एक्लैले संचालन गरिरहेको छु । मल संचालनको लागि नेपाल सरकार, संचयकोष तथा स्थानीय निकायबाठ ठूलो सहयोग मिलेको छ ।

nepal dangol-lalitpur

अहिले कुन–कुन व्यवसायमा आवद्ध हुनुहुन्छ ?

विशेषगरी कृषिमा आवद्ध छु । चौधरी ग्रूपले उत्पादन गर्ने चाउचाउका लागि प्याज र छ्यापीको फ्लेवर प्रशोधन गरेर उपलब्ध गराउँदै आएको छु । खोकनामा गाइपालन व्यवसाय छ भने पछिल्लो समय सपिङ मल संचालन गर्दै आएको छु ।

सपिङ मलमा ट्रेड युनियनको प्रभाव बढ्दै गएको देखिन्छ । यस मलमा त्यसको असर कत्तिको पर्नेछ ?

कुनै पनि सपिङ मलमा संघसंगठनको आवश्यकता पर्दैन । समस्या हुदाँ व्यवस्थापन देखि व्यवसायीहरु सबै एक जुट भएर अघि बढ्नुपर्छ । मल व्यवस्थापनले व्यवसायीलाई एकै परिवारको सदस्याको रुपमा हेर्दै आएको छ । कुनै पनि व्यापारीलाई समस्या पर्दा त्यसको समाधान मल व्यवस्थापनले नै गर्ने छ । यसमा म आफै प्रत्यक्ष रुपमा सङ्लग्न भएर काम गरिरहेको छु । तसर्थ आगामी दिनमा पनि मलमा विभिन्न संघसंगठनको आवश्यकता पर्ने छैन र हुनेछैन भन्ने विश्वास लिएको छु ।

यस मलमा व्यवसायीहरु किन व्यवसाय गर्न आउने ? उनीहरुका लागि के–कस्ता सुविधा दिइएको छ ?

सर्वप्रथम यो भवन भुकम्प प्रतिरोधी छ । गत बैशाखमा गएको शक्तिशाली भुकम्पले पनि यसलाई प्रमाणित गरिसकेको छ । जसले गर्दा व्यवसायीले सुरक्षित रुपमा व्यवसाय गर्न पाउनेछन् । कुनै पनि व्यवसायीले आफ्नो व्यवसायको आफैले बजारीकरण गर्नुपर्छ तर मल आफैले त्यसको बजारीकरण गरिरहेको छ । मलमा ग्राहक आकर्षित गर्नको लागि विज्ञापन, पर्चा पम्प्लेटलगायतका प्रचारप्रचारको काम मल नै गर्दै आएको छ । अर्को तर्फ यो सरकारी भवन हो । यहाँ व्यवसायीलाई व्यक्तिगत घरमा जस्तो व्यवहार गरिँदैन । व्यवसायीहरु सुरक्षित रुपमा सरकारी नियम कानुन अनुसार चल्न सक्नेछन् । यस मलमा एकै छानामुनि सवै सामान पाउन सकिन्छ । जसले गर्दा ग्राहकहरु वढी आउनेछन् । मलमा ४० प्रतिशतभन्दा बढी खुला ठाउँ रहेको छ । व्यवसायीले सहजरुपमा व्यापार गर्ने वातावरण हुनेछ ।

वाहिरका सटर र यस मलमा कवल भाडामा कत्तिको फरक छ ?

केही समय अघि व्यापारीहरुले वाहिरको तुलनामा भाडा बढी भयो भन्ने गनुसो गर्नुभएको थियो । तर, मलको लोकेसन, सेवासुविधा, भुकम्प प्रतिरोधीजस्ता कारणले गर्दा व्यापारीहरु खुशी हुनुहुन्छ । मलमा सवै सामान एकै ठाउँमा पाइनेहुनाले बढी ग्राहक आउनुहुन्छ । जसका कारण वाहिरका सटरको तुलनामा मलको भाडादर सस्तो छ ।

मल संचालकको तर्फबाट यस मलका व्यापारी तथा सपिङ्का लागि आउने ग्राहकका लागि के भन्न चाहनुहुन्छ ?

भुकम्पबाट देश थिलथिलो भइरहेको अवस्थामा मल भुकम्प प्रतिरोधी छ । व्यक्तिगत घरमा पसल संचालन गर्दा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीले नै लिनुपर्छ । मलमा सामुहिक रुपमा पसल संचालन गरिएको हुँदा कुनै एक व्यापारीलाई समस्या पर्दा व्यवस्थापन देखि सिङ्गो परिवार नै समाधानमा लागि पर्छ । व्यवसायीलाई पसल संचालन गर्नका लागि मार्केटिङ गर्ने काम मलले नै गर्दै आएको छ जसले गर्दा सहज रुपमा व्यवसाय गर्न सक्नेछन् । यता उपभोक्ताले पनि सवै सामान एकै ठाउँमा पाउनेछन् । यसैगरी, कतिपय सपिङ मललमा सामानको मुल्य दोब्बरभन्दा बढी राखेर ग्राहक ठग्ने गरेको गुनासो सुन्दै आएका छौं । तर, यस मललमा मुल्यमा समानता ल्याउनका लागि छुट्टै ‘प्राइस कन्ट्रोल मेकानिजम’ बनाएका छौं । जसले गर्दा उपभोक्ताहरु ठगिने छैन र वास्तविक मुल्यमा सामान खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL