Logo

एफडीआईमा देखिएन कोरोना संक्रमणको त्रास, उद्योग विभाग शून्य देखिए पनि लगानी प्रतिबद्धतामा उत्साह

एफडीआईमा देखिएन कोरोना संक्रमणको त्रास, उद्योग विभाग शून्य देखिए पनि लगानी प्रतिबद्धतामा उत्साह



काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको कारोना भाईरस­ (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रलगायत नेपाली अर्थतन्त्रमा नराम्रो असर परेको छ ।

laxmi

भाईरस­को त्रासका कारण विभिन्न देशबाट नेपाल आउनेको संख्या तीव्र घटेको छ । नेपालले समेत अनअराईभल भिषामा निश्चित शर्त तोकेर प्रतिवन्धजस्तै गरेको छ ।

यसरी विदेशबाट नेपालमा आउनेहरुमा कमी आउँदा यसको असर नेपालको प्रत्यक्ष वैदेशिक लगानीमा परेको छ । पछिल्लो २ महिनादेखि नेपालले भिषा रोकिदिँदा वैदेशिक लगानीकर्ता आउने क्रम शून्यप्राय बनेको विभागका अधिकारीहरु बताउँछन ।

कोरोना भाईरसकै कारण मानिसहरुलाई एक देशबाट अर्काे देशमा जानका लागि पनि धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएपछि वैदेशिक लगानीकर्ता धेरै कम मात्रै विभागमा आउने गरेको विभागका निर्देशक प्रेम लुईँटेलले जानकारी दिए । उनका अनुसार अहिले लगानीकर्ताहरु आउने क्रम एकदमै पातलिएको छ ।

तर, विभागको तथ्याङ्कलाई हेर्ने हो भने पछिल्लो २ महिना अर्थात जनवरी १ देखि हालसम्म २ अर्ब १९ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जुन गत बर्षको तुलनामा केही बढी हो ।

कोरोना संक्रमण भएदेखिकै तथ्यांक हेर्दा पनि पछिल्लो २ महिनामा विभिन्न २४ ओटा उद्योगमार्फत उक्त लगानीको प्रतिवद्धता आएको हो । तर, उक्त लगानी पनि नेपालमै रहेका विदेशी कम्पनीका एजेन्टहरुले स्वीकृत गराएको विभागस्थित कानुन शाखा प्रमुख टंक महत बताउँछन ।

‘विदेशबाट मान्छे नै नआएपछि लगानी आउने कुरा त झनै भएन नि,’ उनले भने, ‘पछिल्लो समय तथ्याङ्कमा देखिएको लगानी पनि पुरानै पाईपलाईनमा भएको लगानी स्वीकृत गरिएको हो ।’ गत बर्ष यहि अवधिमा विभागले कुल १ अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो । विभिन्न ५१ उद्योगमार्फत आएको उक्त वैदेशिक लगानीमार्फत १ हजार २ सय ४६ जनाले रोजगारी पाएका थिए ।

समग्रमा वैदेशिक लगानीको अवस्था राम्रै भएपनि पछिल्लो २ महिनादेखि अघिल्ला महिनाको तुलनामा भने खस्केको विभागका प्रवत्ता विनोद खड्काले बताए । ‘वैदेशिक लगानी शून्य नै छ भन्न त मिल्दैन,’ उनले भने, ‘तर अघिल्ला महिनाको तुलनामा भने लगानीको फ्लोमा केही कमी भने आएकै हो ।’ विभागले कोरनो आउनु अघि प्रतिमहिना २ देखि ५ अर्बसम्मको लगानी स्वीकृत गर्ने गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL